काठमाडौं-स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनबाट सामान ल्याउन अनुमति दिएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल(ओबिसिआइ) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता नै नभएको खुलेको छ।
उत्पादन वा व्यवसायसँग सम्बन्धित कामका लागि अन्य निकायले समेत स्वीकृति दिने भएपनि व्यापार गर्ने प्रयोजनका लागि खोलिएको कम्पनी भने वाणिज्य विभागमा दर्ता हुनैपर्छ।
कुनै पनि कम्पनी वा व्यवसायिक फर्मले व्यापार गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। तर सरकारले औषधि खरिद गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल सम्बन्धित निकायमा दर्ता नै छैन। प्राइभेट फर्म रजिस्ट्रेसन (बाह्रौं संशोधन) नियमावली २०७६ को नियम २ को उपनियम ३ अनुसार ‘निकासी पैठारीसम्बन्धी प्राइभेट फर्म रजिस्ट्रेसन गराउन चाहने व्यक्तिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएको हुनुपर्ने’ कानुनी व्यवस्था छ।
ओम्नीले अहिले जसरी मेडिकल सामग्री आयात गरी सरकारलाई बिक्री गरेको छ, त्यो प्रयोजनका लागि विभागमा दर्ता हुन पर्ने कानुनी व्यवस्था छ। ओम्नीका अधिकारी नै आफूहरू वाणिज्यमा दर्ता नभएको स्वीकार गर्छन्।
कम्पनीका उत्तम लुईंटेलले आफूहरू वाणिज्य तथा आपूर्तिमा विभागमा दर्ता नभएको स्वीकार गर्दै उद्योग विभागमा उद्योग सञ्चालनका लागि दर्ता गरेको बताए। कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको उनले भने ।
वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार उक्त कम्पनीको दर्ता र नवीकरणसम्बन्धी विवरण विभागमा भेटिँदैन। ‘मैले त्यो कम्पनीबारे विभागमा खोज्न लगाएको थिएँ। हाम्रो प्रणालीमा भेटिएन भन्ने जानकारी मलाई कर्मचारीले दिएका छन,’ उनले भने, ‘२०५३ सालमा ओम्नी इन्टरप्राइजेजका नामबाट ललितपुर जिल्ला घरेलु उद्योग कार्यालयमा एउटा कम्पनी दर्ता भएको देखिन्छ। तर त्यसको पनि नवीकरण भने भेटिँदैन।’
व्यापार व्यवसायको इजाजत नै नपाएको ओबिसिआइले कसरी चीनबाट सामान ल्याएको हो भन्ने विषयमा विभागले सोधीखोजी गरिरहेको उनले बताए। ‘कम्पनीले चीनबाट कसरी मेडिकल सामान ल्याएको भनेर हामी बुझ्दैछौं। हामी त्यो कम्पनीसँग जवाफ पनि माग्छौं। चीनबाट सामान ल्याउन पाउने स्वीकृति वा इजाजत र व्यवसाय दर्तासम्बन्धी के हो तिम्रो प्रमाण भनेर बोलाउन सक्छौं,’ महानिर्देशक सुवेदीले भने।


















