काठमाडौ, सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सँग वार्ताको तयारी थालेको छ । वार्ता अघी बढाउनका लागि मन्त्रिपरिषद्को २०७५ भदौ ५ गतेको निर्णयानुसार सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । विप्लव नेकपा र सरकार पछिल्लो समय आमने सामनेको अवस्थामा पुगिरहेका बेला सरकारले औपचारिक रुपमा विप्लवसँग वार्ताको प्रयास थालेको हो । सरकारले हचुवाको भरमा विप्लवमाथि प्रतिबन्ध लगाएपछि भएका विभिन्न घटनामा विप्लव नेकपाका कैयौँ नेता कार्यकर्ताहरुको मृत्यु भइसकेको छ भने एक जना सुरक्षाकर्मी समेत मारिएका छन् । यस अवधिमा सयौँ विप्लव नेताकार्यकताहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । पछिल्लो समय सुरक्षानिकायले विप्लव नेकपा शक्तिशाली हुँदै गइरहेको विश्लेषण गरेसँगै सरकारले वार्ताका लागि तयारी सुरु गरेको हो ।


















