समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरसंवाद कार्यक्रम

200

काठमाडौं / मानव बेचबिखन तथा ओसार पसार विरुद्ध १३औं राष्ट्रिय दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र सामाजिक संघ संस्थाहरुबिच समन्वय विषयक अन्तरसंवाद कार्यक्रम नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध लगायत अन्य सामाजिक विकृति नियन्त्रणका लागि सवै सरोकारवाला निकायहरु ऐक्यवद्ध भएर आगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा समाजिक संघ संस्थाहरुले निर्वाह गरेको भूमिकाको सराहना गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीले सामाजिक संघ संस्थाहरु सँग आपसी सहयोग एवम् समन्वय गर्दै आगाडी बढ्ने जनाउनुभयो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा थप प्रभावकारीता ल्याउने उद्देश्य अनुरुप यस कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले सामाजिक अपराध न्यूनिकरणका लागि सामूहिक भावनाका साथ सहकार्य एवम् समन्वय गरेर जनचेतनामूलक कार्यक्रमहरु संचालन गरेमा अपेक्षित सफलता हासिल गर्न सकिने समेत जनाउनुभयो ।

सो अवसरमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको परिचय, मावन बेचबिखन तथा ओसार पसार नियन्त्रणमा देखिएका चुनौती लगायत अन्तरसंवाद कार्यक्रमका विषयबस्तुमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी मानव बेचबिखन तथा ओसार पसार विरुद्ध स्थापना भएका विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अन्तरसंवाद कार्यक्रम महानगरीय प्रहरी परिसर काठमाडौं र महिलाको निम्ति महिला मञ्च नेपालको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा प्रहरी अधिकृतहरु, काठमाडौं जिल्लास्थित सामाजिक संघ संस्थाहरूका प्रमुखहरू, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here