ढल्किएकै त होइन, बेइजिङमा पानी परेकोले यता छाता ओढेको मात्र होला !

238

चन्द्रप्रकाश बानियाँ

‘मस्कोमा पानी पर्दा नेपाली कम्युनिष्टहरूले काठमाडौंमा छाता ओड्छन्’ भन्ने भनाई पुराने हो । वास्तवमा त्यो नेपालीहरूको साझा चरीत्र हो । ‘जस्ले जित्यो. उही मेरो भाले” भन्ने संस्कार नेपाली रगतमा निकै बाक्लो छ । हिजो बेलुका ओछ्यानमा जाँदासम्म जगतजङ्गको जय मनाउने नेपालीहरूले भोलिपल्ट विहान भालेको डाँकोमै वीरसम्शेरको चाकडी सुरु गरेको कथा प्रसिद्ध उपन्यासकार डाइमन समशेरले आफ्नो पुस्तक ‘सेतो बाघ’मा सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । सत्ताको भजन गाउने नेपाली संस्कृति निकै पुरानो हो । आफूलाई कम्युनिष्ट भनाउन रुचाउने नेपालीहरूमा संस्कार बनेर गढेको त्यो जन्मजात प्रवृत्तिलाई माक्र्सवादी दर्शनकोे बाढीले सिनित्त कसरी बढारोस् त ? उसो त कम्युनिष्टहरले मस्को र वेइजिङतिर हेरेर आफ्नो पोशाक बदलेजस्तै दिल्लीमा गर्मी चढ्दा नेपालमा शितल बस्ने प्रवृत्ति पातलो छ भन्न मिल्दैन । छाता ओढ्ने र शितलबस्ने परम्परा सनातन छ । यो चोखो र ऊ विटुलो भन्नु व्यर्थ हो । हो, दिल्लीको गर्मीमा सेकिनेहरूको प्रवृत्ति जडजस्तो देखिन्छ तर नेपालका कम्युनिष्टहरू भने उदार छन् । लचकदार छन् । जुनपाटोमा पनि मिल्ने खालका छन् । जता हावा चल्छ उतै लतारिने खालका छन् । नेपालका कम्युनिष्टहरूलाई त्यही जन्मजात प्रवृत्तिले लतारेर दिल्लीको पाउमा साष्टाङ्गदण्डवतको मुदामा लम्पसार पार्छ भन्ने कुराको जिउँदो तस्वीर महाकाली सम्झिौताताका देखिएकै थियो । बेलामौकामा अझै पनि त्यही पञ्चेश्वरको भूत कम्युष्टि नेताहरूको आड्मा उत्रने गरेकै छ ।

यसै हप्ता चिनीया विशेषज्ञहरूद्वारा नेपालका सरकारी कम्युनिष्टहरूलाई सी–विचारधाराबाट प्रशिक्षित गर्ने कोशिस गरियो । अवश्य, असल कुरा अरुबाट सिक्न खोज्नु राम्रो कुरा हो । मानिस जन्मदा जसरी नाङ्गो शरीर लिएर आउँछ त्यसैगरी मष्तिष्क पनि खाली लिएर आउने हो । आमाको गर्भबाटै ज्ञानगुन लिएर आउने अष्टाबक्र, शुकदेव र अभिमन्युहरू त कथाका पात्र मात्रै हुन् । वास्तविकतामा त्यस्तो सम्भव हुदैन । सिप, प्रविधि, ज्ञान, विज्ञान, शास्त्र, दर्शनजस्ता विषयहरू मानिसले यही धर्ती र समाजबाट सिक्ने हो । सिले पनि विश्व इतिहासबाटै ज्ञान बटुलेर आफ्नो विचार निर्माण गरेका हुन् । भुईफुट्टा दार्शनिक उनी पनि होइनन् । ज्ञान र प्रविधिको क्षत्रमा निकै पिछडिएको नेपाली समाजले विश्वबाट सिक्नुपर्ने, जान्नुपर्ने र अनुशरण गनुृपर्ने कुराहरू अनेक छन् । नेपालका कम्युनिष्टहरूले व्यवहारमा आफूलाई साँचो कम्युनिष्ट सावित गर्न नसक्नुको कारण सिकाइको कमी नै हो । ज्ञानले होइन, भावनाले होइन, रहरले नेपालीहरू कम्युनिष्ट हुने गरेका रहेछन् भन्ने कुरा मोहनविक्रमदेखि प्रचण्ड र मदनभण्डारीदेखि घनश्याम भुषालसम्मका पछिल्ला अवतारहरूले सिद्ध गरिसका छन् । त्यसैले नेपालका कम्युनिष्टहरूले साँचो कम्युनिष्ट दर्शन पढनु, सिक्नु र व्यवहारमा प्रयोग गर्ने कौशल आर्जन गर्न बाँकी नै छ । यसपटकको चेष्टालाई त्यस अर्थमा व्यर्थ भन्न मिल्दैन ।

दुःख मान्नुपर्ने विषय के बनेको छ भने नेपालका कम्युनिष्टहरूको व्यवहारले कम्युनिष्ट दर्शन खाली ‘भजन गाउने विषय मात्र रहेछ’ भन्ने प्रमाणित गरिदिएको छ । मस्को र वेइजिङ्को इशारामा नाच्ने भन्ने अर्थमा छातालाई प्रतीक बनाइएको होला । हुन पनि निष्पक्ष र आग्रहरहित भएर सिंहावलोकन गर्ने हो भने नेपाली कम्युनिष्ट चरीत्र भारतका चर्चित साधु रामरहिमको भन्दा फरक देखिदैन । चरीत्र व्याख्यानले होइन, व्यवहारले चिनाउने हो । नब्बेको दशकमा पूर्वी युरोमा आएको बाढीबाट तर्सेर ओत खोज्दै पूँजिवाद÷नवउदारवादको शरणपर्ने सन्दर्भमा सिर्जना गरिएको भजने तुक्का “जनताको बहुदलीय जनवाद” लाई महान दर्शन मान्ने नेपाली कम्युनिष्टहरूको ठूलो हिस्सा छँदै थियो । त्यसैमा प्रचण्ड नेतृत्वको नेकपा सामेल भएपछि नेपाली कम्युनिष्टको पर्याय “भजनमन राम” को कीर्तन टोली भएको छ भन्नु आग्रह मानिने छैन । भारतमा हिन्दूवादी पार्टी भाजपा सत्तारुढ भएपछि ‘बोलो श्रीराम” नभन्ने हो भने बाटैघाटै ज्यान जानसक्ने जति सम्भावना छ नेपालमा पनि ‘नवउदारवादी कम्युनिष्टकी जय” नभन्ने हो भने बाँच्न कठिन छ । बरु कम्युनिष्टइतरहरू बाँच्लान्, आफूलाई कम्युनिष्ट भनाउनेहरू त्यो समूहइतर रहेर अस्तित्व रक्षा गर्न सक्लान् भनेर पत्याउन गाह्रो छ । सेरवहादुर देउवाले भनेजस्तो “रुन नपाइने” होइन टाउकोमा हात राखेर विलाप गर्नुको विकल्प सायदै फेलापार्लान् !

अवश्य, चीनले अभूतपूर्व आर्थिक उन्नति गरेको छ । पश्चिमा उदारवादी मुलुकहरूलाई हावाकावा खेलाएको छ । उन्नति, प्रगति र समृद्धिको एकमात्र बाटो वैयक्तिक स्वतन्त्रता हो भन्ने पश्चिमा दर्शन र मान्यता समक्ष दरो विकल्प प्रस्तुत गरेको छ । स्वभावतः उसले अवलम्बन गरेको अर्थनीति हाम्रा लागि मात्र होइन, समस्त मानवसमाजका लागि अनुकरणीय र प्रशंनीय बन्ने लक्षण देखिदै छ । तर ‘संगिनीको देख्छु रहरले मर्छु’ भनेजस्तो अर्काको देखेर मात्र सर्लक्क सापट लिन सकिने नहुन सक्छ । चिनीय अर्थनीति चिनीय राजनीतिको अङ्ग हो । तराईको छरितो पोशामा ‘भेष्ट र पाइजामा’ हिमाली भेकका लागि अनुशरणीय हुन सक्तैन । जहाँसम्म नेपाली कम्युनिष्टहरूको कुरा हो, जसलाई माक्र्सको दर्शनले डो¥याउन सकेन, लेनीनको दर्शनले बाटो देखाउन सकेन, माओको सिद्धान्तले आदर्श सिकाउन सकेन तिनीहरूको चोला सी–दर्शनले फेरिदेला भनेर कसरी आशा गर्न सकिन्छ र ?

‘निजी सम्पत्तिको लोभ गर्ने मानिस कम्युनिष्ट हुनै सक्तैन’ भन्ने सीको भनाई नेपाली समाजमा निकै भाइरल भएको छ । सीले भनेजस्तो एकजना कम्युनिष्ट नेता कार्यकर्ता ओखती हुन्छ भने पनि नेपालमा खोजेर कहाँ पाउनु ? सीको कम्युनिष्ट शासनमा भ्रष्टाचारलाई अक्षम्य अपराध मानिन्छ र मृत्युदण्डसम्म दिइन्छ । हाम्रा प्रधानमन्त्रीले भष्टाचारलाई भजन गाउने र जगहँसाउने विषय बनाउँछन् ! सी सिद्धान्त नेपालका कम्युनिष्टहरूले अवलम्वन अनुशरण गर्न किमार्थ सक्तैनन् । किनकि त्यसो गर्दा सर्वप्रथम आफै दण्डभागी बन्नुपर्छ । नेतादेखि कार्यकर्तासम्म एउटा पनि भ्रष्टाचारबाट अछुतो भेटिने छैन । अहिलेजस्तो पाँच हजार घुस लिएवापत खरदारलाई अदालतमा मुद्दा चलाउने अख्तिायारले राजनीतिमा पनि हात हाल्ने हो भने कुन चाही एकजना चोखो सन्याशी भेटिएला र विशाल कम्युुनिष्ट भेडीगोठमा ?’

यतिखेर खासगरेर, चिनीया गुरुहरूले पाँचतारे होटेलमा गुरुकुल चलाइदिएपछि कम्युनिष्टइतरको राजनीतिक वृत्त थर्हरी भएको छ र नेकपा चीनतिर ‘टिल्ट’ भयो भनेर कोकोहोला मच्चाउन थालेको छ । वास्तवमा त्यस्तो स्यालहुइयाँ मच्चाउनुको अर्थ दक्षिण र पश्चिमाहरूलाई हारगुहार गर्ने प्रयत्न हो । माक्र्सका चेलो हुन नसकेको, लेनीनको अनुयायी बन्न नसकेको र माओपथ पछ्याउन नसकेको नेपाली कम्युनिष्ट आन्दोलनले सीपथ अँगाल्छ भनेर तर्सनै पर्दैन । पुरेत पण्डितहरूले श्रीमदभागवत पारायण गरेर वा श्राद्धमा पिण्डतर्पण दिएर मृतकात्मा अथात पितृले मोक्ष प्राप्त गर्छन् भन्नु र पाँचतारे होटेलमा दुईदिने सहवास गर्दैमा चिनीया संस्कार, संस्कृति र दार्शनिक चिन्तन सर्लक्कै नेपालीहरूमा सर्छ भन्नु उस्तै एस्तै उटपट्याङ कुरा हो । ‘आया राम, गया राम’ प्रवृत्ति बिर्सनै नसकिने नेपाली चरीत्र हो । आज सी आए उनको जिन्दावाद भन्नेहरूले भोलि मोदी आउँदा उनैको धोती स्याहार्न हारालुछ गर्नेछन् । चिन्ता लिनै पर्दैन । एउटा कसैको हुनसक्ने नेपालीहरूको चरीत्र भैदिएका भए सितयुद्धकालमै नेपाल समृद्ध मुलुक बनिसकेको हुनेथियो । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here