एजेन्सी / नियमित मादक पदार्थ पिउने व्यक्ति भन्दा कहिलेकाहीँ पिउने व्यक्तिलाई मादक पदार्थको असर बढी हुने गर्दछ ।
एक सर्वेक्षणले तयार पारेको प्रतिवेदनमा यस्तो थाहा भएको पाइएको छ । युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ मार्फत् सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा अध्ययनका लेखक तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको जनाएका छन्।
मादक पदार्थ थोरै थोरै नियमित सेवन गर्नेभन्दा कहिले कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनबाट थाहा भएको उनको भनाइ छ।
उनले अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी सृजना गर्ने गरेको पनि जनाए ।
उनका अनुसार अनियमितताले मुटुको धड्कन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँ स्याँ हुने, धेरै थकाई लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या उनीहरूमा देखिने गरेको छ।
मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दावीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ।
अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९ सय ५६ जनालाई सहभागी गराइएको जानकारी दिएका छन्। सन् २००९ देखि सुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो।
















