काठमाडौं– ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको निवासमा हिजो दिउँसो सादा पोषाकका प्रहरी गएर सोधपुछ गरेको विषय सार्वजनिक भएको छ। फणीन्द्र नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाउनुभएको हो।
किन नेपाल प्रहरी बारम्बार फणीन्द्र नेपालको घरमा बिना पूर्वजानकारी प्रवेश गर्छ र उहाँलाई सोधपुछ तथा पटकपटक पक्राउ गर्छ ? नेपाल प्रहरीभित्र बाह्य शक्ति केन्द्रबाट प्रभावित कुनै प्रहरी अधिकारीले अरुको ईशारामा यस्तो काम त गरिरहेको छैन ? जनतामा आशंका उत्पन्न हुन थालेको छ।
उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ: मैले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयुक्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता गरेको विरुद्ध सर्वप्रथम मेरो फेसबुक पृष्ठमा लेखेको र त्यसपछि लगातार तीनवटा अनलाइन टिभीलाई अन्तर्वार्ता दिएको थिएँ। प्रेस विज्ञप्तिको पूरा अंशस्
मेरो निवासमा प्रहरी पसेको विरुद्ध प्रेस विज्ञप्ति
सोधपुछ गर्नु थियो भन्दै मेरो निवासमा फेरि सादा पोशाकका प्रहरी प्रवेश गरेका छन्। हिजो दिउँसो १:०० बजे म नभएको बेला सादा पोशाकका प्रहरी आएर म घरमा भए नभएको विषयमा सोधपुछ गरेछन्। मेरा छोराले भने अनुसार घरबाहिर दुई जना बसेर भित्र एकजना सादा पोशाकका प्रहरी मसँग सोधपुछ गर्नु छ भन्दै घरको आँगनमा पुगेका थिए। म त्यतिबेला कहाँ छु भन्ने जानकारी लिन खोज्दै निज प्रहरीले मेरो मोबाइल बन्द रहेछ, अर्को नम्बर भए पाऊँ भनेका रहेछन्।
यसरी सुरक्षा निकायका व्यक्ति पटकपटक मेरो घरआँगनमा प्रवेश गर्दा एकातिर मेरो परिवारमा आतङ्क फैलिएको छ भने अर्कातिर राज्यको यस किसिमको व्यवहारले शान्तिपूर्ण रूपमा बाँच्न पाउने मेरो अधिकारको हनन भएको छ। ती सादा पोशाकका प्रहरी मलाई तर्साउने उद्देश्यले आएका हुन् कि मलाई पक्राउ गर्न भनेर आएका हुन्, म भन्न सक्तिनँ तर यो प्रसङ्ग भारतीय जासुसी संस्था रअका प्रमुखको काठमाडौं आगमनको घटनाको विरोधमा मैले गरेको टिप्पणीसँग सम्बन्धित छ भन्ने मलाई लागेको छ। मैले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयुक्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता गरेको विरुद्ध सर्वप्रथम मेरो फेस बुक पृष्ठमा लेखेको र त्यसपछि लगातार तीनवटा अनलाइन टिभीलाई अन्तर्वार्ता दिएको थिएँ।
मेरो निवासमा प्रहरीको प्रवेश नेपालको कानुन र मानव अधिकारका आधारभूत मान्यता विपरीत भएको हुँदा म राज्यको यस किसिमको व्यवहारलाई ‘दुर्व्यवहार’ को संज्ञा दिन्छु र यसको घोर भर्त्सना गर्दछु। म मैले उठाउँदै आएको ग्रेटर नेपालको विषय र भारतीय विस्तारवादका विरुद्ध चट्टानजस्तै अडिग छु र म राज्यले दिन सक्ने कुनै पनि किसिमका दु:खबाट अलिकति पनि विचलित नहुने दृढता प्रकट गर्दछु।


















