काठमाडौ, भेनेजुयला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्तिले ल्याएको तरंग सेलाउन नपाउँदै राष्ट्रपति निकोलास मडुरोका छोरा निकोलास मडुरो गुयराले सोमबार प्रचण्डसँग भेट गरेका छन् । चार दिन नेपाल भ्रमणमा रहेका उनले सोमबार बिहान अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । गुयराले आइतबार नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका थिए। आइतबार नै काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनले नेकपाका नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए। सोमबार उनले नेकपाका सांसदहरु दिनानाथ शर्मा, नारदमुनी राना, रामवीर मानन्धर, राधा ज्ञवालीलगायतसँग पनि भेट गरेका छन्।
गत माघमा भेनेजुयलामा राष्ट्रपति मडुरोका विरुद्ध आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडोलाई अमेरिकाले समर्थन गरेपछि यो विषयले नेपालको राजनीतिलाई पनि तताएको थियो। भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै सत्तारुढ नेकपाले त्यसको विरोध गरेको थियो। अध्यक्ष दाहालले विज्ञप्ति जारी गरी अमेरिकाको निर्णयको आलोचना गरेका थिए। यो घटनाले अमेरिका र नेपालबीचको सम्बन्धमा चिसो देखिएको थियो।

















