जनप्रतिनिधिबाटै कुटिए दलित युवा

184

दाङ / जातीय विभेद तथा छुवाछुतका घटना न्यूनीकरणमा सिंगो राज्य नै लागिरहेको बेला पश्चिम रुकुमका एक जनप्रतिनिधिले नै दलित युवालाई जातीय लाञ्छना लगाउँदै कार्यालय भित्रै कुटपिट गरेका छन् ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ३ का अध्यक्ष लालबहादुर बुढाथोकीले स्थानीय दलित युवालाई जातीय विभेद सम्बन्धी अपशब्द बोल्दै कुटपिट गरेको भन्दै पीडितले कारबाहीको माग गरेका छन् । स्थानीय २६ वर्षीय गोबिन्द महर विकलाई वडा अध्यक्ष बुढाथोकीले डुम भन्दै हातपात गरेको पीडितले जनाएका छन् ।

गत असोज ५ गते वडा कार्यालय भित्रै विवाद हुँदा वडा अध्यक्ष लालबहादुर बुढाथोकीले डुम, कामी भन्दै कुटपिट गरेर कार्यालयबाट निकालेको पीडित युवा महरले बताउनुभयो । स्थानीय बन समूहको २०४५ सालदेखिको हिसाव देखाउन र बन समूहमा दलित समुदायको पनि सहभागिता हुनुपर्ने माग राख्दै आएका थिए । सोही विषयमा वडा कार्यालयमा पुगेका गोविन्द महर विकसँग वडा अध्यक्ष बुढाथोकीको विवाद भएको थियो । विवादका क्रममा वडा अध्यक्ष बुढाथोकीले डुम, कामीहरुलाई बनको सदस्यता पनि दिदैन भन्दै कुटपिट गरेर निकालेको स्थानीय कैलाश विकले जनाउनुभयो ।

पीडित गोबिन्द बिकले भन्नुभयो, ‘सामुदायिक बन जिल्ला बन कार्यलयमा दर्ता गर्ने विषयमा समितिमा आफू पनि बस्छु भने पछि वडा अध्यक्षले दलित, डुम भन्दै वडा कार्यलय भित्र नै कुटपिट गरे, स्थानीय नेताहरुले सबैले कुटेको देखेका छन् ।’ वडा कार्यालयहरुमा सबै प्रत्यक्ष रुपमा देखेकाहरुले समेत पछि बयान फेरेर आफुलाई झन पीडित बनाएको महरले जनाउनुभयाे ।

उहाँले असोज ५ गते नै ईलाका प्रहरी कार्यलय चौरजहारीमा जातीय छुवाछूत, कुटपिट सम्बन्धि ठाडो उजुरी दिनु भएको थियो । तर न्याय नपाएको भन्दै महरले बताउनुभयो, ‘मलाई गाली गरेको, अपशब्द बोलेको, डुम र कामी भन्दै वडा कार्यालयबाट निकालेको सबैले देखेका थिए, तर ईलाका प्रहरी कार्यालयमा बोलाउँदा सबैले बयान फेरे ।’

वडा अध्यक्ष लालबहादुर बुढाथोकीले भने वनको विषयमा सामान्य विवाद भएपनि जातीय विभेद तथा छुवाछुत हुने गरी कुनै पनि शब्दहरु प्रयोग नगरेको बताउनुभयो । वडा कार्यालयमा आएर गोविन्द महरले आफुलाई अभद्र व्यवहार गरेको बताउँदै वडा अध्यक्ष बुढाथोकीले आफु दोषी भए कारबाही भोग्न तयार रहेको जनाउनुभयाे ।

‘मैले डुम, कामी भन्ने शब्दको प्रयोग गरेको भए, प्रमाण जुटाउनुस् भनेकै छु ।’ अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘विवाद बढेपछि उहाँले पनि अभद्र व्यवहार गर्नु भएको हो ।’

अहिले पनि यो विषयले टुंगो पाएको छैन । ईलाका प्रहरी कार्यालय चौरजहारीमा भएको दुइृ पटकको छलफलले निश्कर्ष निकाल्न नसकेपछि विवाद कायमै रहेको कैलाश विकले बताउनुभयो । पीडित पक्षले आफुहरु माथि पटक पटक विभेद हुने गरेको भन्दै दोषीलाई कारबाही नभएसम्म पछाडी नहट्ने जनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here