गजल १
सबैतिर बम खसाल्ने तँ कति शक्तिशाली
पत्थर छेडी पसाल्ने तँ कति शक्तिशाली।।१।।
साबुन पानी पो हो तेरो शत्रु बुझे मैले
सबै नै भित्र बसाल्ने तँ कति शक्तिशाली।।२।।
आगमनको नाका थुनेको हेर मास्कले
फलामे द्वार फाल्ने तँ कति शक्तिशाली।।३।।
चारैतिर नै घुमेर रमाई रमाई हिडिस
जहरले नै चुडाल्ने तँ कति शक्तिशाली।।४।।
अहमको घोडा चढेका मान्छे लडिरहे
उन्मुक्त पनि पगाल्ने तँ कति शक्तिशाली।।५।।
गजल २
म पुतली हो डुलिरहन्छु नजाउ कतै
फूल बनेर फुलिरहन्छु नजाउ कतै ।।१।।
इन्द्रेणी रङ बोकेर नै उज्यालो छर्दैछु
यो गगनमा खुलिरहन्छु नजाउ कतै ।।२।।
मायाको खानी पनि हुँ म ,तिमी जे भन
तिम्रो समिप झुलिरहन्छु ,नजाउ कतै ।।३।।
तिम्रो संझनाहरु मेटिदैन यो जूनिमा
स्वाभिमानले चुलिरहन्छु , नजाउ कतै ।।४।।
कहिलेकाही दुखाएका मनका कुरा
संझेर पनि भुलिरहन्छु , नजाउ कतै ।।५।।
सीता बिष्ट कार्की ” सीबिका ” टाेखा – ९, काठमाडौं


















