राष्ट्रपति भण्डारीद्वारा अमेरिकामा रहेका नेपालीहरुका अवस्थाबारे चासो

84
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको फैलँदो संक्रमण बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका अवस्थाबारे चासो  लिएकी छिन् ।
मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत  समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित नेपाली राजदूत  डा अर्जुन कार्कीले जानकारी दिए ।
‘अमेरिकामा रहेका नेपाली र विद्यार्थीहरुबारे राष्ट्रपतिले चासो र चिन्ता देखाउनु भयो,’ कार्कीले  भने, ‘संक्रमित नेपालीहरुका बारे उहाँले सोध्नुभएको थियो।’ राष्ट्रपतिले पछिल्लो स्थिति प्रति दूतावासको लगायत गैरआवासीय नेपाली संघ लगायत नेपाली सामाजिक संस्थाको सक्रियताको विषयमा चासो राखेको राजदूतले बताए। विशेषत सर्वाधिक नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरको पछिल्लो स्थिति बारे राष्ट्रपतिको चिन्ता रहेको थियो।
कोरोना संक्रमणले न्युयोर्कमा एक नेपालीको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित भएको अनुमान छ। यद्यपि आधिकारिक तथ्यांक भने उपलब्ध छैन।
डिसीस्थित नेपाली दूतावासले कोरोना संक्रमणलाई मध्यनजर गर्दै समुदायसँगको सहकार्यको अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दूतावासले अत्यधिक संक्रमित न्युयोर्क लगायत पचासै राज्यमा रहेका नेपालीहरु सँगको संवाद र अन्तरक्रिया थालेको छ।
‘विशेषत यो नेपालीको स्थितिबारे जानकारी लिन र आवश्यक परेमा सहयोग एवं सहकार्यका लागि नेपाली संस्थाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने उदेश्यले सुरु गरिएको’ दूतावासले जनाएको छ। संवाद अभियान अन्तर्गत हरेक एकदिन बिराएर करिब ४ घन्टाको भिडियो कन्फरेन्स आयोजना गरिँदै आएको छ। विभिन्न पेसामा संलग्न लगायत संघ संस्था एवं विद्यार्थीहरुको सहभागिता रहँदै आएको छ। आफनो राज्यमा नेपालीहरुको स्थिति, संक्रमितको जानकारी र उपायको बारेमा छलफल गरिन्छ। ‘दूतावासले समन्वय गरेको हो। यस मार्फत संक्रमित नेपालीहरुको अवस्था एवं तथ्यांकलाई ट्रयाक गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं।’ राजदूत कार्कीले भने।
मंगलबार साँझको संवादमा अमेरिकाभरबाट दर्जनौं नेपालीहरुको सहभागिता थियो। चिकित्सक, कानुन व्यवसायी, लेखा विज्ञ एवं अन्य क्षेत्रका जानकारहरुले यो परिस्थतिमा कसरी सहयोग लिने विषयमा जानकारी गराएका थिए भने संक्रमितहरुलाई सेल्टरमा राख्ने विषयमा छलफल भएको थियो। कान्तिपुरमा खबर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here