‘लू’ का कारण बालबालिका बढी प्रभावित

32

नेपालगञ्ज। गत केही दिनयता नेपालगञ्जमा अत्यधिक बढेको गर्मी र नियमित चल्ने तातो हावा ‘लू’ का कारण बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रचण्ड गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको स्थानीय अस्पतालहरूले जनाएको छ । हाल उपचारका लागि अस्पताल पुग्ने बालबालिका बढ्दै गएको समेत चिकित्सकहरूको भनाइ छ ।

स्थानीय कान्ति आरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा. रोमा बोराले गर्मीकै कारण बिरामी बालबालिका दैनिक २५ देखि ३० जनासम्म उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरैजसो बालबालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको समस्या देखिएको छ ।

डा. बोराले खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बढी बिरामी परेको पाइएको बताउनुभयो । उहाँले बालबालिकालाई घरबाट बाहिर निस्कन नदिने, सकेसम्म माक्स लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने र झोलिलो कुरा खुवाउनु पर्ने सुझाव दिनुभयो ।

यस्तै, अर्का स्थानीय बालरोग विशेषज्ञ डा. शकील अहमदले अहिलेको गर्मीबाट रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका बढी प्रभावित भएको बताउनुभयो । उहाँले विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको जनाउनुभयो ।

डा. अहमदले मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने जनाउँदै अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्ने सुझाव दिनुभएको छ ।

सोही प्रकारले भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित बनेका ५० भन्दा बढी बालबालिका अस्पतालको ‘ओपिडी’ मा दैनिक उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार तीमध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् ।

त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ डा. विष्णुकुमार थापाका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित हुने बालबालिकाको सङ्ख्या दिनदिनै बढ्दै गएको बताउनुभयो । उहाँले विद्यालय बन्दले बिरामी हुनेको सङ्ख्या घटेको जनाउँदै अझै केही दिन बिदा दिनुपर्ने बताउनुभयो ।

अत्यधिक गर्मी बढेपछि अहिले बाँकेका अधिकांश विद्यालय बन्द गरिएका छन् । गर्मी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, जानकी र डुडुवा गाउँपालिकाका विद्यालय शनिवारसम्मका लागि बन्द गरिएका छन् ।

विद्यालय बन्द गरिएपछि बालबालिकालाई घरभित्र राख्न सहज भएको अधिकांश अभिभावकले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here