सरकार र गृहमन्त्रालयका जिम्मेवारहरु चिढिएका थिए । सरकारका गलत कामको भण्डाफोर र राष्ट्रियताको रक्षार्थ तीखो आवाज उठाएका कारण ‘रअ’को पनि दवाव सकारलाई हुँदो हो । एकजना वरिष्ठ पत्रकारले ‘रअ’ले भारतको विरुद्ध बोल्नेलाई ‘हमको सब मालुम है, उसको ठीक करेंगे’ भन्छन् भनेका थिए । त्यसैले सरकारको भण्डाफोर भएकोले चिढिनु र भारतको दलाली गर्ने उद्देश्यले गृहमन्त्रालय पनि त्यही स्तरमा ओर्लिनु स्वाभाविक थियो ।
नेकपाको जनपरिचालन, जनमत निर्माण र दलाल सत्ताको कारण पनि विराटनगरस्थित अवैधानिक कथित वाणिज्य दूतावास हटाउन भारत बाध्य भएको थियो । हाम्रो जनसंघर्षबाट सत्तारुढ पार्टीका स्थानीय नेता कार्यकर्ता तानिएका र हाम्रो संघर्षमा साथ दिएका कारण प्रभावित थिए । सञ्चारकर्मीहरुले पनि साथ दिएका थिए, त्यसको दवाव सत्तारुढ पार्टीमा प¥यो । त्यसैको कारण भारतीय नदी नियन्त्रणको लागि आएर वाणिज्य दूतावासको रुपमा सधैंभरि बस्न खोजेको कार्यालय हटेको थियो ।
त्यस्तो महान् काम राम्ररी स्थापित भएको छैन । त्यसबाट ‘रअ’ चिढिएको होला ! यस्ता धेरै पक्षहरु छन्, प्रहरीप्रधान कार्यालयले ३८ लाख खर्च गरेर भए पनि गिरफ्तार गर्ने योजना बनाएको सूचना दियो । त्यो रकम सिंहदरबार वा दिल्ली कताबाट निकासा भएको हो थाहा थिएन ।
सबै क्रान्तिकारी र देशभक्त नागरिकप्रति दलाल सरकार पूर्वाग्रही नै रहन्छन् । मसँग केही पृष्ठभूमिहरु थिए । दोस्रो संविधानसभा निर्वाचन अगाडि किरण–विप्लव–बादल एउटै पार्टीमा हुँदा पोखरामा केन्द्रीय समिति बैठक थियो । बैठक तनावपूर्ण थियो । बादल–गुरुङ पार्टीलाई चुनावमा धकेल्न चाहन्थे, कमरेड विज्ञानको कारणले पार्टीले चुनाव बहिष्कारको निर्णय ग¥यो । त्यसबेला संयुक्त जनसंघर्ष भइरहेको थियो । त्यो कुनै मोर्चालाई चुनावमा धकेल्न गुरुङ–हितमान–पम्फाहरु लागिरहेका थिए । मातृका यादवसँग मेरो लामो समयदेखि छलफल चलिरहेको थियो । जसको कारण थप सूचनाहरु थिए । क.किरणलाई समेत सूचना लुकाएर पार्टीलाई चुनावतिर धकेल्ने प्रयास भइरहेको थियो । मैले भण्डाफोर गरेर तथ्यहरु राखें । बैठक कक्ष तरङ्गित भयो । बादल, पम्फा र हितमानले स्पष्टीकरण दिनुप¥यो । काठमाडौं फर्केपछि एउटा छलफलमा बादलले ‘तपाईले धोती फुस्काउने गरी राख्नुभयो । मैले पनि संयमता गुमाएँ’ भनेका थिए । पोखरामै साथीहरुले बादल कमरेडले त्यसरी राख्नु हुँदैनथ्यो । कार्यकर्ताको विचारबाट नेता उत्तेजित हुनु हुँदैनथ्यो, सम्झाउनुपथ्र्याे भनेका थिए । बैठक सकिएपछि पनि म तनावमा थिएँ । कसैसँग सम्पर्क नगरी चितवन फर्के । त्यसपछिको भेटमा कमरेड प्रतिभाले ‘दाइ कस्तो बोल्नुहुन्छ, सत्य कुरा भए पनि एक्लो पर्ने गरी, मलाई त डर लाग्छ’ भन्नुभएको थियो । यसमा मेरो बुझाइ के हो भने ‘सत्य संकटको घेरामै जन्मने गर्छ । सत्य बोल्दा सुकरातले विष पिउनु परेको थियो । गर्धनमा तरवार झुण्ड्याएर मात्रै सत्य स्थापित हुन्छ ।’ चुनाव सुरु भयो । बादल गुट प्रचण्ड हराउने रणनीतिमा लागे । हामी चुनाव बहिष्कारमा लाग्यौं । बादल गुटले कांग्रेशसँग पैसा खाएर प्रचण्ड पक्षलाई हराउन लागे । त्यसबेला शान्तिमान कार्की पथिकको कार्यालय सचिव थिए । उनले ‘कांग्रेसलाई मतदान गर्ने निर्णय भएको छ सर, त्यही अनुसार निर्देशन छ’ भनेका थिए । मैले नपत्याएपछि पथिकको एसएमएस नै पठाए । माइला लामा र मैले विप्लवसँग सल्लाह गरेर त्यसको विरुद्ध विज्ञप्ति जारी ग¥यौं । त्यससँगै अन्नपूर्ण दैनिकमा कार्कीको फोन नम्बर र एसएमएस समेत रहेको समाचार प्रकाशित भयो । त्यसको विरुद्ध हितमानको विज्ञप्ति आयो । तर त्यो विज्ञप्तिले झन् आलोचित भए । चुनाव सकिएपछि सोही विषयलाई लिएर किरण–विप्लव–हितमान–बादल, पम्फा, पथिक र म छलफलमा बस्यौं । आ–आफ्नो भनाइ राखियो । पथिकले ‘मेरो ३० वर्षको राजनीति विरहीले खाइदियो’ भन्दै गर्दा उनको आँखामा आँशु थियो । कसैलाई अपमानित गर्नु मेरो उद्देश्य थिएन । त्यो संसदवाद र माक्र्सवादबीचको संघर्ष थियो ।
चितवनमा कार्यालय झडपको दिन पथिक र म सँगै गिरफ्तार भएका थियौं । तर उनलाई अन्तिम झडपको तयारी थाहा थिएन । हामीले खान तयार गरेको मासुको कराइमा पिसाब फेरिदिए । त्यो अपमानको ज्वाला गोली हानाहानमा बदलियो । सोमेश्वरमा भारतीय अतिक्रमणको विरुद्ध प्रतिरोध गर्दा पथिकलाई जानकारी दिएका थिएनौं । उनलाई भनेको भए प्रतिरोध गर्न दिने थिएनन् । मेरो सधैं स्पष्ट धारणा छ ‘देशभन्दा पार्टी ठूलो हुन सक्दैन ।’
पार्टी विभाजन भएपछि सगोलको पार्टी कार्यालयको जमिनको स्वामित्वलाई लिएर विवाद भयो । हामीले समझदारी हुँदैन भने बालबाटिका बनाउने प्रस्ताव गरेका थियौं । पार्टी कार्यालयको जग्गा किन्नमा पथिकको ठूलो भूमिका थियो । नारायण दाहाल, बादल र पथिक भएर जग्गा बेच्ने, चुनावको ऋण तिर्ने र बचेको रकम भागबण्डा गरेर खाने निर्णय गरेछन् । उनीहरु भित्रैबाट सूचना आयो । म र रमेश गिरी, अमरको घरमा गएर छलफल ग¥यौं । उनी पनि उत्तेजित भए, अमर त्यसबेला नयाँ शक्ति पार्टीमा थिए । हामीले संयुक्त विज्ञप्ति जारी ग¥यौं, पथिक र बादल नाङ्गेझार भए । भागबण्डा भाँडिएकाले मलाई कारबाही गरेको विज्ञप्ति जारी गरियो । क. विप्लवले त्यसको विरुद्ध विज्ञप्तिमार्फत प्रतिवाद गर्नुभयो । ममाथिको कारबाही किरण–विप्लव नेतृत्वको पार्टी विभाजनको उत्प्रेरक बन्यो । यस्ता थुप्रै प्रसंगहरुसँग छन् । विगतको दुईलाइन संघर्षको प्रभाव गृहमन्त्रालयमा अहिले परेको छ । प्रतिशोधको भावनाले आफ्नो मातहतका इकाइमा निर्देशन गरिरहेका छन्, मलाई थाहा छ– क्रान्तिमा यस्तो हुन्छ, हुनसक्छ, त्यसलाई सामना गर्नुपर्छ !


















