काठमाडौं । सत्तारुढ दल नेकपाका प्रमुख नेताहरूबीच आ–आफ्नो स्वार्थपूर्तिका लागि टकराव उत्कर्षमा पुगेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केही समययता सरकार तथा पार्टी सञ्चालन लगायत विषयमा मतभेद बढ्दै गएको चर्चा व्यापक भइरहेको थियो ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले आफ्ना निकटस्थ नेताहरूसँग छुट्टाछुट्टै भेटघाटलाई तीव्रता दिएका छन् । हालै मात्र प्रचण्ड आफ्ना निकटका नेता अग्नि सापकोटा र सपरिवारलाई लिएर काभ्रे पुगेका थिए । लगत्तै माधव नेपाल, ईश्वर पोखरेललगायत नेताहरूसँग पनि उनले भेटघाट बढाएका छन् । प्रचण्डले सत्ता आलोपालो चलाउने विषयलाई बेलाबखत चर्काउँदै आएका छन् । साथै, सार्वजनिक रूपमा पनि उनले सरकारको कामकारबाहीप्रति असन्तुष्टि प्रकट गर्दै आएका छन् ।
उनले यस्तो गर्नुमा मन्त्रीमण्डलमा आफ्नो बुहारी खानेपानी मन्त्री विना मगर तथा आफ्ना पक्षका अन्यलाई मन्त्री पदमा कायम राखिराख्न दबाब सृजना गर्न खेल खेलेको रूपमा हेर्न थालिएको छ । सकेसम्म सरकारकै नेतृत्व गर्ने नपाए आफ्ना अनुकूलका मानिसहरूलाई आफूले चाहेको ठाउँमा पदीय जिम्मेवारीमा राख्ने प्रचण्डको खेल देखिन थालेको छ । हिजो मात्रै प्रचण्डको अभिव्यक्ति सुन्नेहरूले यस्तै अड्कलबाजी गरिरहेका छन् ।
प्रधानमन्त्री ओली आफ्नो सरकार स्थिर राख्न र प्रधानमन्त्री पदमा कायम रहन नेकपाका नेताहरूलाई पक्षमा पार्ने होडमा देखिन्छन् । उनले सकेसम्म पार्टीको नेतृत्व पनि आफूसँग नै राख्नका लागि प्रयास गर्दै आएका छन् । यस काममा सफलता हासिल गर्न प्रधानमन्त्री ओलीले पनि प्रचण्डलाई कारबाहीको चेतावनीसमेत अरुमार्फत दिएर तर्साइरहेको बुझिन्छ । दुवै नेताबीच बेलाबेला विवाद बढ्दा सार्वजनिक रूपमा देख्लास् र पख्लास् सम्मको अवस्थामा उनीहरू पुगिरहेका पाइन्छन् ।
हालै मात्र चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको जनाएका थिए । समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो । उनले नेताहरू र पार्टीमा अलिअलि धुलोमैलो लागेको भन्दै प्रधानमन्त्री ओलीप्रति तीव्र असन्तुष्टि प्रकट गरेका थिए ।
यता प्रधानमन्त्री ओलीले भने एउटा सञ्चारमाध्यमको कुराकानीमा आफूलाई लखेटेर हटाउन नसकिने चेतावनी दिएका थिए । उनले समझदारी भए त्यो समय आएपछि कार्यान्वयन हुने र यति धेरै रोइलो गर्नुपर्ने आवश्यकता नरहेको सम्म अन्तर्वार्तामा भन्न भ्याएका छन् । यसले पनि दुवै अध्यक्षबीच लामो समयदेखि सरकार र पार्टी सञ्चालनका लागि रस्साकस्सी भइरहेको पुष्टि हुन्छ ।
दुवै नेताबीचको विवादले मुलुकको राजनीतिक वृत्त भने तरंगित हुने गरेको छ । यसले सरकार, नेकपा र मुलुकको विपक्षमा गतिविधि गर्ने बाह्य राष्ट्रहरूलाई समेत झनै सहज बनाएको छ । हालै मात्र नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायिकीकरणका विषयमा सहकार्य गर्ने भन्दै अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन् । सामान्य रूपमा हेर्दा यो दुई देशबीचको सैन्य सहकार्य जस्तो देखिए पनि प्रतिआतंकवादका नाममा छिमेकी देश चीनलाई जिस्काउने र बिच्काउने काममा यस्ता गतिविधिले मलजल गर्ने निश्चित देखिन्छ ।
अमेरिकी सेनाले प्रमुख चासोको विषय चीनमाथिको निगरानीलाई बनाएको कुरा बुझ्न कठिन छैन । नेपालले यस्तो सवालमा सचेत बन्न जरुरी छ । यो प्रसंगले पछिल्लो समय मुलुकको राजनीतिक क्षेत्र तरल बन्दै गर्दा विदेशी चलखेल कुन रूपमा बढिरहेको छ भन्ने संकेत गरेको छ ।
यसैबीच, काठमाडौंमा आयोजित एक कार्यक्रमा नेकपा मालेका महासचिव सीपी मैनालीले अब हार्ने पालो प्रधानमन्त्री केपी ओलीको आएको टिप्पणी गरेका छन् । मैनालीले सरकार परिवर्तनको खेल भइरहेकोतर्फ संकेत गर्दै सत्तासीन डबल नेकपाका अध्यक्षद्वय बाह्य शक्तिहरूको गोटी बनिरहेको र बाह्य शक्तिकै चाहनामा परिचालित भइरहेको दाबी गरेका छन् ।
‘एक अध्यक्ष केपी ओली पश्चिमा शक्तिसँग जुनसुकै सम्झौता गरेर सत्ता लम्ब्याउन चाहन्छन्, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने भारत लगायतका शक्तिको आडमा सत्ता पल्टाएर नेतृत्वमा पुग्न चाहन्छन् – मैनालीले भने ।
मैनालीले जनता सरकारको कामबाट खुशी छैनन्, सरकारले जनताको चाहना अनुसार कामै गर्न नसकेको दाबी समेत गरेका छन् । सरकारले विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याएर उनीहरूको माग सम्बोधन गर्नुपर्ने धारणा पनि सो क्रममा मैनालीले राखेका छन् ।
त्यसैगरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीले पनि नेकपा अध्यक्ष प्रचण्डबारे कडा टिप्पणी गरेको छ । प्रचण्डले राजनीतिक गुरु मान्ने गरेका वैद्यको पार्टीले प्रचण्डले प्रधानमन्त्री हुन नपाएको भन्दै रुँदै हिँडेकोप्रति दयाभाव देखाएको छ । प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा शंका गरिरहेका बेला क्रान्तिकारी माओवादीले प्रचण्डले एमाले नेताहरूसामु बिन्तीभाउ बिसाउन थालेका टिप्पणी गरेको छ ।
पार्टीले भनेको छ, ‘प्रधानमन्त्रीको आलोपालो भएन भनेर प्रचण्ड रुँदै हिँडेका छन् । कहिले माधव नेपाल, कहिले वामदेव गौतम त कहिले ईश्वर पोखरेल कहाँ गएर बिन्तीभाउ गरिरहेका छन् ।’ वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ले कात्तिक २ र ३ गते बसेको केन्द्रीय समितिको बैठकले उपचुनावमा भाग नलिने लगायतका निर्णय गरेको छ । निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री ओली र प्रचण्डको टिप्पणी गरेका थिए । -जनधारण साप्ताहिक


















