-जापान प्रतिनिधि
टोकियो / तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोकियोमा सुरु भएको छ । आज शनिवार र आइतवार चल्ने सो सम्मेलनको जापानका लागि राजदूत प्रतिभा राणाले उदघाटन गर्नुभयो । सामुहिक राष्ट्रिय गानसहित उदघाटन गरिएको सो सम्मेलनमा ९ राष्ट्रका १३ च्याप्टरको सहभागिता रहेको छ ।
अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको सो सम्मेलनको उदघाटन सत्रमा कार्यक्रम संयोजक तथा अनेसास जापानका निबर्तमान अध्यक्ष दीप पाठकको स्वागत मन्तब्य रहेको थियो भने सम्मेलनको उद्देश्य एवं औचित्यका बारेमा अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले प्रकाश पार्नुभएको थियो । सो अवसरमा गायक तथा सर्जक रामकृष्णबम मल्लले ’मुटुभित्र नेपाल छ कि नेपालभित्र मुटु’ बोलको राष्ट्रिय गीत गाएर राष्ट्रिय भावना जागृत गराउनुभएको थियो ।
लगत्तै विभिन्न वक्ताहरुले सम्मेलन सफलताको कामना गर्दै शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्य दिनेहरुमा एनआररएन आइसीसीका निवर्तमान अध्यक्ष भवन भट्ट, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, पूर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, पूर्व केन्द्रिय अध्यक्ष तथा ट्रष्टी मोहन सिटौला, एनआरएन जापानका अध्यक्ष देबिलाल भण्डारी, एनआरएन आइसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, त्रिवित्रि उपप्राध्यापक महेश पौड्याल, निवर्तमान केन्द्रिय अध्यक्ष तथा ट्रष्टी पदम बिश्वकर्मा, जापानी नागरिक हारुहितो नोजु, एनआरएन एशिया युवा संयोजक दीपक कँडेल लगायतका
थिए ।
उदघाटन समारोहमा विभिन्न मुलुकका स्रष्टाहरुद्वारा प्रकाशित करीव एक दर्जन जति पुस्तकहरुको विमोचन गरिएको थियो भने नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गरेबापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सो समारोहमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाली भाषा, साहित्य र वाङ्मयको उत्थानका लागि अनेसासले चाल्ने हरेक कदममा नेपाली राजदूतावासको सँधै सहकार्य रहने बताउनुभयो । यसैगरी संक्षिप्त समापन मन्तब्य राख्दै सभाध्यक्ष राधेश्याम लेकालीले अनेसासको साहित्यिक यात्रामा च्याप्टर सम्मेलनको यो तेस्रो शृङ्खलाले थप ऊर्जा मिल्ने अपेक्षा गरिएको जनाउनुभयो ।
उदघाटन सत्र लगत्तै अनेसासका केन्द्रिय उपाध्यक्ष आचार्य राजन शर्मा, अष्ट्रेलिया (भिमसेन सापकोटा) को उत्प्रेरणा र जागरण बिषयक प्रवचन रहेको थियो भने त्यसपछि विभिन्न मुलुकका च्याप्टरहरुबाट सहभागी प्रतिनिधि सर्जक तथा स्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।
उदघाटन सत्रको अनेसासका केन्द्रिय महासचिव गणेश घिमिरे र जापान च्याप्टरका महासचिव रबिन शर्माको सञ्चालन रहेको थियो।



















