–राज्यलक्ष्मी शाक्य
विश्वका केही देशमा अहिले कोराना भाइरसको संक्रमण बढ्ने चिन्ता देखिएको छ । यो भाइरसको संक्रमण भने हाम्रै छिमेकी देश चीनबाट सुरु भएको हो । त्यसैले नेपालमा पनि यो भाइरसको संक्रमण भयावह बन्ने हो कि भन्ने आशंका छ । अहिले केही व्यक्तिमा यो भाइरसको संक्रमण देखिएको सञ्चारमाध्यममा समाचार आइरहेको छ । कोरोना संक्रमणको आशंकामा केही व्यक्तिलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको समाचार पनि सार्वजनिक भएको छ ।
चिकित्सकका अनुसार यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । तर नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ चीनमा । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरूसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । यसको बारेमा अहिलेसम्म पनि त्यति स्पष्ट हुन सकेको अवस्था छैन । अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन । अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेकोमा यो नयाँ भएकाले भन्न नसकिएको चिकित्सकहरूको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ । विश्व स्वास्थ्य संगठनले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिए पनि यसको बारेमा मानिसहरू अनविज्ञ नै छन् । यो सर्छ भनेर आधिकारिक रूपमा भनिएको छ । तर कति छिटो सर्छ वा कस्तो व्यक्तिलाई चाँडो सर्छ भन्ने थाहा भइसकेको छैन । यो कुन भाइरस हो ? कसरी सर्छ ? यसले मानिसहरूमा कस्तो असर पार्छ ? यसको ‘ओरिजिन’ के हो ? रोगको प्रकृति कस्तो हुन्छ? भन्ने सबै कुराहरू पत्ता नलागेका कारण अन्दाजकै भरमा भनिएका छन् । नाम दिइसके पनि यो ‘मिस्टेरीयस’ रोग रहेको चिकित्सकहरूको भनाइ छ ।
मुलुकमा भारतपछि सबैभन्दा बढी पर्यटक चीनबाट नै आउँछन् । अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०१९ मा चीनबाट १ लाख ५१ हजार २ सय चिनियाँ पर्यटक नेपाल आएका थिए । अझ अहिले चीनमा नयाँ वर्ष भएकाले जनवरी महिनाको तेस्रो सातादेखि मार्चसम्म उनीहरूले धेरै घुमफिर गर्छन् । चिनियाँहरू यही समयमा बढी मात्रामा नेपालसमेत आउने भएकाले नेपालले सतर्कता अपनाउनुपर्ने देखिन्छ । छिमेकी राष्ट्र भारतको स्वास्थ्य मन्त्रालयले समेत नोभल कोरोना भाइरसको सम्भावित संक्रमणको आँकलन गर्दै आफ्ना विमानस्थलहरूमा चीनबाट आउनेहरूमा ज्वरो रहेरनरहेको बारे जान्न ‘थर्मल स्क्यानर’ बाट जाँच गर्न निर्देशन दिएको छ ।
तर, नेपालमा संक्रमण देखिए पनि यसको रोकथामको लागि आवश्यक उपकरण र उपचारको अभाव भएको बुझिएको छ । विमानस्थलमा नै पछि यात्रुको जाँच गर्ने अत्याधुनिक स्क्यानरहरू नरहेको पाइएको छ । यसले यो संक्रमण लागेका व्यक्ति पनि सहजै नेपाल प्रवेश गर्न सक्ने जोखिम बढेको छ । हालै मात्र चीनको वुहानबाट फर्केका नेपाली विद्यार्थीमा ज्वरोलगायतका लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अन्य बिरामीभन्दा छुट्टै चिकित्सकीय निगरानीमा समेत राखिएको समाचार सार्वजनिक भएको थियो । ती शंकास्पद बिरामीको घाँटीको ¥याल र रगतको परीक्षण गर्न नेपालमै उपकरण नहुँदा हङकङ पठाइएको थियो । नेपालमा हालसम्म नोभल कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नै बन्न सकेको छैन ।
स्वास्थ्य क्षेत्रमा थुप्रै काम गर्नुपर्ने यस्ता अवस्थाले सिकाउँदै आए पनि सरकारले पनि उल्लेखनीय काम गर्न सकेको छैन । केही महिना अगाडि डेंगुले सर्वसाधारणको ज्यान जाँदा नियन्त्रणको काम प्रभावकारी हुन सकेको थिएन । अहिले कोरोना भाइरसको संक्रमण बढ्ने हो कि भन्ने चिन्ता बढ्दा यसको संक्रमणको उपचार गर्ने उपकरण अभाव छ । नेपालले यो संक्रमणलाई भयावह हुन नदिन आवश्यक कदम चाल्न ढिलो गर्नुहुन्न ।
साथै सर्वसाधारण पनि कोरोना भाइरसबाट बच्न सचेत हुन आवश्यक छ । त्यसका लागि हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने, खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोप्ने, चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बच्ने, मासु र अण्डालाई पकाएर खाने, जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बच्नेलगायत उपाय चिकित्सकले सुझाएका छन् । – जनधारणा साप्ताहिक

















