काठमाडौं – पछिल्लो दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । दैनिक जसो २० भन्दा बढीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेका अनुसार २६७ जना काठमाडौं ठेगाना भएका व्यक्तिहरु कोरोना संक्रमित छन् ।
ती मध्ये १७५ जना काठमाडौं जिल्लाका, ४१ जना ललितपुर र ४३ जना भक्तपुरमा रहेका छन् । ती मध्ये ७९ जना संक्रमितहरु विदेशबाट हवाइ उद्धारमार्फत नेपाल आएका व्यक्तिहरु हुन् ।
डा पाण्डेका अनुसार हवाइ उद्धारमार्फत नेपाल भित्रिने व्यक्तिहरुको कोरोना परीक्षण गरेर नपठाइएकाले विदेशबाट उद्धार भएकाहरुमा संक्रमण बढी देखिएको छ । लकडाउनको समयमा हवाइ उद्धार मार्फत नेपाल आएका १७ हजार जना व्यक्ति मध्ये ३५ प्रतिशतले मात्र कोरोना परीक्षणको रिपोर्ट लिएर आएको डा गौतमले जानकारी दिए ।
यस्तै ३५ प्रतिशतले आरडीटी परीक्षण गरेर आएका र अन्य व्यक्तिले कुनै पनि परीक्षण नगरी कोरोना फ्रि लेखिएको कागजात मात्र लिएर आएको डा पाण्डेले जनाए ।
यस्तै कतिपय व्यक्तिहरु कोरोनाको लक्षणसहित नेपाल आएको डा पाण्डेले बताए । एउटै विमानमा सबैले पीसीआर परीक्षण गरेर आएका व्यक्तिहरुको ७ दिनभित्र होम आइसोलेसनमा जान सकिने व्यवस्था गरीएको पनि डा पाण्डेले बताए ।
यस्तै पीसीआर परीक्षण गरिएका तथा नगरिएका व्यक्तिहरु एउटै विमानमा आएमा उनीहरुलाई होटल, क्वारेन्टाइन वा सरकारी क्वारेन्टाइन तथा होल्डिङ सेन्टरमा राख्ने गरिको डा पाण्डेले जनाए ।
साउदी अरेबिया, कुवेत, माल्दिभ्स लगायका देशबाट आउने केही नेपालीहरु कोरोनाको लक्षणसहित स्वदेश फर्किएको डा पाण्डेको धारणा छ ।
यस्तै काठमाडौंमा उपत्यका बाहिरबाट आएका प्रहरीलाई छलेर उपत्यकामा आएका तर कन्ट्याक ट्रेसिङमा नपरेका व्यक्तिहरुबाट कोरोना संक्रमण भएको डा पाण्डेले जनाए ।
यस्तै उपत्यकाका विभिन्न अस्पतालमा शल्यक्रिया गर्नुपर्ने, प्रसूती गराउनुपर्ने, अन्य कारणले उपचार गर्न अस्पतालमा जाँदा परीक्षण गर्दा संक्रमित भएको डा पाण्डेले बताए । उनीहरु लक्षण विहीन संक्रमित भएको डा पाण्डेले जनाए ।
उनले यस्ता व्यक्तिहरु काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा रहेको जनाए ।
डा पाण्डेका अनुसार काठमाडौंका कपन, महाराजगंज,चन्द्रागिरी, बुढानिलकण्ठ, बल्खुटार, नैकाप, लगायतका क्षेत्र, भक्तपुरका सल्लाघारी, बालकोट, चाँगुनारायण लगाएको क्षेत्र र ललितपुरका चाँपागाउँ, धोवीघाट, गोदावरी, भैँसेपाटी लगायतका क्षेत्रबाट संक्रमित अस्पतालमा गएको र अस्पतालमा पुगेपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका छ ।
स्रोत नभएका संक्रमितको संक्रमणको स्रोत पत्ता लगाउन संक्रमित देखिएका उपत्यकाका १२ स्थानमा कोरोना परीक्षण शुरु गरीएको डा पाण्डेले जनाए ।
ती मध्ये तीनकुने र नख्खुटोलका २२८ जनामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र अन्य ९ स्थानको पनि नमुना संकलन गरिएको र रिपोर्ट आउन बाँकी रहेको डा पाण्डेले बताए । उनले नेपालमा एक सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जनाए ।
नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नभएको डा पाण्डेले जनाए ।