एजेन्सी / सरकारविरुद्ध चर्किएको नागरिक आन्दोलनमा हङकङका सरकारी कर्मचारी पनि सामेल हुने भएका छन् । एसिया टाइम्सको अनलाइन संस्करणमा सोमवार प्रकाशित समाचारमा जनाइएअनुसार नागरिकहरूको आन्दोलनमा समर्थन जनाउन सरकारी कर्मचारीले आउने शुक्रवार जुलुस प्रदर्शन गर्न लागेका छन् । ‘‘सबै कर्मचारी नागरिकसँगै जुलुसमा’’ भन्ने नारासहित सुरु हुने जुलुसको उद्देश्य समुदायको मागप्रति सरकारको ध्यानाकर्षण गर्नु रहेको कार्यक्रमका आयोजकमध्येका ङन मो चाउलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ । ङनले भनेका छन् – हामी सरकारी कर्मचारीसँगै हङकङवासी पनि त हौँ । पोसाक र परिचयपत्र फुकालेपछि हामी अरू नागरिक सरह नै हुन्छौँ । हामीलाई हाम्रो समाजको चासो छ र वर्तमान अवस्थाप्रति चिन्तित छौँ ।
हङकङमा पक्रेर चीनलाई बुझाउने प्रस्तावित ‘सुपुर्दगी’ कानुनविरुद्ध आन्दोलित हङकङवासीहरूको आन्दोलन ‘पछाडि नफर्कने’ चरणमा पुगेको बताइएको छ । गत साता सरकार विरोधी आन्दोलनकारीको जुलुसमा ‘संंगठित अपराधी गिरोह’ले आक्रमण गर्दा प्रहरीले हस्तक्षेप नगरेपछि नागरिकहरू थप आक्रोशित भएका छन् ।
समाचारअनुसार गत साता कर्मचारीहरूले सरकारले आन्दोलनकारीविरुद्ध गरेको अनावश्यक बल प्रयोग गरेकोमा बेनामी पत्र पठाएर प्रमुख कार्यकारी क्यारी लामको आलोचना गरेका थिए । उनीहरूले सरकारी व्यवहारको निष्पक्ष जाँचको माग गरेका छन् । उता चीनले भने हङकङमा तैनात चिनियाँ सेनालाई सतर्क अवस्थामा राखेको छ ।

















