काठमाडौं / गत वर्षजस्तै यसपालि पनि नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट गर्ने भएको छ । असोज १४ गतेबाट वितरण सुरु गर्ने योजना बनाएको छ।
यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य लिएको राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ। यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गर्थ्यो। यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।
निजी क्षेत्रका बैंकहरुले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरुलाई मात्र सटही सुविधा दिएको गुनासो बारम्बार आउन थालेपछि तीन सरकारी बैंकमार्फत राष्ट्र बैंकले साटेजस्तै माग्न आउनेजतिलाई वितरण गर्ने व्यवस्था मिलाएको हो।
नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ। राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ।
साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ। राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन्।
राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालयहरू र उसको मातहतमा सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले पनि नोट वितरण गर्ने छन्।


















