अन्यायका बिरुद्द लड्न इब्रु तिम्तिकको योगदानले महिलाहरुमा उर्जा थपेको छ

79

–प्रीति रमण

 सन् २०२० को अगष्ट २७ बिश्वको क्रान्तिकारी ईतिहासमा चर्चित घटनाका रुपमा लेखिन पुगेको छ । टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी  कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्ताल पछि अगस्ट २७ का दिन निधन भएको छ । एक्काईशौं सताब्दीको मानव चेतनालाई नै चुनौती दिएको यस्तो खालको घटनाको सर्वत्र बिरोध पनि भैरहेको छ । तथापी  यो घटनाले अन्यायका बिरुद्द लड्न महिला जगतलाई ठूलो प्रेरणा मिल्ने र महिलाहरुलाई उर्जा प्राप्त हुने बिश्वास भने गर्न सकिन्छ ।

 तिम्तिकलाई टर्कीको फासिवादी  सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । आफूलगायत गिरफ्तार साथीहरुको रिहाई गर्न , जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ र स्वतन्त्र न्यायालयका लागि माग राखेर ईब्रु तिम्तिकले जेलभित्रै भोक हड्ताल सुरु गरेकी थिइन् । उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी घोषणा गरेको थियो । जनताको पक्षमा बोलिने आवाजलाई फासिबादी शाषकहरुले जहिले पनि आतंककारी नै देख्ने गर्दछन् । कानुनको बिषयमा बिज्ञ भैसकेकी महिलाबाट जनताको पक्षमा उठाईएको आवाजलाई सरकारले आतंककारी देख्छ भने सरकारको जनबिरोधी सोच हो भन्ने कुरा स्वतह स्पष्ट हुन्छ ।

तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो काराबासको सजाय सुनाइएको थियो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखि स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायालय जस्ता न्यायपूर्ण मागहरु राखी भोक हडताल सुरु गरेकी थिइन् । लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाटै पनि उन्ले आफ्ना माग पुरा नभएसम्म कुनै औषधी उपचार लिन अस्वीकार गरिन् ।

अन्ततः अगस्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरिन् । अस्पतालमा उनलाई राखेको कोठा चिसो र अँध्यारो थियो ।  उन्का मागहरुलाई सम्बोधन नगरेर सरकारले उन्लाई औषधी खुवाउन जबर्जस्ती गरेकाले उनको निधन भएको समाचारले बिश्वकै कानून ब्यवशायीहरु र अधिकारकर्मीहरुलाई निश्चय पनि स्तब्ध बनाएको छ । पंक्तिकार स्वयम पनि कानुन ब्यवशायी भएकाले कानुन क्षेत्रमा काम गर्नेले जनताको आवाज बोल्नै पर्छ भन्ने मान्यता राख्नु पेशागत कर्तब्य नै हो जस्तो लाग्दछ । तिम्तिकले उठाएका कुनै पनि सवाल आतंकको आवरणसँग जोडिएका देखिदैनन् । तर फासिबादी राज्यसत्ताले तिम्तिकको ज्यान लिएरै छोड्यो ।

टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चारजनाले शाहदत प्राप्त गरिसकेका छन् । ४२ बर्षिया तिम्तिकको सहादत प्राप्त गर्दाको तौल जम्मा ६५ पौण्ड रहेको थियो । तिम्तिकका साथी तथा शुभचिन्तकहरुले उनको शवको विरोध प्रदर्शनसहित अन्त्यष्टी गर्दै गर्दा टर्कीको पुलिसले अश्रु ग्यास समेत हानेको न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् । मानवियता हराएका शासकहरु मृत्यु संस्कारमा समेत दमन गर्न पछि पर्दैनन् भन्ने सन्देश यो घटनाले दिएको छ ।

टर्कीको फासिवादी शासन व्यवस्था नै तिम्तिकको हत्यारा भएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेका छन् । विश्वका कैयौं मुलुकका कानून ब्यवशायीहरु , मानव अधिकारकर्मीहरु, राजनीतिक पार्टीहरु पश्चिमा साम्राज्यबादी शक्तिको संरक्षणमा नरसंहारमा उत्रिएको फासीवादी सरकारको बिरुद्दमा सडकमै उत्रिएका छन् ।

बिश्वकै मानव समुदाय कोरोना भाईरसको संक्रमणका बिरुद्द संघर्ष गरिरहेका अवस्थामा टर्किस सरकारले देखाएको यस्तोखालको क्र्रुरताले शासकीय चरित्रलाई पनि उदांगो वनाएर देखाएको छ । बिश्व राजनीतिमा तरंग ल्याउन सक्ने खालको यो घटनाको जतिसुकै निन्दा र भत्र्सना गरे पनि कमि हुनेछ ।  – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here