कैलास मानसरोवर छेउमा अहिले डिएफ २१ मिसाइल राखिएको जनाइएको छ । यो मध्यम खालको ब्यालिष्टक मिसाइल हो, जसले २२ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्छ । यसले भारतीय राजधानी नयाँदिल्लीसहित उत्तर भारतका सबै प्रमुख शहरहरुसम्म पुग्न सक्ने क्षमता राख्दछ ।
कैलास मानसरोवर ताललाई भगवान शिवको घर भनेर चिनिन्छ । भारतीयहरु यो क्षेत्रलाई ठूलो धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रको रुपमा मान्ने गर्छन् । तिब्बती बौद्ध धर्माबलम्बीहरुले यो पर्वतलाई राजा रिम्पोचे भन्ने गर्छन् । त्यस्तै जैन धर्माबलम्बीहरुले यसलाई अष्टपद माउन्टेनका रुपमा हेर्ने गर्छन् । जहाँ उनीहरुका २४ धर्मगुरुहरुले पहिलोपटक धार्मिक ज्ञान प्राप्त गरेका थिए । यस्तो धार्मिक स्थलमा मिसाइल तैनाथ गरेको भन्दै भारतीय सञ्चारमाध्यामहरुले चीनको चर्को आलोचना गरिरहेका छन् । यो मिसाइलको साइट चीनबाट बग्ने चार ठुला नदीहरु सिन्धु, ब्रम्हपुत्र, सतलज र कर्णालीको उद्गमस्थल हो ।
पाण्डेका अनुसार चीनले भारतीय सीमामा सन् २००६ देखि २०१० का बीच १८० वटा रणनीति परियोजना सुरु गरिसकेको थियो । जसमध्ये ४ वटा ठुला एयर स्ट्राइप्स, १४ वटा साना एयर स्ट्राइप र १७ वटा रडार स्टेशनहरु पनि पर्छन् । उनले चीन यी मिसाइलहरुमार्फत भारत र हिन्द महासागरलाई लक्षित गर्न गरिरहेको दाबी गरे । उक्त मिसाइल साइट भारतको उत्तराखण्डको पिथौरागढबाट १०० किलोमिटरको दूरीमा पर्दछ । चीनले यदि दुई देशबीचको सीमामा मिसाइल हमला गरिहाल्यो भने उसले केही सेकेन्डमै भारतमा मिसाइल हान्न सक्छ । चीन र भारतबीच अहिले पूर्वी लद्धाखमा तनाव जारी छ ।


















