काठमाडौं / पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरेलु कामदार विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।
ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए ।
पूर्वसचिव कार्कीले मंगलवार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । उनका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ । किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले जनाएका छन् ।
महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

















