काठमाडौ, एजेन्सी भारतले जम्मु कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेसँगै जम्मु कश्मीर क्षेत्रमा त्यसको व्यापक विरोध भएको छ । भारतको केन्द्र सरकारले जम्मु कश्मीरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु कश्मीरमा आक्रोश बढेको हो । त्यस क्षेत्रमा भारतीय सुरक्षाकर्मीको व्यापक उपस्थितिका कारण सुरुमा विरोध प्रदर्शनमा अवरोध सिर्जना गरेपनि शुक्रबार व्यापक विरोध प्रदर्शन भएको हो । आन्दोलनकारीहरुले भारतीय निर्णयको विरोध गर्दै आन्दोलन गरेका छन् । आन्दोलनकारीलाई तितर बितर पार्ने सुरक्षाकर्मीहरुले असुरग्यास र प्यालेट गनबाट फायर समेत गरेको बीबीसीले जनाएको छ । सुरक्षाकर्मीको आक्रमणमा परी प्रदर्शनकारीहरु घाइते भएको बीबीसीले जनाएको छ । प्रदर्शनमा हजारौँको संख्यामा कश्मीरीहरु सहभागी भएको भिडियो बीबीसीले सार्वजनिक गरेको छ । यता भारत सरकारले भने कुनै आन्दोलन नभएको दाबी गरेको छ । आन्दोलनमा घाइते भएकाहरुका बारेमा बीबीसीले कश्मीरमा रहेका अस्पतालहरुबाट तथ्यांक समेत संकलन गरेको छ ।


















