आफैले सिकाएको आदर्श किन छोडे नेताहरुले ?

84

– निमकान्त पाण्डे

राजनीति र आदर्श एक अर्काका परिपुरक हुन् । कुनै वैचारिक आदर्शलाई कार्यान्वयन गर्ने पाटो राजनीति भएकाले आदर्श बिनाको राजनीतिको त परिकल्पना नै गर्न सकिदैन र आदर्शलाई कार्यान्वयनका लागि पनि राजनीतिको उत्तिकै आवश्यकता पर्दछ ।

नेपालकै परिप्रेक्षमा हेर्ने हो भने नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विश्वेश्वरप्रसाद कोइरालाको मार्गदर्शन र प्रजातान्त्रिक समाजवादलाई आर्दश मानेर चलिरहेको छ । नेपालमा कम्युनिस्ट पार्टीहरूको संख्या धेरै छ तथापी उनीहरूले साम्यवादी कम्युनिष्ट विचारधारालाई आदर्श मान्ने गरेका छन् भने मार्गदर्शनका रूपमा माक्र्स, लेनिन, स्टालिन र माओत्सेतुङ लगायतलाई मान्ने गरेका छन् । तर बिडम्बना ! पछिल्लो समय भने यस्तो आदर्श देखावटी मात्र हुन थालेको छ । हिजो आफूले मानेको विचार र आर्दशको कार्यान्वयनका लागि वलिदान दिन तयार हुने राजनीतिक चरित्र आजको वर्तमान परिवेशमा पाउन सकिदैन । हिजो मृत्यु वा मुक्तिको कसम खाएर आजको व्यवस्था स्थापना गर्नेहरू आज गलत सावित हुँदै गएका छन् । राजनीतिक नेतृत्वमा छलकपट र गलत चरित्रले डेरा गर्दा राजनीतिक सिद्धान्त र आदर्श कोरा विषय बन्न पुगेको पाइन्छ ।

विस्तारै राजनीतिक दल र राजनीतिक नेतृत्वप्रतिको वितृष्णा समाजमा देखिन थालेको छ । हालैको एउटा घटनाले त्यसलाई पुष्टि समेत गर्दछ । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई गिरफ्तार गर्दा उनको समर्थनमा उत्रिएको जनलहरले अब राजनीतिक व्यक्तिमात्र जनताका छनोटका विषय होइनन् भन्ने कुरा पुष्टि गरेको छ । यो सबै राजनीतिक गतिविधि र नेतृत्वप्रतिको जनताको वितृष्णा र अविश्वासको परिणाम हो भन्ने स्पष्ट छ । शीर्ष तहमा पुग्ने नेतृत्वको व्यक्तिगत स्वार्थ र वैचारिक विचलनको परिणाम नयाँ पुस्तामा समेत निराशा वा व्यक्तिगत मोह देखिन थालेको छ । यसले अबको राजनीतिक आन्दोलन नेतृत्वले सोचेभन्दा फरक हुने र विगतमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध एक जुट देखिएको जनलहर अब त्यही राजनीतिक नेतृतवप्रति जाइलाग्ने अवस्था सिर्जना हुँदै गएको छ, जसरी हिजो राजनीतिक दलहरूले जनतालाई प्रतिकृयावादी तत्वसँग भिडन सिकाएका थिए ।

सबैले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने सत्तारुढ नेकपाका (तत्कालीन एमाले र माके) नेताहरूले राजनीतिक आदर्शलाई धुजा धुजा बनाई सकेका छन् । अहिले सबैतिर राष्ट्रघात र जनबिरोधी कामहरूले प्राथमिकता पाईरहेको अवस्था छ । साम्राज्यवादी देशहरूसंगको यिनीहरूको सामिप्यताले यिनीहरूलाई झनै बैचारिक बिचलनतर्फ उत्प्रेरित गराईरहेको छ । नेपाली जनताले सडक आन्दोलनबाट केही गर्न सक्ने अवस्था पनि अब देखिदैन । सडकको मासलाई कसरी तह लगाउने भन्ने अभ्यास यिनीहरूले चितवनमा गरिसकेका छन् । जनता त यिनिहरूका लागि खासै महत्वपूर्ण होइनन् भन्ने कुरा बुझ्न युद्धकाल र हालका केही दृष्टान्तहरू नै काफी छन् ।

सरकारको आलोचना गर्ने र जनताको आवाज मुखरित गर्ने मिडियाहरूलाई कसरी तह लगाउने भन्ने आधार पनि राजनीतिक दलहरूले बनाईसकेका छन् । सरकारले कसैलाई पनि टेरपुच्छर नलगाएर अगाडि बढ्ने संकेत देखाई सकेको छ । तर अहिले पनि हनुमानरूपी कार्यकर्ताहरू पार्टी र सरकारको हनुमानगिरीमै महत्वपूर्ण समय खर्च गरिरहेका छन् । जनस्तरबाट विश्वास गुमाउँदै गइरहेको अवस्थामा सरकार र राजनीतिक नेतृत्व सिमित हनुमानरूपी कार्यकर्ताको प्रशंसाबाट पुलकित भएको देख्न सकिन्छ ।

जनमत सिफ्ट हुँदै जाँदा सत्तारुढ दल र सरकार भने त्यसलाई भेँडाको संकेत दिएर आत्मरतीमा रमाउन व्यस्त देखिन्छ । जबकी राजनीतिक नेतृत्वमा देखिदै गएको विचलनले यति चरम निराशाजनक अवस्था निर्माण गराउँदै गइरहेको छ कि यसलाई समयमै सम्बोधन गर्न नसक्ने हो भने हनुमानरूपी कार्यकर्ताहरू पनि आफ्नै पार्टी र सरकारको बिरोधमा उत्रिनु पर्ने अवस्था आउने निश्चित छ । तर त्यो चेत कार्यकर्ता तहमा सहजै आउने भने देखिदैन । देश र जनताले धेरै महंगो मूल्य चुकाई सकेको अवस्थामा मात्र त्यो चेत कार्यकर्ताहरूमा आउने सम्भावना देखिन्छ । तर त्यसबेलासम्म समय धेरै अघी बढीसकेको हुनेछ ।

राजनीतिक नेतृत्वले आदर्शलाई बिर्सदै जाँदा र मुलकप्रति घात गर्दै जाँदा पनि उनीहरूमाथि निगरानी गर्ने, खबरदारी गर्ने र सचेत गराउने प्रवृत्ति उत्साहित छैन । कुण्ठा र निराशाबीच आशा र प्रलोभनले नेतृत्वबाट भइरहेका जस्तासुकै कूकर्महरूमा पनि लालसलाम टक्रयाउने प्रवृति बढ्दो छ । नेताहरूको गलत कामलाई खबरदारी गर्ने जनवादी पद्धतिलाई समाप्त गरिएको छ, भएपनि निकै कम मात्रामा देखिन्छ । जसले गर्दा नेतृत्वमा स्वेच्छाचारिताको विचारले अड्डा जमाउँदै गइरहेको छ । सभ्य र चरित्रवान राजनीतिक अभ्यास हुने मुलुकमा नेतृत्वले गलत बाटो लिएमा त्यसलाई सुधारका लागि कानुनी बाटोहरूको व्यवस्था गरिएको हुन्छ । नेपालमा भने नयाँ बनाइएको संविधानमा समेत नेताहरूले आफू माथि पर्ने गरी कानुनको व्यवस्था गरेकाले गलत प्रवृत्ति भएको नेतृत्वलाई दण्ड दिन संविधान र कानुनले समेत मार्ग अवरोध गरेको छ । राजा कानुन भन्दा माथि मानिन्थे आज राजाको ठाँउ दलका नेताहरूले लिन पुगेका छन् । कानुन र संविधानले नेताहरूलाई छुनसक्ने ठाँउ छैन । यसरी कानुनले नै नेताहरूलाई मनपरी गर्न सहजता बनाइदिएको छ । जसका कारण देशको नियति झन् भन्दा झन् खराब हुँदै गइरहेको छ ।

वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली जनताले विश्वास गरेको पार्टी हो । यस पार्टीका नेताहरू जनताका मनमस्तिष्कमा कम्युनिष्ट आदर्श भएका व्यक्तिहरू भन्ने रहेको छ । राजा र कांग्रेसबाट शासित हुँदै आएका नेपाली जनतालाई कम्युनिष्ट पार्टीका नेताहरूको दुई तिहाई बहुमतको सरकार वास्त्वमै ठूलो अवसर बन्न पुगेको हो । यो सरकारले देश र जनताको हितमा काम गर्न सक्दैन भने अरु कुनै सरकारले गर्न सक्ला भन्ने आशा जनतामा देखिदैन । त्यसैकारण पनि वर्तमान सरकारको कार्यशैली जनताको भावनालाई बुझेर हुनुपर्ने अपेक्षा आम जनमानसमा पाइन्छ । आगे नेताजीहरूलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here