काठमाडौं / कांग्रेसले यही असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्ने भएको छ । अपरान्ह १ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ ।
बीपी कोइरालाले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि चियापान प्रारम्भ गरेका थिए । यसमार्फत सद्भाव आदानप्रदानको निरन्तरता दिन लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाए ।
काठमाडौं उपत्यकाको हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यकाबाहिर ७४ जिल्लामा जिल्ला कार्यसमितिहरुको आयोजनामा कार्यक्रम सम्पन्न हुने उनले सुनाए । विगतमा केन्द्रीय रुपमा मात्रै दशैं, तिहार र नेपाल संवतका अवसरमा चियापन कार्यक्रम गरिन्थ्यो । गत वर्षदेखि त्यही दिन जिल्लामा पनि गर्न थालिएको हो ।


















