केक संस्कृति र प्रधानमन्त्रीको हेलिकेक !

185

– निशा तामाङ

केक संस्कृतिको विकास यसरी फैलिएको छ कि अहिले केक भन्ने बितिकै सबैलाई जन्मदिनको याद आउने गर्दछ । पहिले–पहिले केक जन्मदिनमा मात्र काट्ने गरिन्थ्यो तर अहिले यो केक संस्कृति यतिसम्म विकास भइसकेको छ कि अहिले हरेक सभा समारोह तथा विभिन्न उत्सवमासमेत केक काट्ने चलनको विकास भएको छ ।  विभिन्न सभा समारोहमा केक काटेर पनि सभाको शुभारम्भ गर्ने गरिन्छ । केकले  खुशीयालीको प्रतिकको रुपमा स्थान बनाइसकेको छ । यही केक संस्कृति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पछिल्लो केही वर्षयता मनाउँदै आउनुभएको छ । तर यसपालीको प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिन र केकले सम्पूर्ण नेपालीको भावनामा ठेस पु¥याएको पाइयो । प्रधानमन्त्रीको जन्मोत्सवको केक हेलिकोप्टरबाट ढुवानी गरिएकाले यो केकको नाम नै हेलिकेक बन्न गयो ।  हेलिकेकको अहिले चौतर्फी चर्चा र विरोध भइरहेको छ ।

प्रधानमन्त्री ओलीले  तेह्रथुमस्थित आफ्नो पुर्ख्यौली घरमा रमझमका साथ आफ्नो ६९ औँ जन्मदिन मनाउँदै गर्दा काठमाडौँमै बालुवाटारकै बिग बेक बेकरीमा तयार पारिएको केक हेलिकप्टर चार्टर गरी जन्मथलोमा लगिएको थियो । यसका लागि यती एयरको हेलिकप्टर चार्टर गरिएको थियो । त्यसअघि बालुवाटारमै पनि प्रम ओलीले केक काटेर जन्मदिन मनाइसकेका थिए । प्रधानमन्त्री ओलीले चारवटा हेलिकोप्टर चार्टर गरी आठराईस्थित घरमा पुगेर जन्मदिनको तामझाम गर्नुपर्ने आवश्यकता थिएन । प्रधानमन्त्रीको यो हेलिकेक र केकमा देशको नक्साले सम्पूर्ण नेपालीको भावनामा चोट पु¥याएको छ । सरकारप्रमुखको हैसियतले यस्तो कार्य गर्न नहुनेमा ओली स्वयम्ले यस्तो कार्य गरेर आफ्नो पार्टीको आचारसंहिता समेत उल्लंघन गरेका मात्र नभएर आफ्नो राजनीतिक उचाइलाई अत्यन्त विवादित बनाएका छन् ।

आफ्नै पार्टीको आचारसंहिता उल्लघंन गरेर मनाइएको त्यो जन्मोत्सवले प्रधानमन्त्रीको यस वर्षको जन्मदिन रमझम केही क्षणमै आलोचनापूर्ण भएको छ । कुनैपनि पार्टीका लागि आचारसंहिता अपरिहार्य हुन्छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीका लागि ११ बुँदे आचारसंहिता पाँच हप्ताअघि जारी गरेको थियो  । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी आचारसंहितामा नेकपा नेता तथा कार्यकर्ताकालाई विभिन्न माध्यमबाट अनुशासनको दायरामा ल्याउन कोशिस गरिएको थियो ।

आचारसंहितामा परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ भन्ने लेखिएको थियो । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्ने भनिएको थियो । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउँदै जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ भनेर आचारसंहितामा उल्लेख गरिएको थियो ।

तर यही आचारसंहिता प्रधानमन्त्री स्वयम्ले उल्लघंन गरेका छन् । त्यसैले नै प्रधानमन्त्रीले मनाएको हेली केकको चौतर्फी विरोध भइरहेको छ । जन्मोत्सव मनाउन जन्मथलो पुगेका ओलीले आफ्नो जन्मदिनको अवसरमा हेलिकप्टर चार्टर गरेर केक आफ्नो जन्मथलोसम्म पु¥याएका थिए । जन्मदिनको कार्यक्रममा ओलीले दुई हजार ज्येष्ठ महिला नागरिकलाई सारी र पच्छ्यौरी, दुई हजार पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि दुई हजार विद्यार्थीलाई डायरी र कलम दिएको पनि जनाइएको थियो । ओलीको यो लोकप्रिय काम सबैले प्रशंसा गर्नै पर्छ । तर प्रधानमन्त्रीको हैसियतले आफ्नो जिल्लाका नागरिकलाई होइन देशैभरिका नागरिकहरुलाई यो खालको योगदान देशले अपेक्षा गर्नु स्वाभाविक हो । त्यसैले नै ओलीको यो लोकप्रिय काम पनि हेलिकेकले अहिले अलोकप्रिय बनाइदिएको छ । हेलिकप्टर चार्टर गरेर लगिएको र देशको नक्सा आकारको केक काटेर मनाइएको त्यो जन्मदिन प्रधानमन्त्री ओलीका लागि अहिले आलोचनाको विषय भइरहेको छ  । हिमाल, पहाड, तराई अंकित नेपालको नक्सा अनि प्रधानमन्त्रीको हातमा चक्कु ।  देशप्रेमी नेपालीहरुले विरोध गर्नु स्वाभाविक पनि हो । तर यही विषयलाई प्रधानमन्त्री र उनका सहयोगीहरुले भने सहज रुपमा लिएका छन् । उनीहरुले यसलाई अन्तराष्ट्रिय अभ्यासका रुपमा लिएको जनाइरहेका छन् ।  नेपाली जनताले नै नबुझेर तीललाई  पहाड बनाएको जीकिर गरिरहेका छन् ।

हुन त केकमा आफ्नै देशको नक्शा वा तस्वीर राखेर काटेको घटना भने यो नै पहिलो होइन । अन्तराष्ट्रिय जगतमा पनि यसरी नक्शा, झण्डा, विश्वकै मानचित्र समेत राखेर समेत केक बनाइएको छ । तर नेपालको  संवेदशील अवस्था रहेका बेला प्रधानमन्त्रीको लापरवाही प्रष्ट हुन्छ । अरु देशका सीमा अतिक्रमित भएका छैनन्, तर नेपालको सीमा अतिक्रमित भएको र देशलाई विखण्डन गर्ने शक्तिसंग प्रधानमन्त्री ओलीको साँठगाँठ भएको आरोप समेत लागिरहेको अवस्थामा ओलीको यो कदम आलोचित बन्न पुगेको हो भन्ने स्पष्ट छ । अन्तराष्ट्रिय अभ्यासको सिको गरेर मनाइएको जन्मदिन कुन हदसम्म अन्तराष्ट्रिय अभ्यास सिको गर्नुपर्ने हो ?  यो सरकारले ख्याल गर्नुपर्ने विषय हो । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here