काठमाडौं – आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको थियो ।
प्रदेश नं १ का कुल १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । प्रदेश नं २ र प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ मा कुल १३६ स्थानीय तह छन् भने प्रदेश नं ५ मा कुल १०९ स्थानीय तह छन् । यस्तै वाग्मती प्रदेशका कुल ११९ स्थानीय तहमध्ये ११७ मा वाणिज्य बैंकका शाखा खुलेका छन् । सङ्घीय राजधानीसमेत रहेको सो प्रदेशमा अब दुई स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । गण्डकीका कुल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।
कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा शाखा खुल्न बाँकी छ । सुदूरपश्चिम प्रदेशका कुल ८८ मध्ये ८६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ । हाल कुल २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या गत असार मसान्तमा आठ हजार ६८६ रहेकोमा त्यो बढेर गत फागुन मसान्तमा नौ हजार ६४० पुगेको छ ।
उत्पादनशील उद्योग तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा गत फागुन मसान्तमा रु १८ अर्ब ३८ करोड पुगेको छ । यस्तै साधारण पुनरकर्जा रु १५ अर्ब ८३ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब एक करोड उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता गत फागुन मसान्तमा रु एक अर्ब ५३ करोड रहेको छ । यस्तो कर्जा कुल एक हजार ५९२ ऋणीले उपयोग गरेका छन् ।
चार अर्ब ६९ करोड शेयर सूचीकृत
बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत फागुन मसान्तसम्ममा सूचीकृत चार अर्ब ६९ करोड शेयर सूचीकृत रहेको छ । सो सूचीकृत शेयरको चुक्ता मूल्य रु.४५९ अर्ब ४९ करोड रहेको छ । यस्तै चालु आवको आठ महिनामा रु २५ अर्ब ५५ करोडबराबरको शेयर लाभांश रु २१ अर्ब ४६ करोडबराबरको ऋणपत्र रु १२ अर्ब १६ करोडबराबरको साधारण शेयर, रु पाँच अर्ब ७५ करोडबराबरको सामूहिक लगानी कोष रु चार अर्ब ११ करोड बराबरको हकप्रद शेयर र रु ११ अर्ब ८३ करोड बराबरको अन्य गरी कुल रु ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
सो अवधिमा नेपाल धितोपत्र बोर्डले रु २१ अर्ब ४५ करोडबराबरको ऋणपत्र रु चार अर्ब ४१ करोडबराबरको हकप्रद शेयर, रु दुई अर्ब ७५ करोडको साधारण शेयर र रु एक अर्बको सामूहिक लगानी कोष गरी रु २९ अर्ब ६२ करोडबराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको छ । राससबाट


















