काठमाडौंमा रगत अभाव, प्रसूतिगृहमा ४० देखि ६० पाउन्ड रगत आवश्यक

251

काठमाडौं  / थापाथलीस्थित प्रसूतिगृहमा दैनिक ४० देखि ६० पाउन्ड रगत आवश्यक पर्छ । तर प्रसूतिगृहको ब्लड बैंकले आवश्यकता अनुसार रगत दिन सकेको छैन ।  उक्त शाखामा ७० प्रतिशत ब्लड रेडक्रसको केन्द्रीय रक्तसंचार विभाग र ३० प्रतिशत रगत अस्पताल आफैँले व्यवस्थापन गर्दै आइरहेको छ । अहिले रेडक्रसबाट रगत कम उपलब्ध हुने भएकाले अवस्था ठिक उल्टो छ । अर्थात्, ७० प्रतिशत रगत अस्पताल आफैँले व्यवस्थापन गर्दै आइरहेको छ भने बाँकी ३० प्रतिशत रेडक्रसबाट ल्याउने गरेको प्रसूतिगृहका रक्तसंचार शाखा प्रमुख पर्शुराम दाहाल जनाउँछन् ।

दाहाल भन्छन्, ‘बिरामीको मागअनुसार हामीले रगत पु¥याउन सकेका छैनौँ । विभिन्न अस्पताल र बाहिरबाट पनि रगत खोजिरहेका हुन्छन् तर उनीहरुलाई दिन सक्ने अवस्था छैन ।’ अहिले मुख्यतः देशको संघीय राजधानी काठमाडौँ र विभिन्न जिल्लामा रगत अभाव भइरहेको छ । झण्डै ४० लाखभन्दा धेरै जनसंख्या बसोबास भएको काठमाडौँ उपत्यकासँगै विभिन्न जिल्लामा रगत अभाव हुँदै आइरहेको छ ।

यी तीन महिना हुन्छ रगत अभाव

विशेषतः असोज, कात्तिक र मंसिर तीन महिनामा अन्य समयभन्दा बढी रगत अभाव हुँदै आइरहेको छ । रगत अभाव हुँदा स्वास्थ्यमा विभिन्न समस्या भएका र रगत आवश्यक भएका व्यक्तिलाई धेरै समस्या हुने गरेको छ । उपचारत अस्पतालको रक्तसंचार विभागमा रगत पाउन निकै मुस्किल पर्छ । बिरामी तथा बिरामीका आफन्तहरु रगतको खोजीमा यो ३ महिना निकै भौतारिने गर्छन् ।

देशभर रगत उपलब्ध गराउने जिम्मा सरकारले नेपाल रेडक्रस सोसाइटीलाई दिएको छ । रगत संकलन तथा वितरणको लामो अनुभव भएको रेडक्रसले अहिलेसम्म रक्तदाताको खासै मन जित्न नसकेको होकि भन्ने विभिन्न ब्लड बैंकका व्यक्तिहरु नै जनाउँछन् ।

‘जसरी नागरिक रगत खोज्दै तड्पिन्छन्, त्यो तड्पाइअनुसार रेडक्रसले काम गरेको पाइन्न,’ रक्तसंचार शाखाका एक कर्मचारीले भने ।

रक्तदाता घटे : नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार विभागका निर्देशक डा. मनिता राजकर्णिकार अहिले चाडबाडका कारण लगातार बिदा परेको हुँदा रगत अभाव भएको जनाइन् । दशैँ, तिहार र छठजस्ता पर्वको लामो बिदा हुने हुँदा पनि रक्तदाताहरुको संख्या कम भएको उनको धारणा छ ।

पछिल्लो समय रगत अभाव हुनुमा रक्तदाताहरुको संख्या कम हुनु नै मुख्य रहेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले दैनिकजसो रक्तदानको कार्यक्रम संचालन गरिरहेका छौँ । जस्तै, दिनमा सय जना रक्तदाता हुनुपर्नेमा ४०÷५० जनामात्रै हुँदा देशैभर रगत अभाव भएको छ ।’

रेडक्रसका अनुसार अहिले दैनिक ५ हजार यूनिट रगत गइरहेको छ तर १० हजार यूनिट रगत उपलब्ध गराउन सकेमात्र रगत अभाव हुँदैन ।

डा.  राजकर्णिकार भन्छिन्, ‘नेपाल सरकारबाट राम्रो सहयोग भए पनि रगत अभाव हुँदै आएको छ, समस्याको दीर्घकालीन समाधानको लागि रक्तदाताको संख्या बढाउन जरुरी छ । नागरिकलाई रक्तदानको महत्व बुझाउन जरुरी छ ।’

एक जनाले वर्षमा ४ पटकमात्रै रक्तदान गर्न मिल्छ । त्यसमा पनि नियमित रक्तदान गर्ने कतिपयको स्वास्थ्यको कारणले गर्दा रक्तदान गर्न नमिल्ने हुन्छ । जसले गर्दा नियमित रक्तदान गर्ने व्यक्तिहरुको संख्या घट्दै गएको निर्देशक डा. कर्णिकारको अनुमान छ ।

नागरिकलाई रगतको महत्व, कस्तो व्यक्तिले रक्तदान गर्ने, कस्ताले नगर्ने, वर्षमा कति पटक रक्तदान गर्ने लगायतका सचेतना कार्यक्रम संचालन गर्न आवश्यक भएको उनी बताउँछिन् । यस्ता कुरामा सबैले चासो दिएमा केही हदसम्म भए पनि समस्या समाधान गर्न सकिने उनको धारणा  छ ।

रेडक्रसले पहल गर्नुपर्छ :  वर्षेनि आउने यस्ता समस्यालाई रेडक्रसले बेलैमा पहल गरेर समस्याको दीर्घकालिन समाधान खोज्नुपर्ने सरोकारवालाहरु जनाउँछन् ।  ‘अब बिदालाई बहाना बनाउन हुँदैन,’ प्रसूतिगृह ब्लड बैंकका प्रमुख दाहाल भन्छन्, ‘यदि बिदाकै कारण समस्या भएको हो भने रेडक्रसले अन्य विकल्प पनि खोज्न सक्नु पर्छ ।’

मानिसको जीवनरक्षामा महत्वपूर्ण भूमिका रहने रगतको जिम्मा रेडक्रसलाई दिएपछि सम्बन्धित संस्था नै समस्या समाधानको पाटोमा सशक्त रुपमा लाग्नुपर्ने उनले जनाए । अस्पतालहरुले पनि रक्तदानको कार्यक्रम नियमित संचालन गर्ने हो भने अभाव कम गर्न सकिने उनको धारणा छ ।

अन्तर्राष्ट्रिय संस्थाहरुको भरपुर सहयोग भएको हुँदा पनि रेडक्रसले अलि राम्रोसँग जिम्मेवारी निर्वाह नगरेको होकि भन्ने धेरैको अड्कलबाजी पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here