पृतनापति समन्वयात्मक बैठक २०७६ समापन

171

काठमाडाैं – जङ्गी अड्डामा फाल्गुन ४ गते माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठकआज फाल्गुन ६ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले समापन गर्नु भएको  छ ।

धानसेनापति महारथी थापाले समापन मन्तव्य राख्‍नु हुँदै संगठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि कमाण्ड प्रतिवद्धता, नेतृत्व संवाद, त्रैमासिक रोलकल, सिपाहीका साथ प्रधानसेनापति, निरीक्षण, अनुगमन र प्रतिवेदन, पृष्ठपोषण प्रणाली, फिल्ड सर्वेक्षणहरु, सुझाव तथा शिकायत पेटिका जस्ता संयन्त्रहरु प्रयोगमा ल्याइएका छन् भने नीति नियमहरु परिमार्जन गर्ने र आवश्यक नयाँ नीति नियम तयार गर्ने कार्य निरन्तर भइरहेका उल्लेख गर्नु भयाे । राष्ट्रिय स्वार्थ र हितका विरुद्ध हुनसक्ने कुनै पनि गतिविधी हुन नदिनु र भइहाले पनि परिस्थितिलाई नियन्त्रणमा लिन प्रतिक्रियात्मक क्षमतासहित तयार रही राष्ट्रिय सुरक्षा सबल बनाउनु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भएकोले सो कार्यको लागि सदैव तयारी हालतमा रहनु पर्ने समेत निर्देशन दिनु भएको थियो । मन्तव्यकै क्रममा उहाँले नेपाली सेनासँगको श्रोत र एकिकृत क्षमताको पक्षलाई हामीले संगठनको दीर्घकालीन हित हुने तवरले सोच्ने, अवधारणाको विकास गर्ने र कार्यान्वयनको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बाहिर आउनुपर्ने जनाउनुभयाे । साथै उहाँले “महाशिवरात्री तथा सेना दिवस २०७६”को उपलक्ष्यमा हार्दिक बधाई दिनु हुँदै आगामी दिनहरुमा समेत उच्च हौसलाका साथ सबै तहका कमाण्डरहरुले मातहतलाई समेत अभिप्रेरित गरी कार्य सम्पादन गर्न निर्देशन दिनु भएको   थियो ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत भएको थियो । उक्त बैठकमा पि.एस.ओज रथीबृन्द, पृतनापतिहरु तथा अन्य रथीबृन्दहरु समेत सहभागीता रहेको थियो ।

नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here