काठमाडौं : टम्मी अब्राहमले ह्याट्रिक गरेको दिन चेल्सीले इङ्लीस प्रिमियर लिग फुटबलमा वुल्भमाथि जित निकालेको छ । गएराती सम्पन्न वुल्भविरुद्धको खेलमा टम्मी अब्राहमले ह्याट्रिक गरेपछि चेल्सीले ५–२ को जित निकालेको हो ।
चेल्सीको जितमा अब्राहमको ह्याट्रिकसँगै मासन माउन्ट र फिकायो तमोरीले गोल गरे । वुल्भका लागि प्याट्रिकले एक गोल तथा एक गोल उपहार पाएको थियो। घरेलु टोलीमाथि ३१ औं मिनेटमा फिकायोले गोल गदै चेल्सीलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा टम्मीले अग्रता दोब्बर बनाउँदै व्यक्तिगत पहिलो गोल गरे ।
४१ औं मिनेटमा दोस्रो गोल गरेका उनले ५५ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।ह्याट्रिकपछि उत्साहित टम्मीले ६९ औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेपछि वुल्भले उपहार गोल पायो । ८५ औं मिनेटमा प्याट्रिकले चेल्सीको अग्रता घटाउने प्रयास गरे । निर्धारित समयसम्म ४–२ को अवस्थामा खेल रहेपनि इन्जुरी समयको अन्तिम मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको जित ५–२ को सुनिश्चित गरे । जितसँग चेल्सी लिगको छैटौं स्थानमा छ ।

















