काठमाडौं– विप्लव नेतृत्वको (नेकपा)का नेता मोहन कार्की (जीवन्त)ले सरकारसँग वार्ता गर्नुको विकल्प नभएको जनाएका छन् । उनले द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने जनाएका छन् ।
महानगरीय प्रहरी परिसर टेकुमा सञ्चारकर्मीसँग कुरा गर्दै पोलिटव्युरो सदस्य कार्कीले भनेका छन्, ‘देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्छ ।’
विप्लवले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा कार्कीलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।
वार्ताका लागि सरकार गम्भीर हुनुपर्ने जनाउँदै उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जनाएका छन् ।
पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने, ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।’
आफूले पार्टीका महासचिव विप्लवलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको कार्कीले जानकारी दिए ।
















