कोरोना संक्रमण बढेसँगै राजनीतिक गतिविधिमा सुस्तता बढ्यो

57

–राज्यलक्ष्मी शाक्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओली विरुद्ध गरिरहेको पार्टीभित्रको आन्तरिक संघर्ष अव शिथिल हुँदै गएको महशुस हुन थालेको छ । प्रचण्ड समूहले आफ्नो आन्तरिक विचारहरु सार्वजनिक गर्नका लागि  सम्पादकहरुसँग सम्वाद गर्ने भनी  तय गरेको भेटवार्ताको कार्यक्रम अन्तिम समयमा स्थगित गरेपछि  ओली विरुद्धको संघर्ष शिथिल भएको स्पष्ट हुन्छ । हुन त कार्यक्रम स्थगित गरिनुलाई  कोरोनाको कारण भनियो । तर कोरोनाले ओली विरुद्धको संघर्षलाई शिथिल बनाउन सक्ला त भन्ने प्रश्न पनि उठेको छ ।

साउन ७ गतेदेखि लकडाउन अन्त्य गरियो । योसँगै ओली विरुद्धको संघर्षले पनि चर्को रुप लिएको थियो । नेताहरुको आवागमन यही बीचमा बढ्यो ।  सुरक्षा निकायमा संक्रमण फैलिएको प्रचार र  प्रदेशका मन्त्री, संघीय सांसद तथा उच्च तहका सरकारी कर्मचारीमा पनि कोरोना संक्रमण  विस्तार भएको खबर व्यापक भयो । त्यसैले पनि नेताहरुमा डर पैदा भएर राजनीतिक गतिविधि शिथिल भएको आशंका गरिएको छ ।

लकडाउन हटेसँगै केही दिन ह्वात्तै बढेको राजनीतिक गतिविधि विस्तारै सुस्त हुन थालेपछि सरकारले पनि राहतको महशुस गरेको हुनु पर्दछ । सरकारका विरुद्ध सडकमा आन्दोलन हुन सक्ने अवस्था छैन । सरकारलाई राजश्व उठाउन कोरोनाले रोकेको छैन । राजश्व बुझाउनका लागि जतिसुकै धक्कम् धक्का गरेर भएपनि जनता लामबन्दी भइरहेका छन् । यसरी लामबन्दी हुँदा कोरोनाको संक्रमण खतरा हुन्छ कि हुँदैन  भन्ने बारे सरकारलाई चासो छैन । पत्रकारहरुले समेत आफ्नो परिचय बनाउन बस काउन्टरमा टिकट लिनका लागि लाइन लागे जस्तै अवस्था सूचना विभागमा देखियो । साउन १ गते सूचना विभागमा शुरु भएको पत्रकारहरुको प्रेस पास  प्राप्त गर्न भइरहेको लाजलाग्दो लामबन्दीले कोरोना संक्रमणलाई पत्रकारहरुले बिजय हासिल गरिरहेका छन् भन्ने जस्तो देखियो । सरकारका जिम्मेवार निकायमा वसेका व्यक्तिहरुले यो अवस्था प्रति चासो देखाइएको पाइएन ।

सरकारका वेथीतिपूर्ण कामहरुबारे सत्तासीन नेकपाका नेताहरुले कुनै प्रतिकृया जनाइरहेका छैनन् । उनीहरुले केवल प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्र मागिरहेका छन् । तर कोरोना बढेपछि राजीनामा माग्न पनि डराउने अवस्था सृजना भएको छ । नेकपाको जारी स्थायी कमिटी बैठक १३ गतेदेखि स्थगित छ । एक पक्षले स्थगित गरेको भए पनि अर्को पक्ष बैठकमा बसेर ओलीलाई तर्साउने सम्मको काम भएपछि प्रचण्ड र ओलीबीच सम्वाद बन्द भएको छ । यो अवस्थाले पनि सरकारलाई आनन्द भएको हुनुपर्दछ । अव नेकपाको बैठक बस्न सम्भावना छैन । कोरोना संक्रमणकै त्रासले पनि बैठक गर्न सक्ने अवस्था छैन ।

कोरोनाको त्रासबीच प्रचण्डहरुबाट उठाइएको केन्द्रिय कमिटीको बैठक पनि अनिश्चित भएको छ । प्रधानमन्त्री ओलीले कोरोनाका कारण पच्चिस जना भन्दा बढि भेला नहुन सरकारले आदेश गरेको अवस्थामा पाँचसयको हाराहारीमा रहेको केन्द्रिय कमिटीका सदस्यहरुको बैठक गर्न नसकिने जवाफ दिइसकेका छन् ।

महाधिवेशन गर्न तयार रहेका ओलीले स्थायी कमिटी बैठक र केन्द्रिय कमिटी बैठकलाई कोरोनाका कारण  नसकिने भनेर जवाफ दिइरहँदा पनि प्रचण्ड समूह प्रतिकृयाबिहीन भएको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि कोरोना भाइरसको प्रभाव परेको छ ।  महाधिवेशन कहिले गर्ने भन्ने विवादलाई टार्न कोरोना भाइरसको संक्रमण शिथिल भएपछि गर्ने भनेर जवाफ दिन सभापति शेरबहादुर देउवा पक्षधरहरुलाई सजिलो भएको छ । कांग्रेसमा  क्रियाशील सदस्यता वितरण जारी रहेको भएपनि  कोरोना संक्रमणले भेटघाटलाई निरन्तरता दिन समेत कठिन भइरहेको छ ।  यसले गर्दा कांग्रेसको महाधिवेशन कार्यतालिका नै प्रभावित हुने देखिएको छ ।  साउन मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण सकिसक्नुपर्ने कार्यतालिका भएपनि भेटघाटले निरन्तरता पाउन सकेको छैन ।

कोरोना संक्रमण बढेसँगै कांग्रेस पार्टीका शीर्ष नेताहरुको दैनिकी लकडाउन अवधिकै जस्तो हुन थालेको छ । अत्यावश्यक बाहेकका भेटवार्ता पातलिएका छन् । त्यसैले कोरोना बढ्दैछ राजनीतिक गतिविधि घट्दै गरेको अवस्था छ । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here