संघीय संसद सचिवालयको महासचिवका दाबेदार को–को छन् त ?

217

काठमाडौं । हालका महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल एक साता पनि बाँकी नरहँदा संसद सचिवालयमा संघीय संसद सचिवालयको महासचिव को बन्ला भन्ने प्रश्न उठ्ने गरेको छ । भट्टराईले दुईपटक संसदको महासचिव भएर आइतबार अवकाश लिँँदैछन् । आगामी चैत ७ गतेसम्मका लागि संसदको बैठक स्थगित भइसकेको अवस्था छ ।

संविधान अनुसार संसद सचिवालयको महासचिवलाई राष्ट्रपतिले नियुक्ति गर्ने हो । तर, कसलाई नियुक्ति गर्ने भन्ने सिफारिस चाहिँ प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले गर्नुपर्छ । यसअघि संविधानसभा र व्यवस्थापिका संसदको प्रमुख सुवास नेम्वाङ एक्लै भएकाले आफैंले भट्टराईलाई नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो । आइतबारदेखि महासचिव पद रिक्त हुनै लाग्दासम्म अहिलेसम्म सभामुख र अध्यक्षबीच कसलाई नियुक्त गर्ने भन्नेबारे कुराकानी भएको छैन । अहिलेसम्म महासचिव सिफारिसबारे छलफल भई नसकेको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभएको छ ।

सभामुख र राष्ट्रिसभा अध्यक्ष दुवैको सहमतिमा सिफारिस गर्नुपर्ने भएकाले अबको महासचिव बन्ने व्यक्ति सत्तारुढ नेकपाको शीर्ष नेतृत्वको समेत रोजाइमा पर्ने देखिन्छ । पूर्वमाओवादी पृष्ठभूमिका सभामुख सापकोटा र पूर्वएमाले पृष्ठभूमिका राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले महासचिवमा साझा नाम दिन पार्टीको साथ चाहिने संसद सचिवालयका उच्च अधिकारीहरुको भनाइ छ ।

एक अधिकारीले भने, सापकोटा र तिमल्सिनाले एउटै व्यक्तिमा फ्याट्टै सहमति जुटाउने सम्भावना देखिन्न, यसमा केपी ओली र प्रचण्डको पनि सहमति खोजिएको हुन सक्छ । सम्भवतः संसदीय दलका उपनेता सुवास नेम्वाङको भूमिका यसमा निर्णायक हुनसक्छ । तर, अहिले नै को व्यक्ति महासचिवमा आउला भन्ने धमिलो अनुहार पनि कतै देखिन्न ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङले पनि संसद सचिवालयको महासचिव नियुक्तिका बारेमा कुनै जानकारी नभएको समाचार आजको अनलाईन खबरमा लेखिएको छ । तर, संविधान र ऐन बमोजिम सभामुख तथा राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक पद भएकाले महासचिव कसलाई बनाउने भनेर नेकपाले सुझाव दिन आवश्यक नभएको नेम्वाङले जानकारी दिनुभयो ।

सभामुख सापकोटाले अहिलेको कर्मचारीतन्त्र भित्रबत्राट भन्दा पनि बाहिरबाट विज्ञलाई महासचिव बनाएर ल्याउने चाहना व्यक्त गर्नुभएको छ । यसमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिना पनि सहमत नै देखिन्छन् । तर त्यस्तो व्यक्ति को भन्नेबारे छलफल भएको छैन । सम्भवतः सभामुख र अध्यक्षले नेकपा नेतृत्वसँग परामर्श गर्ने स्रोतले जनाएको छ ।

एक वर्षअघि संसदले पारित गरेको संघीय संसदका महासचिव र सचिवहरुको सेवा सुविधा र योग्यता सम्बन्धी ऐन अनुसार कुनै पनि विषियमा स्नातकोत्तर गरेको व्यक्तिलाई महासचिव नियुक्त गर्न सकिन्छ ।

यो प्रावधान अनुसार संसदको महासचिव संसद सेवाका कर्मचारीभन्दा बाहिरबाट पनि नियुक्त गर्न मिल्छ । अहिले भइरहेका संसद सचिवालयका सचिवबाटै महासचिव बनाउने कि बाहिरबाट ल्याउने भन्ने विकल्प सभामुख तथा अध्यक्षलाई छ ।

संसद सचिवालयमा अहिले भइरहेका सचिवहरु भरतराज गौतम, धु्रवराज घिमिरे, राजेन्द्र फुयाल र गोपालनाथ योगीमध्ये फुयाल र योगीको उमेर ४५ वर्ष नपुगेकाले महासचिवमा उनीहरुको दाबी नहुन सक्छ । तर, बहालवला योग्यहरुको दाबी रहनु स्वाभाविकै हो । महासचिवको उमेर हद ५८ वर्ष रहेकाले पूर्वसचिवहरु वा पूर्वप्रशासकहरुको सम्भावना पनि कम देखिन्छ । यसअघि महासचिवको उमेर हद ६३ वर्ष रहेकोमा अहिले कानुन संशोधन गरी ५८ कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here