वीरगञ्ज / वीरगञ्जको छपकैया-३ निवासी एक स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए ।
गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेको प्रत्यदर्शीले जनाएका थिए । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो । खातुन त्यो बाटो भएर विद्यालय जाने-आउने गर्थिन् । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्याएका थिए ।
प्रहरीले घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गर्ने क्रममा घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ । एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज(२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खातुनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घाइते छात्राको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् ।


















