जम्मु–काश्मीर विवादले दक्षिण एसियामा युद्धको बढ्दो सम्भावना

154

–प्रीति रमण

यही जनवरी ५ तारिखका दिन काठमाडौंस्थित पाकिस्तानी दूतावासले एउटा निकै महत्वपूर्ण अन्तरक्रियाको कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा पंक्तिकार पनि अतिथिका रूपमा सहभागी हुने अवसर प्राप्त भएको थियो । २५ जना लेखक र पत्रकारहरूको उपस्थितिबीच भएको सो अन्तरक्रिया कार्यक्रमको विषय पाकिस्तान र भारतबीच उत्पन्न भएको तनावले दक्षिण एसियाली क्षेत्रलाई अशान्त बनाइरहेको विषयमा केन्द्रित थियो । खासगरी जम्मु–काश्मीर मुद्दामा भारत र पाकिस्तानको मेलमिलाप हुन नसक्नु यो क्षेत्रका लागि नै अशान्ति र दुर्गतीको कारण भएको मत लगभग सबै सहभागीहरूको रह्यो । यी दुई देशबीचको तनावले जम्मु–काश्मीरका जनता भारत सरकारका तर्फबाट बन्धक जस्तै बन्नु परिरहेको यथार्थबीच संयुक्त राष्ट्रसंघले समेत यो विवादको समाधानका निम्ति जनमत संग्रह नै विकल्प भनिरहेको अवस्थाले दुवै देशले यो सवालमा सहमति जनाउन आवश्यक छ भन्ने अन्तरक्रियामा सहभागीहरूको निष्कर्ष रह्यो । यी दुई देशबीच मेलमिलाप हुने हो भने यो क्षेत्रको शान्तिमा प्रगति हुने छ भने विकासले अवश्य पनि फड्को मार्ने देखिन्छ ।

‘युद्ध’ मानव जातिले सधैं नचाहेको तर हुँदै आएको सबैको साझा समस्या हो । विश्वमा भयंकर ठूला युद्धहरू भए । सानातिना आन्तरिक गृहयुद्ध र मतभेद अहिले पनि भइरहेका छन् र नहोस् भन्ने कामना गर्दा गर्दै सायद भविष्यमा पनि हुने नै छन् । युद्धको क्षति अवर्णनीय छ , पीडादायी छ । यसले सिंगो मानव सभ्यतालाई नै प्रहार गर्दछ । वर्षौंसम्म नमेटिने घाउ दिएर जान्छ । तर पनि विभिन्न मतभेदले वर्तमान विश्वमा युद्धको उन्माद र जोखिमहरू बढिरहेका छन् । पछिल्लो पटक यस्तै जोखिम सृजना गरेको छ, इरान र अमेरिकाको बढ्दो तिक्तताले ।

हालै मात्र अमेरिकी सेनाले ड्रोन आक्रमणबाट इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्या गरेको छ । यो किन पनि हत्या हो भने सुलेमानी कुनै आतंकवादी संगठनका नेता होइनन् । उनी त एउटा सार्वभौमसम्पन्न देशका सैनिक कमाण्डर थिए । त्यसमाथि यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनक र राजनीतिक स्वार्थको कारण भएको थियो । अमेरिकाले अहिलेसम्म पनि सुलेमानीको हत्या गर्नुमा कुनै चित्तबुझ्दो जवाफ दिएको छैन । त्यसैले पनि यो सरासर मानव अधिकारका विरुद्धमा ठूलो आक्रमण हो भन्दा फरक पर्दैन । अमेरिकाले आफू शक्तिशाली राष्ट्र हुँ भन्दैमा अन्य देशमाथि थिचोमिचो गर्न पाउँदैन । तर, उसले वर्षौंदेखि विश्वमा मनोमानी गर्दै आएको छ । अमेरिकाको मानव अधिकार विरोधी यस्ता कदम घृणित र घोर भत्र्सनायोग्य छन् ।

अमेरिका र इरानको तिक्तताले कतै युद्धको आगो सल्काउने त होइन भन्ने आशंका सृजना भएको छ । इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने बताएको छ । इरानका प्रधानमन्त्रीले त्यहाँको राष्ट्रिय टेलिभिजनबाट नै अमेरिकाको कदमको विरुद्धमा जाइलाग्ने चेतावनी दिएका छन् । त्यसको प्रत्युत्तरमा ट्रम्प प्रशासनले पनि इरानका विभिन्न महत्वपूर्ण २२ स्थानहरू ध्वस्त पार्ने धम्की दिएको छ । यसले पनि युद्धको जोखिम बढाएको हो ।

हुन त मध्यपूर्वी एसियाली देशहरू केही वर्षयता युद्धको आगोले सखापै भएका छन् । लेबनान, इराक र सिरियाजस्ता देशहरू युद्धको चपेटामा परेर जर्जर भएका छन् । यहाँका लाखौं नागरिकहरू अन्य देशमा शरणार्थी बन्नुपरेको छ । परिवारहरू तितरबितर भएका छन् । युद्धकै कारण यहाँका कैयौं सम्पन्नशाली नागरिकहरू पनि नारकीय जीवन भोग्न बाध्य भएका छन् । अब त्यो युद्धको आगो कतै इरानमा पनि सर्ने त होइन भने आशंका बढाएको छ । ट्रम्प प्रशासनले इरानसँग गरेको शान्ति सम्झौता एकपक्षीय रूपमा तोडेसँगै अहिलेको देखिएको तिक्तता बढेको छ । यदि युद्ध भइहालेमा त्यसले इरानलाई धेरै असर गर्ने नै देखिन्छ । तर विश्व पनि प्रभावित हुने निश्चित छ ।

यस्तै तिक्तता दक्षिण एसियामा पनि देखिन्छ । दक्षिण एसियाका दुई राष्ट्र भारत र पाकिस्तानबीच बेलाबेलामा सीमाक्षेत्रमा भीडन्त हुने गरेको छ । यसको एउटै कारण विवादित जम्मु काश्मीर भूमि हो । उक्त भूमिलाई आफ्नो दाबी गर्दै आएको भारतले जम्मु काश्मीरमा पाकिस्तानमा आश्रय बनाएर विभिन्न आतंकवादीले घूसपैठ गरेको आरोप लगाउँदै आएको छ । पाकिस्तानले भने जम्मु काश्मीरमा युद्ध होइन, जनमतसंग्रहको माग गर्दै आएको छ । तर, भारतले भने उक्त प्रस्ताव अस्वीकार गर्दै आएको छ । सोही कारण पनि दुई देशबीच वर्षौंदेखि विवाद हुँदै आएको छ । जब कुनै छिमेकीबीच झगडा पर्छ, तब बाहिरका व्यक्तिहरूले खेल्ने मौका पाउँछन् । भारत र पाकिस्तानको मतभेदमा पश्चिमा राष्ट्रहरू विशेषगरी अमेरिकाले खेल्ने मौका पाइरहेको छ ।

यस विषयलाई शान्तिपूर्वक हल गर्न आवश्यक छ । जम्मु काश्मीरका जनतालाई आत्मनिर्णयको अधिकार सुम्पनुपर्छ । त्यसका लागि नेपाललगायत अन्य दक्षिण एसियाली राष्ट्रहरूले एकजुट रूपमा पहल गर्ने हो भने समाधान हुन सहज हुन्छ । यसरी यही विषयमा विवाद रहिरहने हो भने यसले युद्धको खतरा निम्त्याउने निश्चित छ, जुन विषय कुनै पनि राष्ट्रका लागि प्रिय हुँदैन । जसरी आज मध्यपूर्वमा एउटा देशबाट सुरु भएको आगोको लप्काले अन्य देशलाई असर गरिरहेको छ, त्यसैगरी भोलि जम्मु काश्मीरको विवादको आगोले अन्य दक्षिण एसियाली राष्ट्रलाई पनि नछोला भन्न सकिँदैन ।

अमेरिकाले पछिल्लो समय अन्य राष्ट्रमाथि हस्तक्षेप गर्दै आफ्नो स्वार्थ पूरा गरिरहेको छ । विभिन्न देशमा सहयोगका नाममा सैन्य क्याम्प खडा गर्ने, क्याम्प खडा गर्न नदिए युद्धको वातावरण सृजना गर्ने, शक्तिशाली हुँदै गएका राष्ट्रलाई दमन गर्न खोज्ने र कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम अमेरिकाले गर्दै आएको छ । पछिल्लो समय नेपाली भूभाग पनि चीनविरोधी गतिविधि गर्न सकिने अमेरिकाको रणनीति बनेको चर्चा नेपाल भित्रै व्यापक भइरहेको छ । त्यसैले आफ्नो इन्डो–प्यासिफिक रणनीतिअन्तर्गको एमसीसी योजनालाई लागू गर्न अमेरिकाले प्रयास गरिरहेको छ । सहयोगको नाममा सैन्य क्याम्प खडा गर्न खोजिएको हो भने त्यो निर्विवाद रूपमा अस्वीकार गरिनुपर्छ । इरानसंगको विवाद बढेपछि इराकमा उपस्थित अमेरिकी सेना फिर्ता  जान इराकको संसदले निर्णय गर्दा अमेरिकाले जुन किसिमको हठ देखाएको छ, यस्तै अवस्था भोलि नेपालले भोग्नु नपर्ला भन्न सकिदैन । समयमै सचेत बन्न जरुरी छ । –जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here