– राज्यलक्ष्मी शाक्य
हुन त संसारमै कोराना संक्रमणका कारणबाट मानिसहरुले ज्यान गुमाईरहेका छन् । यस्को राकथाममा संसारकै मानवजाती नै पराजीत भैरहेको अवस्था छ । तर पनि नेपाली जनतामा रोग प्रतिराधात्मक क्षमता बलियो छ भन्दा भन्दै नेपाली जनता पनि कोरोनाको महामारीबाट अत्यास लाग्ने गरी पटापट मर्न थालिसकेको अवस्थाले अब नेपाली जनताको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर भैसकेको रहेछ भनेर स्वीकार गर्नु पर्ने अवस्था देखिएको छ । प्रधानमंत्री केपी शर्मा ओलीको बेसार र तातो पानीले मात्र अब कोरोना भाग्ने अवस्था रहेन । कोरोनलाई भगाउन सबैभन्दा पहिले खुला सिमानाबाट भैरहेको निबाृध आवागमनलाई रोक्न जरुरी छ
सरकारले सिमापारीबाट कोरोना आउन नरोकेर नेपाली जनतालाई घरभित्र थुन्ने मात्र काम गरेकाले संक्रमण रोकिएन । लकडाउन र निषेधाज्ञा लागू गरेपछिका हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको पाईयो । पछिल्लो पटकको निषेधाज्ञापछि पनि संक्रमण रोकिएको वा मृत्यु संख्या घटेको छैन । निषेधाज्ञा सुरु भएको २ हप्ता बितिसक्दा पनि संक्रमित संख्या र मृत्यु संख्या बढ्ने क्रम जारी रहेकाले सरकारको निषेधाज्ञा काम नलाग्ने स्पष्ट भएको छ । संक्रमण र मृत्युको यो भयावह चित्रले हाम्रो भोलिको असामान्य अवस्थाको संकेत गरिरहेको छ । त्यस्रले पनि अब सरकारको भर पर्ने अवस्था छैन ।
बिश्व स्वास्थ्य संगठनले , सरकारले वा जनस्वास्थ्य विज्ञले दिइरहेका सुझावहरु जनताले पालना गरिरहेकै छन् । सावुन पानीले हात धुनु र मास्क लगाउनुबाट मात्र कोरोना संक्रमण रोकिने रहेनछ भन्ने अब स्पष्ट भैसकेको छ । यथार्थमा कोरोनाको डर सबैलाई छ । जानकारी पनि सबैलाई छ । टिभीमा त्यही, इन्टरनेटमा त्यही र रेडियोमा पनि त्यही प्रचार भैरहेको छ । कारोनाबाट कसरी जोगिने भन्नेबारे बोलेका देखिन्छन् । तर पनि संक्रमण आयात रोकिएको छैन । सिमापारी संक्रमणको गति तीब्र छ, सिमाना खुल्ला छ, यता त्रास बढेको बढ्यै छ ।
सरकारले सोचेको छ – निषेधाज्ञाले सरकारलाई कोरोना नियन्त्रण गर्न सजिलो बनाउँछ । निषेधाज्ञाबाटै कोरोनालाई शून्यमा झर्न सक्छु भन्ने सोचाई सरकारले बनाईरहेको छ । शून्यमै पुर्याएर निषेधाज्ञा खोल्ने भन्ने कुरा कति व्यवहारिक होला ? यसअघि पनि त्यति लामो समय लकडाउन गर्दासमेत संक्रमणको बिस्तार रोकिएको थिएन भने फेरि त्यही उपाय अवलम्बन गरिएको छ , यस्ले कूनै अर्थ राख्दैन, सरकारले बुझ्नु जरुरी छ । तर सरकार अन्धो भैरहेको छ । उस्को अन्धोपनलाई कसैले देखाए पनि उ स्वीकार गर्ने पक्षमा छैन भन्ने कुरा सरकारको ब्यवहारबाट निष्कर्ष निकाल्न सकिन्छ ।
गल्ती कहाँ भयो ? त्यतातिर फर्केर हेर्नु जरुरी छ । हामी पहिलो पिसिआर भनेर त्यतातिर लाग्यौं । अहिले आइसियू र भेन्टिलेटरको हिसाब गरिरहेका छौं । तर संक्रमण हुन नदिन के गर्ने भन्नेतिर हाम्रो ध्यान पुगिरहेकै छैन ।
सबै भन्दा पहिला त सरकारले बाहिरबाट आउने संक्रमितहरुलाई देशभित्र प्रबेशमा रोक लगाउनु पर्दथ्यो । त्यसतर्फ सरकारको प्रभावकारी काम हुन नसक्दा कोरोनाको संक्रमण देशभित्र भित्रियो र ब्यापक पनि हँुदैछ । अब नेपाल सरकार कोरोना नियन्त्रण गर्नेगरी अघि बढ्यो भने पनि भारतमा कोराना रहेसम्म हामीहरुले संकटको सामना गरिरहनु पर्नेछ । त्यसैले हामी नेपालीहरुको आगामी अवस्था चुनौतिपूर्ण छ । आगामी दिनमा के हुन्छ भन्ने कुरा हामी नागरिक कति सचेत हुन्छौं भन्नेमा निर्भर रहन्छ । किनभने सरकार असफल भैरहेको छ र असफलतालाई ढाकछोप गर्न सरकारले जनतामा दोष थोपर्नु बाहेक बिकल्प सरकारसँग छैन ।
अनिकालमा बीउ जोगाउने, हुलुमुलमा जिउ जोगाउने बेला हो यो । अब सरकारले के–के राम्रो गर्यो, के–के गरेन भनेर हिसाब गर्ने बेला पनि छैन । आफ्नो ज्यान आफै बचाउँ भन्ने नारा लगाएर जनचेतना जगाउनु पर्ने अवस्था आईसकेको छ । सरकारले कोरोना संक्रमण रोकथामका नाममा बीसौं अर्व रुपियाँ खर्च गरिसकेको सार्वजनिक गरेको छ । जनताले खान नपाएर आत्महत्या गरिरहेका घटनातर्फ सरकारको ध्यानाकर्षण नै छैन । त्यसैले नै जनता आफै सजग बनेर संक्रमण हुन नदिन सचेत बन्नुको बिकल्प अब छैन । बरु खान नपाएर मर्ने अवस्थामा पुगेका जनताको अवस्थाप्रति जानकार रहँदै चन्दा संकलन गरेरै भएपनि खान नपाएर मर्नुपर्ने अवस्थामा जनता नपरुन् भनेर सावधानी अपनाउनतिर लागौं । सरकार बिरुद्दको सबैभन्दा चोटिलो आन्दोलन पनि त्यही सावित हुनेछ र जनकल्याणकारी पनि त्यही आन्दोलन नै हुनेछ । –जनधारणा साप्ताहिकबाट
















