काठमाडौं – महानगरपालिकाले १० करोडको आपतकालीन कोषको स्थापना गरेको छ। अाज बसेको आकस्मिक बैठकले कोरोनाभाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोडको आपतकालीन कोषको स्थापना गर्ने निर्णय गरेको हो।
महानगरले उक्त कोषबाट हाललाई साना वडालाई दुई लाख, मझौला वडालाई तीन लाख र ठूला वडाहरुलाई चार लाखका दरले निकासा गर्ने निर्णय गरेको हो। जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रूपमा २४ घण्टे हेल्प डेस्क स्थापना समेत गर्ने निर्णय महानगरले गरेको छ, हेल्प डेस्कबाट सित्तैमा मास्क तथा ह्यान्ड सेनिटाइजर वितरण गर्ने जनाइएकाे छ । साथै महानगरका जनप्रतिनिधि तथा कर्मचारीलाई भोजभतेरमा नजान र आयोजना नगर्न समेत महानगरले आग्रह गरेको छ।
बैठकले आफ्नो कार्यालय तथा कार्यकक्ष डिसइन्फेक्सन गर्ने जनाएको छ। कोरोनाभाइरसका बारेमा जनचेतना जगाउनका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पलेट, ब्यानरजस्ता प्रचार सामाग्री तयार गरी वितरण गर्ने जनाएको छ। त्यस्तै सन्देशमूलक सूचना, होर्डिङ तथा डिजिटल बोर्डबाट प्रचार तथा डिस्प्ले गर्ने व्यवस्था समेत गर्न लागिएको महानगरपालिकाले बताएको छ।

















