–प्रीति रमण
यस बर्ष पनि मधेश आन्दोलनमा सहादत प्राप्त गरेका योद्धाहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । कार्यक्रममा सहभागी हुँदा ती ज्यान गुमाएकाहरूको सम्झनाले निकै तरंगित बनायो । कस्तो परिवर्तनको सपना देखेर युवाहरू आन्दोलनमा होमिएका थिए भन्ने कुरा कमसेकम मधेशी जनताका नेता बन्न पाएका र लाभ हासिल गर्न पाएकाहरूले बुझ्नु पर्ने र संगठित बन्नु पर्ने अवस्था हो । कोही मधेशलाई छुट्टै राष्ट्र बनाउने गफ दिदै नेता बनिरहेका छन् भने कोही यथास्थितिलाई नै मलजल गर्दै शहीदहरूको अपमान गरिरहेका छन् । तराई मधेशका जनताको हालत हिजोका दिनहरूमा जस्तो थियो आज पनि त्यस्तै छ, अर्थात शहीदहरूको रगतको मुल्य बुझ्न सकिएको छैन जस्तो लाग्छ ।
हालै मात्र तराईका केही जिल्लाबाट उखु किसानहरू चिनी उद्योगीबाट भुक्तानी नपाएको भन्दै काठमाडौं आए । वर्षौंदेखि उनीहरूले चिनी मिललाई उखु दिँदै आए पनि त्यसको भुक्तानी भने पाएका थिएनन् । उनीहरू पहिलोचोटि भुक्तानी माग्दै काठमाडौं आएका होइनन्, यसअघि पनि विभिन्न समस्या लिएर काठमाडौं नै धाइरहेका छन् । उखु किसानलाई राज्यले केही दिनभित्र भुक्तानी पाउने आश्वासन दिएर पठायो । यद्यपि, त्यो भाका सकिएको छ, तर उखु किसानले अझै पूरा भुक्तानी पाएका छैनन् ।
त्यसलगत्तै तराईवासी केही सर्वसाधारण मिटरब्याजी साहुले आफ्नो घरखेत नै कब्जा गरेको गुनासो लिँदै काठमाडौंका नेताका कोठाकोठा चहार्न पुगेका छन् । वर्षौं प्रयास गर्दा मात्र उनीहरूले ती नेताहरूलाई गुनासो पोख्न पाएका थिए । त्यस पश्चात् मात्र नेताहरूले केही ठाउँमा फोन घुमाए, मिटरब्याजका आरोपीलाई पक्राउ गर्न निर्देशन दिए ।
माथिका यी दुई घटनाले तराईवासीहरूको डर लाग्दो पीडालाई उजागर गरेको छ । विभिन्न समस्याले तराईबासीहरू पीडित छन् भन्ने कुरा सबैलाई जानकारी छ । तर यसरी शोषित होलान् भन्ने कुरा सायदै अनुमान कसैले गरेको थियो । साथै, किसानहरूको समस्या समाधान गर्न काठमाडौं नै आउनुपर्ने र नेताहरूकोमा धाउनुपर्ने दुर्दशालाई पनि स्पष्ट पार्छ । नेताहरूको पाउमा नपरे उनीहरूको समस्या नै समाधान नहुने गरेको यो लज्जाजनक दृष्टान्त हो ।
सधैंजसो राज्यको उपेक्षामा पर्दै आएको तराई मधेशमा यिनै कारणले मधेश आन्दोलन चर्किएको थियो । तराई मधेश सुगम ठाउँ भए पनि यहाँ विकास हुन सकेको छैन । राज्यले यहाँका समस्या समाधान गर्न कहिले पनि चासो देखाएको छैन । तराईका केही जिल्लाका ठाउँहरूमा विकास भएको पाउन सकिन्छ । तर, भित्री बस्तीहरूमा अहिले पनि जनता रोग, शोक र भोकका कारण पीडित छन् । उनीहरूसँग दुई छाक खान र शरीरमा लगाउने कपडा छैन । यस्तै विषयलाई एजेन्डा बनाएर मधेश आन्दोलन सुरु भएको थियो । मधेश आन्दोलनले राज्यलाई सहमतिको बाटोमा ल्याउन बाध्य बनायो । यी आन्दोलनबाट अहिलेका समाजवादी पार्टी र राजपा जस्ता पार्टीहरू उदाउन सफल भए । यिनै पार्टीबाट पटकपटक नेताहरू सरकारको मन्त्री तथा उच्च ओहोदामा पुग्न सफल भए । यी पार्टीका मात्र नभई अन्य दलका मधेशी नेताहरूले पनि सत्ताको स्वाद चाख्न पाए । तर मधेशबासी जनताको अवस्था झनपछि झन गुज्रदो छ । त्यसैले सहिदहरूको रगतमा सत्तारोहणलाई मात्र नहेर मधेशी नेताहरू !
मधेश आन्दोलन यताका एक दशकमा जनताले कुनै ठूलो उपलब्धि हासिल गर्न सकेका छैनन् । उनीहरूका दैनिक समस्याहरू त छँदै छन् । त्यसमाथि भारतले सीमा अतिक्रमण गरी आफ्नो घरखेत जाने पीडा पनि थपिएको छ । बर्षायाममा बाढी, डुबान र लूका समस्या र जाडोमा शीतलहरले सताउँदै आएको छ । यी समस्याहरू समाधान गर्नका लागि भनेर नै विशेषगरी मधेशवादी दलहरूको जन्मिएका थिए । तिनै दलका नेताहरूलाई विश्वास गरेर यहाँका जनताले भोट दिएका थिए । अहिले प्रदेश नम्बर २ मा पनि मधेशवादी दलकै गठबन्धनमा सरकार बनेको छ । तर, जनताको पीडा भने सम्बोधन गर्न सरकार असक्षम देखिएको छ ।
पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी होस् वा महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरूले नेतृत्व गरेको राजपा होस्, उनीहरूले मधेशको एजेन्डालाई आफ्नो पार्टीले बोकेको दावी गर्दै आएका छन् । उनीहरूले मधेशलाई आफ्नो राजनीतिको केन्द्रविन्दु रहेको बताउँदै आए पनि मधेशी जनताको हितका लागि भने कुनै ठोस् काम गर्न सकिरहेका छैनन् । सरकारबाट काम गर्न नसकेकै कारण समाजवादी पार्टी सरकारबाट अलग भए लगत्तै राजपाले सरकारमा जाने तयारी गरेको छ । मधेशी जनताको नाम भजाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने, आफूहरू सधैंजसो सत्ताको ‘स्वाद’ लिइरहने र पदप्रतिष्ठा आर्जन गर्ने मात्र खेलमा मधेशी नेताहरू लिप्त भएका देखिन्छन् । यो दुर्भाग्यपूर्ण अवस्था हो ।
विगतदेखि नै तराई मधेश राज्यको दृष्टिबाट टाढा रहँदै आएको छ । भौगोलिक रूपले सुगम भए पनि शासकको दृष्टिमा दुर्गम रहँदै आएको तराई–मधेशमा खासै विकास हुन नसक्नुको कारण के हो भन्ने कुरामा सबै मधेशी नेताहरू एक मत हुन जरुरी छ । पहाडको कैयौं विकट स्थानभन्दा तराईको शिक्षा, स्वास्थ्य र रोजगारीलगायत क्षेत्रको अवस्था अत्यन्त नाजुक रहेको पाइन्छ । यहाँका नागरिक धेरैजसो वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्ने गरेका छन् । पछिल्लो लोकतान्त्रिक आन्दोलनपश्चात् मात्र मधेशको अधिकारको विषय केन्द्र स्तरमा उठ्न थालेको हो । केही मधेशवादी दलले मधेशको वास्तविक अवस्था बाहिर ल्याउन र अधिकार प्रत्यायोजन गर्न गरेको प्रयास तारिफयोग्य छ । त्यही कारणले सत्तामा बारम्बार सहभागी हुने मौका पनि मधेशवादी दलहरूले पाउँदै आएका छन् । त्यतिमात्र नभई मधेशकै नागरिकहरू यो मुलुकको पहिलो राष्ट्रपति र उपराष्ट्रपति बन्ने सौभाग्य पनि मिल्यो । मधेशी रामकुमार शाह र मधेशवासी सुशीला कार्की प्रधानन्यायाधीशसम्म पुगे । थुप्रैपटक मधेशका नेता उपप्रधानमन्त्री तथा विभिन्न महत्वपूर्ण मन्त्रालयका नेतृत्वमा पनि पुगे । तर, सोहीअनुरूप मधेशको विकास हुन सकेको छैन । यहाँका जनताको जीवनस्तर माथि उठ्न पनि पटक्कै सकिरहेको छैन । मधेश आन्दोलनका बेला यहाँका सयौं नागरिकले आफ्नो ज्यान उत्सर्ग गरेका छन् । तर, तिनीहरूलाई देखाइएको सपना अझै पूरा हुन सकेको छैन । – ramanpreeti033@gmail.com – जनधारणा साप्ताहिक


















