–निशा तामाङ
विकाशोन्मुख देश नेपाल र नेपालले प्रविधिको क्षेत्रमा प्रयोगको सवालमा गरिरहेकोे प्रगति वास्तवमा खुशीको विषय बन्न पुगेको छ । तर यो प्रगतिलाई राज्यले धान्न सक्ने सवालमा भने गम्भीर आशंका पैदा भएको छ । हालैमात्र भएको एउटा घटनाले नेपाली शासकहरूलाई गम्भीर झट्का दिएको छ । यो घटनाले बैंकर्सहरूलाई र बैंकहरूमा निक्षेप गर्ने जन साधारणलाई पनि झस्काएको छ । नेपालका बैंकहरूले संचालनमा ल्याइरहेका एटिएमहरूमा नक्कली भिसाकार्ड प्रयोग गरी करोडौं रूपैयाँ निकाल्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेसंगै नेपालको बैंकको सुरक्षा प्रणालीमै आक्रमण भएको पुष्टि भएको छ । यो कमजोरी कसको हो ? जानकारी पाउन कठिन नहोला तर राज्यले सर्वसाधारणलाई यो विषयबारे जानकारी गराउला भनेर आशा गर्ने अवस्था छैन । पक्राउ परेका चिनियाँ नागरिकहरूलाई नेपाल प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेरै सार्वजनिक समेत गरिसकेको छ । तर यो यत्रो जघन्य अपराध कसरी सम्भव भयो भन्नेबारे प्रहरीले पत्रकार सम्मेलनमा केही जानकारी गराएको पाइएन ।
यही भदौ १३ गते शुक्रवार मात्र नेपाल आएका ह्याकरहरूले शनिबार सिस्टम नै ह्याक गरेर चोरी गर्ने क्रममा पक्राउ परेका थिए । शनिबार बैंकहरू बन्द हुने हुँदा चोरी गर्दा बैंकहरूले थाहा पाउदैनन् भन्ने ह्याकरहरूको योजना अनुसार बैंकका सिस्टम ह्याक गरेर विभिन्न एटिएमबाट करोडौंको रकम चोरेका थिए । शनिबार अपरान्ह ४ बजे प्रभु बैंकका आइटी अफिसरले प्रहरीलाई दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम बुथबाट असामान्य रूपमा पैसा निकालिदैछ भन्ने सुचना दिएका आधारमा चोरी भइसकेको यति ठूलो रकम चोरी हुनबाट बचेको थियो । बैंकरहरूको एटिएमको सिस्टम नै कब्जा गरेर ह्याकरको गिरोहले दर्जनौं चोरहरू नेपालमा परिचालन गरेर नेपाल र भारतको विभिन्न एटिएम प्रयोग गरेर करोडौं रूपैयाँ चोरेका छन् । नेपाल प्रहरीले बैंकमा एटिएम प्रयोग गरेर चोरी गर्ने ह्याकरबाट परिचालन भएका समूहलाई मात्रै पाक्राउ गरेको छ । ह्याकर पक्राउ नपर्नु नेपालका लागि अझै चुनौतीको विषय हो । आम सर्वसाधारणमा त्रासको वातावरण कायमै छ । यसको उदाहरण भर्खरै फेरि प्रहरीको कम्प्युटर ह्याक भएबाट पुष्टि हुन्छ । बैंक ह्याक गरेका पाँच जना चिनियाँ नागरिक पक्राउ परेलगत्तै नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रतिष्ठानका कम्प्यूटरहरू ह्याक भएको घटना झनै खतरनाक देखिएको छ । ह्याकरले प्रतिष्ठानस्थित प्रहरी अधिकृत क्याडेटका लागि तयार तालिम सामग्री नै ह्याक गरेको सार्वजनिक भएको छ । जुन अत्यन्त गोप्य दस्तावेज हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम मागेको जनाइएको छ । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् । नेपालको साइबर प्रणाली नै कमजोर रहेको यसै तथ्यांकबाट स्पष्ट हुन्छ । कम्पनीले सन् २०१८ वर्षभरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैङ्किङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता समेत औँल्याइसकेको उल्लेख गरेको छ । यसरी ह्याकर पक्राउ नपर्नाले फेरि पनि यस्ता घटना दोहोरिदैनन् भनेर भन्न सकिने अवस्था छैन । एटिएमबाट चोरी गर्नेहरूबीच चिनजान समेत नहुनाले यो घटना अझै शंकास्पद बन्दै गएको छ । यसले ह्याकरहरूको एक आपसमा अपरिचित विभिन्न गिरोहले नेपाललाई टारगेट बनाएर ठूलै घटना घटाउने योजना बनाएको अनुमान गर्न सकिन्छ ।
नेपाल प्रविधिको विकास संगसंगै अगाडि बढिरहेको छ । विकसित देशबाट निर्माण गरिएको प्रविधि प्रयोग गरेर नेपालले आफ्नो सबै सरकारी काम कारबाही समेत प्रविधियुक्त बनाउँदै गइरहेको छ । यस अघि पनि एनआइसी एसिया बैंकबाट रकम चोरी भएको थियो । बैंक ह्याकको घटना भोगिसकेको नेपालले आफ्नो बैंकिङ्ग सफ्टवेयरको सुरक्षामा विशेष ध्यान दिदै विश्वस्तरीय बैंकिङ सफ्टवेयरको प्रयोग गर्न जरुरी देखिन्छ ।
प्रविधिको दुरूपयोग भइरहेका बेला प्रविधिकै प्रयोग गरेर मन्त्रीपरिषदको बैठक समेत सिंगापुरबाट सम्बोधन गरेर नयाँ सुरुवात गरिएको छ । यस्तो प्रविधि प्रयोग गरेर नेपालको सबै सुचना प्रविधि मार्फत यस्तै अपराधिक गतिविधिमा संलग्न रहेका गिरोहहरूलाई सहयोग पुग्ने टिका टिप्पणी पहिले नै भएको थियो । प्रयोग भइसकेको प्रविधिलाई होइन भनेर सरकारी प्रवक्ताले खण्डन गरेपनि नेपाल सरकारको कमजोरी यो घटनामा भएकै पुष्टि हुन्छ । नेपालको बैंकमा कमजोर प्रविधि भइरहेको छ भन्ने कुरा पटक–पटक भइरहेका घटनाहरूबाट बुझ्न सकिन्छ । एटिएम कार्ड बनाउने ठाँउबाट लिक भयो वा सस्तो र कमजोर प्रणाली प्रयोगले गर्दा नेपाली बैंकको सुरक्षा प्रणालीमा आक्रमण हुन सक्यो ? यो अनुशन्धानको विषय हो । सबैभन्दा सुरक्षित भनिएका बैंकहरू पनि असुरक्षित साबित भएका छन् । अरुलाई सुरक्षा दिने प्रहरी निकाय नै असुरक्षित बन्न पुगेको छ , त्यसैले प्रविधि प्रयोगसंगै सावधानी अपनाउन सकिएन भने ठूलै क्षतिको सामना गनुपर्ने अवस्था आउन सक्ने खतरा छ , सचेतता नै खतरासंग बच्ने उपाय हो । –[email protected] – जनधारणा साप्ताहिक


















