कम्युनिष्ट आन्दोलनमा ‘बोल्सेबिक स्पिरिट’

148

–हुकुमबहादुर सिंह

नेपाली कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट बिचारधारा र सिद्धान्तका निम्ति आफ्नो जीवन लगाएका, त्याग गरेका प्रशस्त नेता तथा कार्यकर्ता छन र आफूलाइ बिभिन्न पेशा, ब्याबसायमा कायम राख्दै पनि कम्युनिष्ट समर्थक र सहयोगी भएर नेपालका विभिन्न समूहहरुमा विभाजित कम्युनिष्ट पार्टीहरु र समूहहरुका लागि आफूसक्दो सहयोग र समर्थन गर्दै आएका लाखांै कम्युनिष्ट समर्थक र सहयोगी छन् । तर पनि तिनिहरुमा बेलाबेलामा कम्युनिष्ट बिचारधारा, सिद्धान्त र आफूले स्वयम सहयोग र समर्थन गर्ने राजनीतिक पार्टी र नेतृत्व प्रति बितृष्णा भएर नैराष्यता बढेका र एउटा कम्युनिष्ट सदस्य, समर्थक मात्रै नभै एकजमानाका जुझारू तथा त्यागी नेता तथा कार्यकर्ता क्रमशः प्रतिकृयाबादीमा पतन भएका प्रशस्त उदाहरणहरु पनि हामीसंग छन् । नेपालको करीब साढे ६ दशकको लामो कम्युनिष्ट आन्दोलनमा घेरै उतारचढाव आएका छन् । यस दौरानमा ब्यापकरुपमा दक्षिणपन्थी भड्कावहरुको जन्म, बिकास र तिनीहरुको अवसान पनि भएका छन् ।

यसको कारण नेपालको कम्युनिष्ट आन्दोलन र स्वयम पार्टीमा धेरै क्षति नभएको पनि होइन, तर पनि यसको सकारात्मक पक्ष पनि छ । त्यो भनेको हामीले सिद्धान्त र ब्यवहारका क्षेत्रमा कैयांै महत्वपूर्ण पाठहरु सिकेका छौं र तिनैको आधारमा ती सकारात्मक तथा नकारात्मक पक्षहरुको संश्लेषण पनि गरेका छौं । ती संश्लेषण गरिएका पाठहरु मध्य प्रथम महत्वपूर्ण पाठ के हो भने नेपाल जस्तो अर्धऔपनिवेशिक र अर्ध(नव)सामन्ती समाज भएको देशमा कम्युनिष्ट आन्दोलनमा आउन सक्ने नकारात्मक असरहरुका आधारहरु सम्राज्यबाद र सामन्तबादका नकारात्मक असरहरुका प्रतिविम्वहरु जो कम्युनिष्टको नाममा आउने गरिरहेका छन् र जसलाई दक्षिणपन्थी संशोधनबाद र बामपन्थी अराजकताबाद भन्ने गरिन्छ, तिनीहरुका बिरुद्ध जीवन मरणको लडाइ चलाउन पनि उत्तिकै अनिवार्य हुदो रहेछ । यस्तो संघर्षको आवस्यकता र त्यसले ल्याउने परिणाम (पार्टीमा चल्ने बिबाद, अन्तरसंघर्ष, आउने फूट र बिभाजन) लाई कैयौले वेलैमा बुझन नसक्ने, बुझन नचाहने र आफूलाइ पार्टीबाट पलायन हुने वा अन्य संशोधनबादी पार्टीहरु जहाँबाट उनीहरुलाई सत्ता प्राप्ति हुन्छ, ब्यक्तिगत पद, प्रतिष्ठा र पारिबारीक सुखसुबिधा प्राप्त हुनसक्ने सम्भावना देख्छन्, त्यसमा स्थानान्तरण गर्ने गरेका उदाहरणको कमि पनि छैन ।

 हाम्रो देशमा त्यसप्रकारको सिद्धान्तको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरु र पार्टीहरुको कहिले पनि कमी भएन, जसले ब्यक्तिगत पद, प्रतिष्ठा र लाभको निम्ति काम गरे र गर्दैछन् । यहाँ ब्यक्तिगत पद, प्रतिष्ठा र लाभको निम्ति काम भन्नाले स्वयम पार्टीको नेतृत्वका पदहरूमा टासीरहने र त्यसैलाई ब्यक्तिगत लाभको निम्ति उपयोग गर्ने पनि हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा आएका र आउन सक्ने सवैखाले अवसरबादलाई वेलैमा चिन्न, त्यसको बिश्लेषण गरी जनताको बीचमा लैजान र कार्यकर्तालाइ बेलैमा प्रशिक्षण गरी उनीहरुलाई राजनैतिक रुपमा सचेत गराउन ढिलो भएका कारण पनि नेपालका कंैयौ इमान्दार कम्युनिष्टहरुले गलत वाटो समातेका छन् ।  यो नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन बिश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि सत्य हो जसमा माक्र्स, लेनिन र माओले आफनो जीवनभर ती सबैखाले भड्कावका बिरुद्ध सम्झौताहीन संघर्ष गरेको इतिहास छ । यसको निम्ति एकपटकको संघर्ष मात्रै काफी छैन, एउटा पार्टी र त्यसका नेता तथा कार्यकर्ताहरुको लागि जीवन भर गरिरहनुपर्ने संघर्ष हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा शक्ति सन्तुलनमा आउने फेरवदलहरुले पनि कम्युनिष्ट पार्टीहरुमा असर नपारी रहदैन । त्यसैगरी देशभित्रको परिवर्तनले पनि काफी हदसम्म असर पारेको इतिहास छ । यदि वेलैमा पार्टी नेतृत्वले आफ्ना सदस्य, समर्थक तथा सहयोगीहरुलाई त्यसबारे सचेत गराउन सकिएन भने पार्टीमा त्यसले एउटा सरुवा रोगको रुपमा काम गर्छ र एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि एउटा दक्षिणपन्थी संसोधनवादी पार्टीमा बदलिन जान्छ  र बिगतमा र बर्तमानमा पनि त्यसो भएको छ ।

बिश्व समाजबादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरी संसारमै पहिलो समाजबादी देशका रुपमा स्थापना र बिकास गर्ने महान जिम्मेवारी पुरा गर्ने सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्सेबिक) र त्यसका नेता क. लेनिन र क. स्तालिन थिए । त्यस बिजयको पछाडी सही सिद्धान्त लगायत अनगिन्ति अन्य बस्तुगत र आत्मगत कारणहरु छन्, तर पनि क. लेनिनलगायत समग्र पार्टी नेतृत्व र पार्टी सदस्यहरुमा भएको देश, जनता, पार्टी र क्रान्तिप्रतिको इमान्दारीपूर्ण त्याग र तिनीहरु बिचको सिद्धान्तनिष्ट एकता नै थियो, जसलाइ बोल्सेबिक स्पिरिट भन्ने गरिन्छ । पार्टीको सदस्य बन्ने, नियमित लेबी तिर्ने र पार्टीको कुनै न कुनै समितिमा आबद्ध भएर आफूलाई पार्टीको अनुशासनमा राख्ने स्पिरिट नै वास्तबमा बिश्व कम्युनिष्ट आन्दोलनमा ‘बोल्सेबिक स्पिरिट  भन्ने गरिन्छ । यही बोल्सेबिक स्पिरिट नै रुसी क्रान्तिको लागि बलियो जहाज भयो, जसमा बसेर सोभियत संघका कम्युनिष्ट पार्टी (बोल्सेबिक), त्यसका नेता तथा कार्यकर्ताहरुले आफूलाइ त्याग, वलिदान र समर्पण गरेका थिए र क्रान्तिलाइ सफलतामा पुराएका थिए ।

बोल्सेबिक स्पिरिट भनेको नत उग्रबामपन्थी बाटो हो न दक्षिणपन्थी प्रतिको झुकाव र समर्पण, यो त एउटा कम्युनिष्ट पार्टीमा आउन सक्ने सबै खाले भड्कावहरुका बिरुद्धको सम्झौताहीन संघर्ष हो । ठोस परिस्थितिको ठोस बिश्लेषण नै माक्र्सबाद लेनिनबाद र माओवाद होे र यसैको आधारमा बन्ने संगठन र नेतृत्वको बिकास नै वास्तवमा बोल्सेबिक स्पिरिट हो ।  अहिले पनि क्रान्तिकारी कम्युनिष्टहरु बिश्वका कुनै पनि देश र स्थानमा रहेर बिश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने चुनौतीपूर्ण बाटोमा आफूहरुलाइ अगाडि बढाएका छन् । तिनीहरुले आफू क्रान्तिकारी हो कि होइन भन्ने फरक छुट्टयाउन भन्ने गर्छन “हामीमा वोल्सेविक स्पिरिट छ की छैन र हामी त्यो अनुसार अघि बढेका छांै कि छैनौ ?” आदि ।

अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी जनताले त्यहाँको वोल्सेविक स्पिरिटलाई एउटा पवित्र आदर्शको रुपमा मात्रै मानेन, त्यसलाई रुसबाट जारशाहीको उन्मूलन गर्न र त्यसको आधारमा समाजबादको बिकास र निर्माणको दौरानमा समेत कायम राखे । रुसमा वोल्सेविक स्पिरिट त्यत्तिकै स्थापित भएको थिएन । त्यसको लागि रुसमा क. लेनिनले र पछि उनका उत्तराधिकारी क. स्तालिनहरुले पार्टी भित्रका वोल्सेविक स्पिरिटका बिरोधी मेन्सेविकहरु, ट्राटस्कीबादीहरु आदिका बिरुद्ध सम्झौताहीन संघर्ष गरेर मात्रै त्यो स्पिरिट स्थापित र बिकसित भएको थियो । कसैले भनेको र राजनीतिक प्रशिक्षण दिएको भरमा यो स्पिरिट स्थापित हुने होइन, त्यसको लागि त्यही खालको सिद्धान्त, राजनीति, प्रबृति, त्याग र आचरणको आधारमा आधारित भएर सबैखाले अवसरबादलाई ढिलो नगरी बेलैमा पहिचान गर्ने, त्यसका बिरुद्ध सैद्धान्तिक, राजनीतिक बिचार र कार्यक्रमको आधारमा संघर्षका बिभिन्न रुपहरुलाई समायोजन गरी अगाडी बढाउने उपयुक्त रणनीति र कार्यनीतिको बिकासमा नै यस्तो स्पिरिट कायम राख्न र क्रमशः उचाइतर्फ लैजान सकिन्छ । देश, जनता, पार्टी र क्रान्तिप्रतिको स्वयंसेवी भावना, त्याग, वलिदान, र समर्पण नै यो स्पिरिटको केन्द्र बिन्दु हो र यो सबैमा कायम गर्न सकिन्छ भन्न सकिदैन, तर पनि क्रान्तिकारी कम्युनिष्टका निम्ति यो स्पिरिट उनीहरुको जीवनसंग नै सीधै गाँसिएको हुन्छ भने अवसरबादीहरुका लागि यो एकछिनको, क्षणिकरुपमा आउने र हराउने हुन्छ । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here