छाउपडी र जनै संस्कार जुम्ल्याहा परम्पराहरु हुन् !

145

–चन्द्रप्रकाश बानियाँ

तीज पर्व, ऋषिपञ्चमी, छाउपडी र निषेधाज्ञाको आपसमा के सम्बन्ध छ र जस्तो लाग्नु स्वभाविक हो । चेलीबेटीसँग सम्बन्धित तीज पर्व, रजोदर्शनको बेला हुने जानअनजानको छुवाछूतको पापबाट मुक्ति दिने ऋषिपञ्चमीबीच आपसमा कुनै सम्बन्ध छैन र ती दुबै पर्वसँग निषेधाज्ञाको झन कुनै साइनो हुने कुरा भएन । तर प्रदेश नम्बर ४ गण्डकीको राजधानी पोखरा महानगरपालिकाले यी तीन भिन्न कुरालाई एकै ठाउँमा जोडिदिएको छ ।

छोरी चेलीबेटीको पर्व तीजले पछिल्लो कालखण्डसम्म आइपुग्दा रुप बदलिसेको छ र एउटा नयाँ परम्परा बनिसकेको छ । यसको पुरानो रुप लगभग समाजबाट विलुप्त भैसकेको छ । नयाँ पुस्ताले तीज पर्वलाई कलाकारहरुले दोहोरी गाउने पर्व भनेर चिन्ने अवस्था छ । धन, श्रृङ्गार, हैसियत र रुपको प्रदर्शन गर्ने चाड भनेर चिन्ने दिन आउन थालेको छ । धनीहरुले प्रदर्शन गर्ने र गरीबहरुले लोभिएर थुक निल्ने पर्व भनेर चिनिने परिस्थिति निर्माण हुदै गएको छ । त्यसैले गलत बाटोतिर लाग्न थालेको सामाजिक परम्परालाई नियन्त्रण गर्नका लागि सरकारले पाटर््ी प्याल्स र होटेल रेष्टुराँहरुमा आयोजित हुने तीज कार्यक्रमहरुमा प्रतिबन्ध लगाउनु प¥यो । त्यही सन्दर्भमा विभिन्न जिल्लामा प्रमुख जिल्ला आधिकारीहरुले तडकभडकयुक्त तीज कार्यक्रम नगर्नु भनेर सार्वजनिक सूचना नै जारी गर्नु पर्ने अवस्था आयो । पोखरा नगरपालिकाले त यो वर्ष तीजदेखि ऋषिपञ्चमीसम्म निषेधाज्ञा जारी गरेर नयाँ कीर्तिमान कायम गरेको छ ।

कोरोना संक्रमण निरन्तर बढ्दो छ । सरकारले लकडाउनको अन्त ग¥यो । लकडाउन अन्त गर्ने सरकारको वाध्यतालाई जनसाधारणले कसरी बुझे कुन्नी, पोखराको बजारमा मानिसहरु पहिलेभन्दा अझबढी संख्यामा देखिन थाले । पोखरा बजारमा उर्लिएकोे भीडभाड देख्दा मानिसहरु कामले बजार आएका हुन् कि डोरी दाम्लो खोलिएका गाइभैसी जसरी मान्छेले स्वच्छन्दताको उपभोग गर्न खोजेका हुन् भनेर खुट्ट्याउन गाह्रो पर्न थालेको थियो । मानिस कोरोनाको त्रासबाट पूर्णरुपमा मुक्त भैसके जस्तो लाग्दथ्यो । न मास्क न सोसल डिस्टान्सिङ् ! तीजको अवसरमा मानिसहरुको आउजाउ नियन्त्रण गर्न कठिन पर्ने सम्भावनाले अधिकारीहरुलाई तर्सायो । त्यसैले  निषेधाज्ञा लगाउनुुपर्ने वाध्यता आइलाग्यो ।  अर्थात पोखरा नगरले दिदी बहिनीहरुको तीजमा मात्र होइन, रजोदर्शनबाट लागेको ब्रह्महत्याको पाप पखाल्ने पुण्य अवसरबाट पनि धर्मभिरु महिलाहरुलाई वञ्चित गरायो ।

नेपालीहरुको खासगरेर, खस समाजको मौलिक पर्व तीज लगत्तै ऋषिपञ्चमी पर्व आउँछ । तीजसँग  जोडिएर आउने यो पर्वको तीजसँग खास सम्बन्ध त छैन शायद । तर सँगसँगै आउने भएकोले ती अन्तर्सम्बन्धित पो छन् कि जस्तो लाग्छ । अघिल्लो रात भरपेट दर खाएर दिनभर नाचगान गर्ने चेलीबेटीको पर्व हो –तीज । पम्परागत चलन यस्तै हो । खाली पेट नाच्ने गाउने खस परम्परा अनौठो छ भन्दा फरक पर्दैन । भोक छल्न नाच गान गर्नु त ठिकै जस्तो लागे पनि त्यो संगति मिल्ने कुरा होइन । जे जस्तो भए पनि सयौं वर्षदेखि खस समाजले यसरी नै तीज मनाउँदै आएको हो । वैदिक समाजमा तीज मनाउने परम्परा छैन । व्रंत उत्सवको लामो वैदिक सूचिमा तीज पर्व समावेश छैन । त्यसैले यसलाई विशुद्ध खस पर्व भन्न सकिन्छ ।

विरुडा पञ्चमी अर्थात ऋषिपञ्चमी तीजसँग जोडिएर आउने हो कि ऋषिपञ्चमीपूर्व तीज पर्व मनाइनु एउटा संयोग मात्रै हो भन्ने प्रश्न उठ्छ । नेपालको ब्राह्मण समाजमा तीज भन्दा ऋषिपञ्चमीले बढी महत्व राख्दछ । वृत्रासुरको हत्या गरेवापत इन्द्रलाई लागेको ब्रह्महत्याको पापको एक हिस्सा महिलालाई दिइएको हो रे !  त्यही पाप प्रतिमास महिलाहरुमा देखिने हो रे । हिन्दू समाजको मान्यता हो यो । रजोदर्शन पाप हो । पाप भएकोले अस्पृश्य रहन्छ र जानअनजानमा हुन गएको छुतछातबाट लाग्न गएको पाप मोचनका लागि पञ्चमी व्रत उपासना गर्नुपर्छ भन्ने मान्यता बनाइएको छ । र निष्ठापूर्वक यो व्रत पूरा गर्नुपर्छ भनेर महिलाहरुलाई बच्चैदेखि प्रशिक्षित गरिँदै आएको छ ।

बृहस्पतिस्मृति, शुक्रनीति र आपस्तम्वधर्मसूत्रहरुले एकै स्वरमा उल्लेख गरेको एउटा चौपाया श्लोकले रजोदर्शनको अवधिलाई अस्पृश्य मान्ने परम्पराको बारेमा एउटा नयाँ रहस्य उत्घाटन गर्दा रहेछन्ः

“यद्वाह्ये दक्षिणात्र्यर्मातुलस्यं द्विजैः।

उत्तरे मद्यपा नार्याः स्पृश्या नृणां रजस्वला ।।

खसजाता प्रगृहन्ति भ्रार्तृभार्या मभर्तृकाम् ।

अनेन कर्मण नैते प्रायश्चित्तदमार्हकाः ।।”

यो श्लोकमा परेको अन्तिम पंक्तिको भनाईले रजस्वला बार्नु अनिवार्य होइन, त्यो स्थान विशेष र समाजविशेषको परम्परा मात्रै हो भन्छ तापनि अलि गहिरिएर हेर्ने हो भने यही एउटा श्लोकले धेरै कुरा एकैसाथ भन्दछ । कुन समाजमा रजोदर्शनलाई पाप मान्थ्यिो । खस को थिए । खस जातिको उत्पत्तिको कहिले भएको थियो । रजस्वला बार्ने चलन वैदिक समाजमा कहिलेदेखि अभ्यासमा छ भन्ने कुरा पनि यही एउटा श्लोकको आधारमा अनुमान गर्न सकिन्छ ।

पहिलो कुरा त रजस्वलालाई अस्पृश्य मान्ने चलन सृष्टि सम्बन्धी हिन्दू मान्यताको प्रथम पुस्तादेखि चलिआएको परमपरा रहेछ भनेर मान्नुपर्ने हुन्छ । किनकि हिन्दू धर्मको पहिलो पुस्तक ऋग्वेदलाई मानिन्छ । ऋग्वेदले ब्रह्मा, नारायण र भगवतीलाई चिन्दैन । ऋगवेदका कालका सर्वेसर्वा देवता इन्द्र हुन् । वृहस्पति देवगुरु मान्छिन् । उनले रचना गरेका ऋचाहरु ऋग्वेदमा समावेश छन् । वृहस्पतिस्मृति पनि उनैको रचना हो भनेर मान्ने हो भने रजस्वला बार्ने चलन मानिसको प्रथम पुस्ताबाट शुरु भएको रहेछ भनेर मान्नुपर्ने हुन्छ ।

दोश्रो कुरा सृष्टिको पहिलो पुस्ताले खस जाति र खस समाजलाई चिन्दो रहेछ भनेर मान्नुपर्ने हुन्छ । किनकि खस समाजमा भाउजु विवाह गर्ने चलन छ भनेर वृहस्पति स्मृतिले भन्छ ।

तेश्रो कुरा उत्तरतिरका ब्राह्मणहरुले मद्यपान गर्छन् र रजस्वला बार्दैनन् भनिएको छ । त्यसको अर्थ उत्तर भनेको नेपाल र भारतको उत्तराखण्ड, कास्मीर हो भनेर बुझ्नुपर्छ । किनकि हिमालभन्दा माथि बाहुनहरुको बस्ती थियो भन्न मिल्दैन । यी ठाउँहरुलाई उत्तर मान्ने ठाउँमा वैदिक धर्मग्रन्थहरुको रचना भएको रहेछ भनेर पनि मान्नुपर्ने हुन्छ । अर्थात नेपाल वा हिमवतखण्ड ऋषिमुनिको आश्रयस्थल थियो र यतैतिर हिन्दू धर्मग्रन्थहरुको रचना गरिएको हो भन्ने मान्यता गलत सवित हुन्छ् ।

चौथो कुरा वृहस्पति स्मृति, शुक्रनीति र आपस्तम्वधर्मसूत्र समेतका तीनवटै ग्रन्थहरुले एकै स्वरमा भारत वर्षको उत्तरतिर बस्ने ब्राह्मण समाजे रजस्वला बार्दैन भनेका छन् । खस जातिले १३ रौैं शताब्दीपछि मात्र हिन्दू धर्म ग्रहण गरेको हो भनेर इतिहासले मान्छ । त्यसको अर्थ उत्तरी खण्डको ब्राह्मण समाजमा रजस्वला बारिदैनथ्यो, मद्यपान वर्जित मानिदैनथ्यो भने नेपालमा खासगरेर, खस समाजमा रहेको छाउपाडी प्रथा कताबाट कहिले आयो त ? उत्तर स्पष्ट छ । नेपालको खस समाजमा छाउपडी जनैसँगै आएको हो । जनै आउनुपूर्व खस क्षत्रीले मात्रै होइन खस ब्राह्मणहरुले पनि रजस्वला बार्ने गर्दैनथ्ये । अर्थात कमसेकम कुमाउ गडवालतिरबाट नेपाल प्रवेश गर्ने बाहुन क्षत्री समाजमा रजस्वला बार्ने चलन रहेनछ । नेपालमा छाउपडी लिएर आउने ब्राह्मणहरु कान्यकुब्जी रहेछन् भनेर मान्नुपर्ने हुन्छ ।

स्वभावतः जनैसँगै वैदिक मान्यता र परम्पराहरु खस समाजमा भित्रिए । समाजले धर्मको नाममा वैदिक संस्कार र परम्पराहरु अपनायो । अवलम्वन ग¥यो । समय अब बदलिएको छ । खस समाजकालागि जनै अब हरो हुन थालेको छ । ९० प्रतिशत नयाँ पिढीले जनै र तागोलाई उस्तै उस्तै मान्न थालेको छ । अर्थात जनैलाई विशेष अवसरमा मात्र धारण गरिने रक्षावन्धन जस्तै मान्न थालेको छ । जनै र जनैसँग जोडिएको मान्यताहरुप्रतिको जनविश्वास विस्तारै विस्तारै उठ्न थालेको छ । खस समाजका लागि जनै संस्कार लोपोन्मुख प्रथा बनिसकेको छ । आगामी २÷४ पुस्ताभन्दा उता त्यसको अस्तित्व रहने छैन भनेर अनुमान गर्न सकिन्छ ।

स्वेच्छा  र स्वतःस्फूर्त रुपमा जनै संस्कार विरुद्ध खस समाजले विद्रोह गर्ने स्पष्ट संकेत देखिन थालेको छ । तर छाउपडी नामको कुप्रथालाई हटाउन कानून बनाइएको छ, त्यसलाई दण्डनीय अपराध मानिएको छ र पनि जनै संस्कार जस्तो सजिलोसँग उन्मूलन भैहाल्ने लक्षण देखिदैन । डोटी कर्णालीभेकको समाजमा देखिने गरी छाउपडी बारिन्थ्यो र त्यसलाई हटाउनुपर्ने आवाज समाजमा उठ्यो तर नदेखिनेगरी राजधानीको बाहुन क्षत्री समाजले बार्ने गरेको राजस्वला विरुद्ध कतैबाट आावज उठेन । राजधानीको क्षत्रीब्राह्मण समाजले आज पर्यन्त रजोदर्शनलाई अस्पृश्य मान्छ । राज्यले कानूनको जब्बर लाठी लगाए पछि राजधानीको क्षत्रीबाहुन समाजले मान्दै आएको रजस्वला बार्ने परम्परासम्म आइपुग्न कर्णली डोटीलाई धेरै समय त लाग्ने छैन तर समाजबाट पूर्णरुपमा अस्ताउन भने युुगौ युग लाग्ने सम्भावना इन्कार गर्न सकिदैन । जनै बरु चाँडै चुँडिएला त्यससँगै नेपाल भित्रिएको रजोदर्शनलाई अस्पृश्य मान्ने रीति निकै लामो समयसम्म टिक्ने सम्भावना टडकारो देखिन्छ । –जनधारणा साप्ताहिकबाट