–निशा तामाङ
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हाम्रो देश नेपाल, यहाँ रहेका विभिन्न जातजातिले मनाउने पर्व, भाषा र परम्पराले अझ सौन्दर्य थपिएको छ । नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी जहाँ विभिन्न कला , संस्कृति रितिरिवाज , परम्परा अनुरूप यहाँ बसोबास गर्ने विभिन्न जातिहरूले चाडपर्व जस्तै दशै, तिहार, छठ, यमोरीपून्हे, उधौलींउभौली, ल्होसार,माघे संक्रान्ति र होली लगायतका अन्य पर्वहरू मनाउँदै आएका छन् । भर्खरै मात्र गुरुङ समुदायले मनाउने सांस्कृतिक पर्व तमु ल्होसार भव्य रूपमा सम्पन्न भएको छ । गुरुङ जातिले मात्र नभएर ल्होसार नेपालको शेर्पा र तामाङ, मगर , थकाली, जिरेल , नेस्याङ्वा , भोटे , दुरा र लेप्चा लगायतका जातिले मनाउने गर्छन् । विभिन्न जातिले नयाँ वर्षको रूपमा मनाउने यो पर्व ल्होसारको आफ्नै सांस्कृतिक परम्पराको महत्व छ ।
‘ल्होसार’लाई धेरैले लोसर, ल्योसार, ल्होछार वा ल्होसार, विभिन्न नामले चिनिन्छ । ल्हो भन्नाले वर्ष तथा सार भन्नाले नयाँ भन्ने बुझाउँछ । पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै विभिन्न समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ । नेपालमा सदियौंदेखि विभिन्न जातजातिले आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरी ल्होसार पर्व मनाउँदै आइरहेका छन् ।
पुष शुक्ल प्रतिपदाका दिन तमु ल्होसार, माघ शुक्ल प्रतिपदाका दिन सोनाम र फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाइन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । यो दिन गुरुड्ड समुदाय एक ठाउँमा जम्मा भएर मिठामिठा परिकारहरू खाने, नयाँ वस्त्र लगाउने, नाँचनाँच गर्ने, एक आपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन् । ल्होसारको नयाँ वर्षमा हरेक वर्ष विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरूको प्रतिक स्वरूप रहने ल्होसार वर्षमा जसरी राशी वाह्र वटा हुन्छ त्यसैगरी १२ वटा वर्ग हुन्छ । ती वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र अनुसार थाहा पाउन सकिन्छ । जस अनुसार वर्ग यस प्रकारका छन् । बाघ वर्ग (तो ल्हो), बिरालो वर्ग (हि ल्हो), गिद्द वर्ग (मुप्री ल्हो), सर्प वर्ग (सप्री ल्हो), घोडा वर्ग (त ल्हो), भेंडा वर्ग (ल्हु ल्हो), बादर वर्ग (प्र ल्हो), चरा वर्ग (च्हया ल्हो), कुकुर वर्ग (खि ल्हो), मृग वर्ग (फो ल्हो), मुसा वर्ग (च्यु ल्हो), गाई वर्ग (ल्वोँ ल्हो) हो । जुन वर्ग जनवारको प्रतिकको नामसंग मिलेको हुन्छ त्यो वर्ष त्यही जनवारको आनीवानी, हाउभाउ, उसको रुची, व्यवहारसँग मिल्दो जुल्दो हुन्छ भन्ने धार्मिक मान्यता छ।
२१ औं शताब्दीमा नेपाली पहिचान भएका विभिन्न जातजाति समुदायहरूबीच एकता सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्गको सहमतिको आवश्यकता छ । साँस्कृतिक पहिचानसँगै हक अधिकार स्थापित गर्नका लागि पनि ल्होसारको आफ्नो बेग्लै महत्व छ । र यसको महत्वबारे सबैले बुझ्नु जरुरी छ ।– samarianisu@gmail.com -जनधारणा साप्ताहिक


















