मुलुक दुई दलीय अभ्यासतर्फ उन्मुख भएकै हो कि विकल्प नदेखेको हो ?

101

– चन्द्रप्रकाश बानियाँ

उपनिर्वाचन समाप्त भयो । मतपरिणाम सार्वजनिक भएपछि समाजमा चढेको निर्वाचनको ज्वरो उत्रियो । निर्वाचन भनेको सधैं यस्तै हो । आउँदा केके न आयोजस्तो लाग्ने, समाप्त हँुदा ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भनेजस्तो । निर्वाचनपूर्व समाजमा देखिने उत्साह निर्वाचनको समाप्तिसँगै समाप्त हुन्छ । मतपत्रसँगै मतदाताको उत्साह, उमंग, इच्छा, आकांक्षा र आशा सबै ब्यालेटबक्समा बन्द हुन्छन् । जसरी देवताको नाममा अर्पण गरिएको हविष्यले यज्ञकुण्डबाट निःसृत धूँवा र गन्ध बनेर हविषदातालाई नै प्रतिकूल प्रभाव पार्दछ, त्यसरी नै मतदाताले ठूलो आशा अपेक्षासहित दान गरेको मतपत्रबाट उत्पन्न हुने नेताले उनीहरूको अपेक्षामा तातोपानी खन्याउने दुष्कर्म गरिदिन्छ । निरन्तर हुँदै आएको कुरा त्यही हो । तैपनि समाज चेत्दैन । सायद, चेतेर पनि उपयुक्त विकल्प पाउँदैन । व्यालेटबक्सले उपलब्ध गराउने सबै विकल्प उस्तै उस्तै हुन्छन् । खराबको विकल्पमा झन् खराब ! नयाँ विकल्प दिन्छु भनेर अघि सर्ने नयाँहरू पहिलेका भन्दा खराब हुन्छन् कि भन्ने लागेपछि मतदाताको उत्साह स्वतः ठण्डा भैदिँदो रहेछ । अझ यसो भनांैं, खराब सावित भइसकेको विकल्पमा आउने नयाँ अनुहार झन् खराब भइदिने हो कि भन्ने त्रासले पुरानैको पक्षमा उभिनुपर्ने बाध्यता समाजले अनुभूत गर्दो रहेछ । यस पटकको निर्वाचन परिणामले त्यही संकेत गरेजस्तो लाग्दछ ।

संयोगवश पूर्वसांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनाले रिक्त रहन गएको संसदीय निर्वाचन क्षेत्रमा मेरो घरडेरा पर्दो रहेछ । स्वभावतः निर्वाचनको पूर्वबेलामा घरछिमेकमा निर्वाचनकै बारेमा गफगाफ हुने नै भो । मतदाताहरूसँगको कुराकानीले उनीहरूको त्रास र बाध्यताग्रस्त मानसिकताको अध्ययन गर्ने मौका मिल्यो । मेरो मनमा गढेका एक÷दुईवटा प्रसंगहरू सार्वजनिक गर्नु अनुपयुक्त नहोला जस्तो लागेको छ ।

नगिचैको मतदान केन्द्रमा निर्वाचनको उपक्रम चलिरहेको बेलामा आफ्नै काममा व्यस्त भएका एकजना मतदातालाई ‘मत दिनु भो’ भनेर गरिएको प्रश्नमा आएको जवाफले आम मतदाताको वास्तविक मर्म ओकलेजस्तो लागेको थियो । उनले उत्साहविहीन भावमुद्रामा भनेका थिए ः दिएको छैन । दिने त होला नि । दिन्न भनेर पो कहाँ सुख पाइएला र ? घरघरमै मतदाता उठाउन आइहाल्छन् नि कार्यकर्ताहरू ? साँचो कुरा गर्ने हो भने मत दिने उत्साह छैन । कति दिनु ? केका लागि दिनु ? जस्लाई दिए पनि हुने केही होइन । फेरि आफूसँग त विकल्प पनि छैन । तीन÷तीन पटक रवीन्द्रलाई दिइयो । जिताइयो । यसपटक पार्टीले उनकै श्रीमतीलाई उठाएछ । अर्को पटक उनकै छोरालाई टिकट दिने होला । यो  वंशाणुगत राजनीतिको अभ्यास भएन र ? त्यसो हो भने राजसंस्था किन उन्मूलन गरेको हो ? गणतन्त्र किन ल्याइएको हो ? हामीजस्ताले बोलेको कसैले सुन्दैन । पक्ष फेर्न पनि सकिँदैन । आस्थालाई मत दिँदै आइयो । उम्मेदवारको अनुहार हेरिएन । पार्टीको नाममा भोट हाल्दै आइयो । यसपटक पनि मत हालिएला । चिन्न त रवीन्द्रले पनि व्यक्तिगतरूपमा हामीलाई चिन्दैनथे । उनकी श्रीमतीलाई त हामीले पनि चिनिँदैन । तैपनि भोट त दिने नै होला । जाँगर छैन । मन नरमाए पनि पार्टीको नाममा मत दिने नै होला । सरकारको काम मन परे पनि नपरे पनि विकल्प खोज्नेतर्फ सोचिएको छैन । अर्को उत्तम विकल्प पनि देखिँदैन । नेकपा छोडेर दिने काँग्रेसलाई होला । काँग्रेस पनि मुलुकले भोगे व्यहोरेकै हो ।

ती भाइ सानो खुद्रापसल गरेर जीविका धान्दै आएका व्यवसायी थिए । अर्का मजदूर नेतालाई ‘निर्वाचन कसले जित्ला’ भनेर सोधिएको प्रश्नको जवाफ भने अलि फरक थियो । उनी नेकपा सम्बद्ध मजदूर नेता रहेछन् । उनले भनेका थिए – यस क्षेत्रमा निर्वाचन कसले जित्ला भनेर सोध्नै पर्दैन । नेकपाले जसलाई उठाए पनि जित्छ । निर्वाचन त हामीले नै जित्छौं । पार्टीको इमानदार कार्यकर्ताको हैसियतले निर्वाचनमा पार्टीलाई जिताउन मरिमेटेर लागिएको छ । लाग्नै प¥यो । तर यसपटकको निर्वाचनमा कास्कीले नेकपालाई मत नदिनु राम्रो हुन्थ्यो । त्यसले देश र पार्टी दुवैको हित गथ्र्यो । नेकपाको सरकारले जनतालाई रिझाउन सकेको छैन । जनता सन्तुष्ट छैनन् । जनताले निर्धक्क भएर आफ्नो असन्तुष्टि मतपत्रमार्फत प्रकट गरिदिए पार्टीलाई शिक्षा हुन्थ्यो । सच्चिनुपर्ने, कार्यशैली परिवर्तन गर्नुपर्ने, जनपक्षीय कार्य गर्नुपर्ने चेतना दिने थियो । तर हामीले मतदातालाई त्यसो भन्न मिलेन । मतदाता नै त्यस्तो मुडमा छैनन् । पार्टीले जित्ने पक्का छ । तर त्यसले पार्टीलाई नयाँ ढंगबाट हिँड्नुपर्ने, कार्यशैली परिवर्तन गनुपर्ने शिक्षा नदिने भो । त्यसबाट देश त घाटामा पर्ने नै भो पार्टीले पनि सुध्रनुपर्ने चेतावनी नपाउने भो ।

फरक ढंगबाट प्रस्तुत भएका नेकपाकै शुभचिन्तक कार्यकर्ताहरूका भावनामा यथास्थितिप्रति असन्तुष्टि र चिन्ता थियो । विवशता थियो । मत दिने र मत माग्ने मन थिएन । मन रमाएको थिएन । पार्टी फरक ढंगबाट हिँडोस् भन्ने चाहना थियो, तर विद्रोह गर्ने हिम्मत थिएन । सायद, यो नेपाली समाजको साझा भावना हो । प्रतिनिधि विवशता हो ।

हुन पनि चुनाव सकियो । मत परिणाम सार्वजनिक भयो  । दुई वर्ष अगाडिको निर्वाचनरुझान अर्थात् जनमत दुरुस्त दोहोरिएन । धेरै ठाउँमा मतदाताले यथास्थिति रोजे । केही ठाउँमा विकल्प रोजिएको पनि देखियो । तर भैदियो के भने नेकपाको विकल्प खोज्नेले काँग्रेसलाई रोजे, काँग्रेसको विकल्प खोज्नेले नेकपालाई रोजे । काँग्रेसले हारेको ठाउँमा नेकपाले जित्यो, नेकपाले हारेको ठाउँमा काँग्रेसले जित्यो । अर्थात् यसको विकल्प ऊ र उसको विकल्प यो भनेजस्तो मात्र भयो । तेस्रो विकल्पतिर मतदाताको आँखा पर्दैपरेनन् । अरुलाई विश्वास गर्नै सकेनन् । नेकपा र काँग्रेसइतरका राजनीतिक दल र शक्तिहरूले जनताको विश्वास आर्जन गर्न सकेनन् । हामी केटाकेटी हुँदा हिउँद याममा गाईगोठहरू बेंसी झर्थे । फाँट फुक्ने भएकोले अनेक गोठका गाईवस्तुहर छासमिस हुन्थे । स्वभावतः भिन्न गोठका साँढेहरूको जम्काभेट हुँदा आपसमा लडाइँ चल्थ्यो । केटाकेटीहरूका लागि सर्वाधिक आकर्षणको विषय नै त्यही बन्थ्यो । डो¥याई डो¥याई दुईथरी साँढेलाई जुधाइन्थ्यो र रमाइलो हेरिन्थ्यो । ठूला साँढेहरू जुध्थे, साना बाच्छाबाच्छीहरू यृुद्धस्थल वरिपरि बुर्कुसी मारेर रमाउँथे । साँढेको लडाइँभन्दा हेर्नलायक उनीहरूको चेष्टा लाग्दथ्यो । हो, यसपटकको उपनिर्वाचनमा साझा, विवेकशील र पहाडतिरको समाजवादीको हालत पनि तिनै दुई साँढेबीचको जुधानवरिपरि बेअर्थमा उफ्रिपाफ्रि गर्ने साना बाछाबाछीहरूको जस्तै देखियो । निर्वाचनमा भाग लिएका भए नेकपा क्रान्तिकारीको हालत पनि साझाको भन्दा फरक हुँदैनथ्यो । धन्न बूढाहरूलाई तत्वबोधले सचेत बनाएछ र भाग नलिने निर्णय गरेका रहेछन् ।

हुन पनि हो । राणा, राजा र पञ्चायती निरंकुशताविरुद्ध लडेका पार्टीहरू काँग्रेस र कम्युनिष्टहरू नै हुन् । राजनीतिक क्षेत्रमा जे जति परिवर्तन र उपलब्धि भएका छन्, त्यसको श्रेय यिनै दलहरूलाई जान्छ । हो, यी गतिला सावित हुन सकेका छैनन् । यिनको विकल्पको दाबी गर्नेहरूसँग कुनै इतिहास पनि छैन, नयाँ कार्यक्रम पनि छैन । अनि जनताले के हेरेर विकल्प वा तेस्रो शक्ति भनेर दाबी गर्नेहरूलाई पत्याउन् त ? असल, क्रान्तिकारी र त्यागी भनिएका नेताहरू बिटुलिए । अर्थात् व्यवस्थाले यिनलाई बिगा¥यो । यही व्यवस्थामा हामी बिग्रँदैनौं भन्ने नयाँ विकल्पवालाका दाबी कसरी पत्याउने ? सिगरेट उत्पादन गर्ने मेसिनले सलाई बनाउँदैन भनेजस्तै नेतालाई बिगार्ने व्यवस्था नै खराब हो भने नयाँहरू कसरी सद्दे रहन सक्छन् र ? सुधार्ने, सपार्ने हो भने व्यवस्थाकै विकल्प चाहिने होइन र ?– जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here