काठमाडौ – सरकारले सरकारी तथा सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत काेराेना भाइरस (कोभिड –१९) को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकतानुसार शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालसमेतबाट सेवा सञ्चालन गराउन लागेको हो ।
मन्त्रिपरिषद्को उक्त दोस्रो बैठक कोरोना रोकथाम र उपचारका मात्रै केन्द्रित थियो । उहाँले आरटी पिसिआरको परीक्षण थप प्रभावकारी बनाई यसको दायरा बढाउने जानकारी पनि दिनुभयो । लक्षण नभएका वा सामान्य लक्षण भई आफ्नै घरमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालनाको सुनिश्चित गराई होम आइसोलेशनमा बस्न अनुमति दिने र बस्ने अवस्था नरहेमा त्यस्ता व्यक्तिलाई आइसोशलेन सेन्टरमा राख्ने सरकारको निर्णय छ । लक्षण भएका व्यक्तिलाई मात्र कोभिड –१९ को डेडिकेटेड अस्पतालमा उपचारको व्यवस्था मिलाउने र उपचारका लागि आवश्यक भेन्टिलेटर, आइसियु, अक्सिजन, औषधिलगायत स्वास्थ्य उपकरण, सामग्री वा जनशक्तिको आवश्यक प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्ने निर्णयमा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकतानुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार शय्याको आइसोलेशन स्थल प्रबन्ध गर्ने र यसलाई आवश्यकतानुसार थप्दै काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश सरकारले प्रबन्ध गरिनेछ । आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने जनाइएका छन् । ।


















