काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ‘जुत्ताको नापमा खुट्टा काट्ने’ परिस्थितिको नभइ आ-आफ्ना मुलुकको धरातलीय यथार्थताको आधारमा सिर्जनात्मक तरिकाले मार्क्सवादको प्रयोग र विकासमा समर्पित हुने जनाएका छन् ।
दुवै देशका कम्युनिस्टको मूल विचारधारा मार्क्सवाद नै भएपनि व्यवहारमा भने ठ्याक्कै एउटै नभएको स्पष्ट पार्दै उनले सो कुरा जनाएका हुन् । उनले दुवै पार्टीले मार्क्स सिद्धान्तलाई आफ्नो देशको धरातलीय यथार्थअनुसार ढालिएको स्पष्ट पारे ।
उनले चीनको तुलनामा नेपालका कम्युनिस्टका केही भिन्न विशेषता रहेको जनाए । नेकपाले मार्क्सवादलाई आफ्नै अनुपम र विशिष्ट आवश्यकता र चुनौतीलाई सामना गर्ने गरी स्थानीयकरण गरेको र तदनुरूपको साँचोमा ढालेको उनको भनाइ छ।
सोमबार बेलुकी नेकपा र सीपीसीबीच काठमाडौंमा सुरु भएको ‘विचारधारात्मक छलफल’ को उद्घाटनमा उनले ‘सी चिनफिङ विचारधारा’ लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रूपमा व्याख्या गरेका छन् ।
उनले छलफलमा मन्तव्य राख्ने क्रममा राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र नहुने जनाए । उनले कसैको सिको गर्नु नक्कल भएको जनाए । उनले भने,’जतिसुकै सुन्दर भएपनि नक्कल, नक्कलै हो, त्यसो गर्नु हुँदैन। त्यो दिगो पनि रहन्न, अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिन्न।’
प्रधानमन्त्री ओलीले मार्क्सवादलाई आफ्नो देश अनुकुल परिवर्तन गरेर विकासतिर लम्कनुपर्ने जनाए । मार्क्सवाद सफल त्यतिखेर मात्रै हुन्छ, जब त्यसलाई हरेक देशले आफ्नै मौलिक परिस्थिति अनुरुप प्रयोग गरेको हुन्छ।
चीनले आफ्नै ढाँचाको समाजवादी मोडेल प्रस्तुत गरेको छ,’ उनले भने, ‘हामीले परिवर्तन र विकासको आफ्नै परिवेश र अन्तर्राष्ट्रिय परिस्थिति अनुरुपको नितान्त आफ्नै मोडेल अपनाएका छौं। यसरी हाम्रा दुई पार्टीहरु ‘जुत्ताको नापमा खुट्टा काट्ने’ हैन परिस्थितिको ठोस विश्लेषण गर्दै आ–आफ्ना मुलुकको धरातलीय यथार्थताको आधारमा सिर्जनात्मक तरीकाले मार्क्सवादको प्रयोग र विकासमा समर्पित छन् ।’

















