काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रमा २०७२ साल असोज २२ देखि २०७३ माघ २३ सम्म तालिमे सिपाहीको तलब भत्तामा अनियमितता भएको आशंकामा अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालयले उक्त तालिम केन्द्रमा करिब ३१ लाख रूपैयाँ अनियमितता भएको छानबिन प्रतिवेदन अख्तियारलाई पठाएपछि छानबिन प्रक्रिया थप अघि बढेको हो ।
उक्त केन्द्रमा आर्थिक अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको थियो । सचिवालय अन्तर्गतको प्रहरी निरीक्षणालयले दूधौली तालिम केन्दू र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट कागजात झिकाएर छानबिन गरेको थियो । हालको भरतपुर शिक्षालयमा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र थियो । त्यसबेला भरतपुर तालिम केन्द्रलाई जुनियर प्रहरी अधिकृत शिक्षालय कायम गरी सिन्धुलीको दुधौलीमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सारिएको थियो ।
उक्त तालिमकेन्द्र सर्नेबित्तिकै तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) महेशविक्रम शाहले समादेशकको जिम्मेवारी पाएका थिए । हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशबिक्रम शाह । अहिले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत छन् । उनले तीस वर्षे सेवा हदका कारण केही दिनमै अवकाश पाउँदै छन् । तत्कालीन केन्द्रमा लेखापाल हाल जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र प्रसाद पनेरु थिए ।
अख्तियारसम्बद्ध उच्च स्रोतका अनुसार अन्यत्र दरबन्दी भएका रिक्रुट जवानको नाममा दुधौली तालिम केन्द्रबाट तलबभत्ता र राशन बापतको रकम निकासा गरेर करिब ३१ लाख रूपैयाँ भ्रष्टाचार गरेको छानबिनमा खुलेको छ । थप कारबाहीको लागि प्रहरी प्रधान कार्यालयले सम्पूर्ण विवरण सहितको छानबिन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
प्रतिवेदन अनुसार २०७२ माघ र फागुन महिनामा सयभन्दा बढी रिक्रुट प्रहरी जवानहरूले आफ्नो तलबभत्ता र रासन सम्बन्धित दरबन्दीबाट बुझेका छन् । तर डीआईजी शाह र लेखापाल पनेरुले त्यसबेला मध्य क्षेत्रीय तालिम केन्द्रबाट दुई महिनाको (२०७२ माघ र फागुन) दोहोरो तलब निकालेर नक्कली फाँटवारि खडा गरेर अनियमितता गरेको भेटिएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ ।
यद्यपि, डीआईजी शाहले उक्त आरोप निराधार रहेको र आफूले आर्थिक अनियमितता नगरेको जनाएका छन् । तालिमे सिपाहीको तलब भत्ता र रासनमा अनियमितता गरेको भन्ने विषय आफूले कल्पना पनि गर्न नसक्ने उनको धारणा छ । ‘यस बारेमा मलाई कतैबाट सोधिएको पनि छैन, मलाई जानकारी पनि छैन,’ उनले भने ।


















