काठमाडौँ । फेसबुकले घरबाट काम गर्नेहरुलाई लक्षित गर्दै भिडियो कल गर्ने नयाँ एप सार्वजनिक गरेको छ ।
‘क्याच अप’ नाम दिइएको यो एपले भिडियो कलिङ एप जूम र गुगल मीटलाई टक्कर दिने विश्वास गरिएको छ ।
फेसबुककै एपीआइ टीमले बनाएको यो एपको अहिले अमेरिकामा परिक्षण भइरहेको जनाइएकाे छ । अहिलेको लागि आइओएस र एनड्रोएड प्रयोगकर्तालाई अमेरिकामा मात्र उपलब्ध हुने जनाइएकाे छ ।
यो एपबाट एक पटकमा ८ प्रयोगकर्ताले भिडियो क्ल गर्न सकिने जनाइएकाे छ । यो एपको खास विशेषता प्रयोगकर्ता अन्य भिडियो कलमा व्यस्त भएको नभएको जानकारी दिने रहेको छ । साथै यस एपको प्रयोग गर्न फेसबुक एकाउन्टको आवश्यकता नपर्ने बनाइएको छ । साथै यस एपमा कल मर्ज गर्नसक्ने सुबिधा पनि दिइएको छ ।
यस अघि फेसबुकले अघिल्लो महिनामात्र म्यासेन्जर रुम सार्वजनिक गरेको थियो । फेसबुकको म्यासेन्जर रुमबाट एक पटकमा ५० जना सम्मले भिडियो कुराकानी गर्न सक्ने सुबिधा दिएर फेसबुकले जूमको बढ्दो लोकप्रियतालाई रोक्ने प्रयास गरेको थियो । त्यसपछि यस भिडियो कल सुबिधाको दौडमा गुगल पनि आएको थियो ।
गुगल मीटले आफ्नो प्रिमियम क्लासलाई दिदै आएको सुबिधालाई आम प्रयोगकर्ताका लागि नि:शुल्क गरेर अहिले निकै लोकप्रियता कमाई रहेको छ ।


















