– प्रीति रमण
नेपालको राजनीतिमा २ सय ४० वर्षको राजतन्त्रकालीन शासन व्यवस्था अन्त्य भएको सन्दर्भ निकै चर्चाको विषय बन्ने गर्दछ । राजतन्त्रको अन्त्यसंगै सुरु भएको गणतान्त्रिक व्यवस्थामा दोस्रो राष्ट्राध्यक्षको रूपमा विद्यादेवी भण्डारी निर्वाचित भएपछि आम नेपाली महिलाहरूमा खुशीयाली छाएको थियो । विद्यादेवी भण्डारीले लिनु भएको राष्ट्रपतिको पदीय जिम्मेवारीसंगै ‘एक रथका दुई पाङ्ग्रा’को रूपमा व्याख्या गरिने महिला जगतलाई खुशी तुल्याउनु स्वाभाविक हो । तर दुःखद पक्ष हो विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि नेपाली महिलाहरूका लागि भनेर कुनै किसिमको प्रभावकारी कार्यक्रम लागू हुन सकेको छैन । राष्ट्रपतिले चाहने हो भने नेपाली महिलाहरूको जीवनस्तर माथि उठाउन कठिन हुँदैन ।
प्रधानमन्त्री कार्यकारी प्रमुख भएको देशमा राष्ट्रपतिको भूमिका प्रभावकारी हुँदैन भनेर हाम्रो देशको परिपेक्षमा विश्वास गर्न सकिने अवस्था छैन । राष्ट्रपतिले सुविधा लिँदा कार्यकारी प्रधानमन्त्रीको भन्दा बढी नै लिइरहेको देखिन्छ । अझ भन्नु पर्दा २ सय ४० वर्षसम्म शासन गरेका राजा महाराजाहरूको जत्तिकै सुविधाले पनि राष्ट्रपतिलाई पुगिरहेको छैन । राजनीतिक परिवर्तनसंगै नेपालको राजनीतिमा विशेष सम्मान पाएका व्यक्तित्व मदन भण्डारीलाई यतिबेला सम्झना गर्न मन लाग्यो । मदन भण्डारीले राजतन्त्रको विकल्पमा राष्ट्रपति वा अन्य कोही आएपनि राजा महाराजाहरूकै जस्तो विलासी जीवन बिताउन खोजे भने राजतन्त्र नहुनुको कुनै अर्थ रहने छैन भनेर भन्नुभएको थियो । सुविधाको हिसाबले राजा महाराजाहरूकै अनुशरण गर्न खोजिएपछि जनताको छोरी हुँ भनेर कसरी चित्त बुझाउन सक्नु भएको छ राष्ट्रपतिले ? जिज्ञासा पैदा हुनु स्वाभाविक हो ।
नेपाली महिलाहरूको अवस्था कस्तो छ भन्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी नभएको विषय होइन । उहाँले जुन पृष्ठभूमिबाट आफ्नो राजनीतिक व्यक्तित्व मािथ उठाउनु भयो, त्यसैबाट पनि उहाँले नेपाली महिलाहरूको अवस्थाबारे पूर्णरूपमा जानकारी राख्नुहुन्छ भनेर अनुमान गर्न सकिन्छ । जुन वर्गको राजनीतिक, आर्थिक र सामाजिक हकका लागि मदन भण्डारीले पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो, त्यस आधारमा पनि विद्या भण्डारीले राजनीतिक प्रशिक्षणको अभाव महसुस गर्नुभयो होला भनेर मान्न सकिन्न । त्यसो भए किन केही प्रयास भइरहेको छैन ? राष्ट्रपति विद्यादेवी भण्डारीमाथि यो गम्भीर प्रश्न हो ।
नेपाली महिलाहरूको अवस्थाबारे लेख्न बस्ने हो भने निकै लामो ग्रन्थ तयार हुन सक्छ । छाउपडि प्रथा नेपाली महिलाहरूमाथिको जंगली व्यवहारका रूपमा सामाजिक संस्कार बनिरहेको छ । यसको अन्त्य गर्न राष्ट्रपतिका नामबाट विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने चेतनाको जागरण नहुने कुरा हुँदैन । बोक्सीको आरोपमा समेत नेपाली महिलाहरू प्रताडित भइरहेका दृश्यहरू सार्वजनिक भइरहेका छन् । देशको राष्ट्राध्यक्ष महिला भएको देशमा महिलाहरू नै बोक्सीको आरोपमा कुटिएको अवस्था देख्दा राष्ट्रपतिज्यूको मनमा थोरै पनि महिलाप्रति सहानुभूति नदेखिनु आश्चर्यजनक हो । महिलाहरूलाई सक्षम बनाउन के गर्नुपर्छ ? राष्ट्रपतिले चिन्तन गर्नुपर्ने महत्वपूर्ण विषय हो यो । पुरुषहरू बोक्सीको रूपमा किन आरोपित हुँदैनन् ? पुरुषहरू वेश्यालयहरूमा किन बेचिदैनन् ? पुरुषहरू किन बलात्कृत हुँदैनन् ? पुरुषहरू दाइजोको कारणबाट किन प्रताडित हुँदैनन् ? यस्ता विषयहरू महिला राष्ट्रपति भएको देशमा नउठ्ने हो भने कहाँ उठ्ला र कहिले उठ्ला ?
राष्ट्रपतिको पदीय जिम्मेवारीबाट विशेष कार्यक्रम लागू गर्न सक्ने हैसियत राष्ट्रपति विद्यादेवी भण्डारीमा अहिले विद्यमान छ । आफ्नै पार्टीको नेतृत्वमा दुईतिहाई बहुमतको सरकार रहेको अवस्था छ । यो सरकारलाई राष्ट्रपतिको चाहना मात्रैपनि प्रभावकारी हुन सक्दछ । राष्ट्रपतिको चाहनाले गरिने काम सरकारको निम्ति पनि लोकप्रियता बढाउने माध्यम बन्न सक्दछ । पुरुषप्रधान समाजमा महिलाहरूलाई एक रथका दुई पाङ्ग्राको हैसियत ठानेर व्यवहार गर्नुपर्छ भन्ने मान्यता पाइन्छ नै । यसै आधारमा ३३ प्रतिशत महिलाहरूको राजनीति लगायत हरेक क्षेत्रमा हुनुपर्ने प्रावधान संविधानमै व्यवस्थित भएको अवस्था छ । संविधानमा व्यवस्थित भएको यो महिलाहरूको अवसरको आधार हो । यसै आधारमा महिलाहरूलाई माथि उठाउन सकिन्छ ।
प्रधानमन्त्री स्वरोजगारका कार्यक्रम लागू गर्न सकिन्छ भने राष्ट्रपति महिला स्वरोजगारका कार्यक्रम भनेर छुट्टै कार्यक्रम महिलाहरूलाई मात्र लक्षित गरेर लागू गर्न किन नसकिने ? सातवटै प्रदेशहरूमा महिलाहरूलाई घरेलु उद्योगहरूको व्यवस्था गरेर बिनाब्याज कर्जा लगानीको व्यवस्था गर्न सकिन्छ । त्यसैगरी छोरीले जन्म लिँदा बित्तिकै बिमाको व्यवस्था र निःशुल्क शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्न सकिन्छ । महिलालाई लक्षित गरेर बनाइएका कानुनी व्यवस्थाको कडा रूपमा कार्यान्वयन गराउन सकिन्छ र थप कानुनी अधिकारहरू प्रत्याभूत गर्न सकिन्छ । महिलासम्बन्धी हुने सबै किसिमका विभेदको अन्त्यका लागि सामाजिक प्रशिक्षणको कार्यक्रम थालनी गर्न सकिन्छ । कम उमेरमै विवाह गर्ने प्रचलनको अन्त्य गर्न बालविवाह रोक्ने जनचेतना फैलाउने कार्यक्रमको सुरुवात राष्ट्रपति महिला कार्यक्रमका नामबाट गर्न सकिन्छ । जबसम्म बालविवाह रोकिदैन, तबसम्म महिलाहरू विभेदको शिकार भइरहन्छन् । घरेलु उद्योग स्थापनाका लागि सीपमूलक तालिमको विकास गर्नेतर्फ लक्षित गर्दै स्वरोजगार बन्ने तालिम प्रदान गर्न सकिन्छ । यत्ति मात्र गर्न सक्ने हो भने नेपाली महिलाहरूको आत्मनिर्भरता बढ्न सक्नेछ भने छोरीहरूले शिक्षा पाउने निश्चितता पनि हुनेछ । साथै महिलाहरूबाट उत्पादित घरेलु उत्पादनहरू विदेशतर्फ निर्यात गरेर विदेशी मुद्रा आर्जनको स्रोत पनि बन्न सक्नेछ ।
यसरी महिलाहरूलाई प्राथमिकतामा राखेर नारीलाई अनिवार्य शिक्षाको अभियान चलाउने हो भने प्रत्येक घरमा महिलाहरू शिक्षित बन्ने छन् । महिलाहरू शिक्षित बन्नु भनेको पुरै परिवार शिक्षाको संरक्षणमा रहने आधार निर्माण हुनु हो । महिलाहरू शिक्षित बन्नु भनेको समाजलाई नै शिक्षित बनाउने आधार तयार हुनु पनि हो । राष्ट्रपतिको नामबाट महिलाहरूलाई माथि उठाउन सक्ने हो भने राष्ट्रपतिको लोकप्रियतासंगै सरकारको लोकप्रियता र समाजको अग्रगमन पनि देखा पर्ने निश्चित छ । राजा महाराजाहरूका कार्यशैलीको अनुशरण गर्ने, उनीहरूकै जीवनशैलीको सिको गर्ने, सडक मार्ग जाम गराउँदै सवारी चलाउने र आकाश मार्गलाई पनि प्रभावित तुल्याउँदै राष्ट्रपतिको सवारी आतंक मच्चाउने जस्ता गलत कामहरू रोकेर जनपक्षीय काम, महिलापक्षीय काम, विकासप्रेमी कामहरूमा राष्ट्रपतिको सहभागिता भएको अवसर नेपाली महिलाहरूलाई हेर्ने रहर छ, राष्ट्रपति महोदया ! महिलाहरूका चाहना पूरा गर्न सक्ने हैसियत तपाईसंग छ , तपाईको इच्छाशक्ति मात्र आवश्यक छ । –[email protected] जनधारणा साप्ताहिक

















