आगामी जनआन्दोलन,यसको दिशा र दशाबारे

76

– नारायण शर्मा

देशमा चौतर्फी बढ्दो अनियमितता र भ्रस्टाचार, राष्ट्र र राष्ट्रिय स्वतन्त्रता एवं स्वाभिमानमाथिको घात/प्रतिघात तथा जनता र जनतन्त्र र समाजवादविरोधी सर्वसत्तावादी सरकारी सोंच, शैली, संस्कार र संस्कृतिका कारण निकट भविष्यमा एउटा अर्को जनआन्दोलन हुने सुनिस्चित छ ! २०६२/६३ को भीषण र भयावह आन्दोलनपछिको डेढ दशकमा देशको व्यवस्था त फेरियो तर अवस्था फेरिएन । संविधान/कानून त फेरिए तर शासन/कासन फेरिएन ! पार्टी फेरिए तर परिपाटी फेरिएन ! नेता र नीति फेरिए तर नेताको नियत र जनता र राष्ट्रको नियति फेरिएन !  चुनिने, गनिने र मानिने पात्र र प्रतिनिधि पनि थोरैधेरै त फेरिए तर तिनको पारा र प्रवृत्ति पटक्कै फेरिएन । यसैगरी देशका शासक शक्ति र व्यक्ति त फेरिए तर तिनको चिन्तन, चेतना र चरित्र फिटिक्कै फेरिएन !

यसरी फेर्नैपर्ने धेरै कुराहरु नफेरिने मात्र होइन कि तिनको पुरानै मति, गति, रीती, स्थिति, कृति र संस्कृतिमा झन/झन विकृति र विसङ्गति बढ्यो ! समग्रमा भन्नुपर्दा २००७ सालको वरिपरिबाट सुरु भएको नेपाली राष्ट्रियता, जनतन्त्र र जनजीविका/समाजवादको आन्दोलन अधुरो र अपूरो नै रहिरह्यो । किनकी, पार्टी र तिनका प्रायः नेताहरुबाट देश, जनता र जनतन्त्र र समाजवादलाई धोका, विश्वासघात र गद्दारी त भयो /भयो, पुंजीवादी विधि र व्यवस्थाका मूल्य र मान्यतामाथि समेत कुठाराघात भयो १ ! यसले गर्दा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरु दिनप्रतिदिन झन्झन् जटिल र गम्भीर एवं  विकराल र विष्फोटक बन्दै गैरहेका छन् ! त्यसैले फेरि एकपटक बृहत् जन आन्दोलन अनिवार्य र अपरिहार्य भएर आएको छ ।

 नेपालमा विगत सात दशकदेखि प्रायः एक/डेढ दशकमा हुने गरेका ठुल्ठुला आन्दोलन र परिवर्तनका प्रकृयाहरुबाट जनता र देशको अग्रगमन र लोकतान्त्रीकरणका दिशामा भएको राजनीतिक उपलब्धिका तुलनामा देशको विकास र निर्माण अनि जनताको प्रगति र समृद्धिमा भएको क्षति र त्यो क्षतिपूर्ती गर्न आन्दोलनबाट आएका शक्ति र सरकारहरु पूरै विफल भएकोले अब एकातिर धेरैपटक आन्दोलनको भार र मार देश र जनताले खप्नसक्ने अवस्था छैन भने अर्कातिर यिनै शक्ति र व्यक्तिका भनाइ र गराइ हेर्दा यिनमाथी पनि सहजै र पूरै भरविश्वास गर्न जनता तयार छैनन् । तसर्थ एकातिर आगामी आन्दोलनलाई हामीले अन्तिम, निर्णायक र क्रान्तिकारी स्वरुप दिनु जरुरी छ भने सङ्गसङ्गै राजनीतिक पार्टी र नेताहरुको मात्र भर नपरेर नागरिक नेतृत्व, राष्ट्रिय व्यक्तित्व, स्वच्छ शैक्षिक र सामाजिक सेवा र संघर्षमा स्थापित र परिचित संघसंस्था र संगठन तथा तिनका कन्चन चिन्तन र चरित्र भएका राजनेता बन्नसक्ने देसभक्ति, स्वाभिमान, स्वविवेक र दूरदृष्टि भएका नव नायकहरुलाई विशेष जिम्मेवारी दिएर अघि बढ्नुपर्दछ ।

आज सरकारको स्वैच्छाचारिता, देशको दुरावस्था र व्यवस्थाको बुराइका विरुद्धमा सत्तासीन पार्टी, संसद र सरकारभित्रैबाट र शीर्ष नेतृत्वहरुमध्येबाट समेत व्यक्तिगत र छिट्फुट रुपमा त ओलीको बोली र टोलीको गोलीका विरुद्धमा विधि/पद्धतिका विषयमा  व्यक्तिगत वक्तव्यबाजी र बार्गेनिङ अनि आङ्गिक र आंशिक आन्तरिक वा बाह्य संवाद र संघर्ष संचालन पनि भएकाछन् तर त्यतिले मात्र खासै तात्विक फरक पारिरहेको पाइन्न ! किनकी ती आन्दोलन र तिनका नेतृत्वहरु देश र जनताको हक र हितमा केन्दि्रत विचार र राजनीतिमा आधारित  निर्णायक र निर्मम संघर्षउन्मुख नभै अन्ततः लेनदेन र भागबन्डामा सिमित रही सहमति र सहकार्यसहित सिङ्गोरुपमा संचालित हुने सस्ता सम्झौतामा टुङ्गिएका छन् । त्यसैले अब तिनलाई प्रथमतः सामूहिक, संस्थागत, आधिकारिक र निर्णायक बनाउँने र द्वितीय तिनिहरुलाई पनि शंका र विश्वासको कसीमा घोट्दै, गल्तीकमजोरी सुधार गर्न निरन्तर आलोचना र सुझाव/दवाव दिंदै संघर्षको भट्टीबाटै रुपान्तरण, शुद्धीकरण र क्रान्तिकारीकरण गर्दै अघि बढ्ने गर्नु पनि त्यत्तिकै जरुरी छ ।

साथै सडक, सदन र समाजको संघर्षमा समर्पित वाम नामका शक्ति र संघसंस्थाहरुको बिचको हालको कार्यगत एकतालाई दीर्घकालीन संयुक्त मोर्चाको रुपमा विकास/विस्तार र सुदृढ/सबल पार्दै आन्दोलनलाई सफल पार्न पूरै प्रयत्न गर्नु जरुरी छ ।

यसैगरी देशमा चलिरहेका वर्गीय, व्यावसायिक, जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक, धार्मिक र सांस्कृतिक शक्ति, समुदाय र नेतृत्वविशेषमा अवस्थित वर्गसंघर्ष, राष्ट्रिय एकता र अखण्डताका सम्बन्धमा देखिएका संकीर्णताहरुको खण्डनमण्डन गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकासंग सम्बन्धित  जनस्तरका खबर्दारी संघर्षहरुलाई पनि अनिवार्य रुपले समायोजन गर्नु पर्दछ ।

यसका अतिरिक्त सारमा सत्ताको साथमा तर रुपमा सत्ताको विरुद्धमा गनिएका संसदवादी प्रतिपक्षी शक्तिहरुको रक्षात्मक, लेनदेनपूर्ण र भागबण्डामा सीमित संघर्षलाई र उनीहरुको  सत्तासंचालकहरु सितको अन्तर्विरोधलाई पनि उपयोग गर्दै तिनमा रहेका प्रतिगामी, प्रतिकृयावादी र यथास्थितिवादी सोंच र संस्कारका विरुद्ध पनि संघर्ष चलाउँदै संयुक्त आन्दोलन अघि बढाउनु पर्दछ ।

निष्कर्षमा भन्नुपर्दा नेपालको विशिष्टता, मौलिकता र ऐतिहासिकताका साथै वर्तमान वली सरकारका भ्रष्ट, दुष्ट, निकृष्ट र निर्लज्ज गतिविधिहरु दास, दलाल, दम्भी र दमनकारी कृयाकलापहरु-MCC जस्ता चरम राष्ट्रघाती, शान्तिघाती र मित्रघाती सम्झौता पास गर्ने खुला र गुप्त हाँक र हर्कतहरुसँगै अतिक्रमित भूमिसमेटेर जारी गरिएको आधिकारिक नक्सा र पाठ्यपुस्तकलाई कुर्सी र ज्यान जोगाउन भारतीय खुफिया प्रमुखसंगको गोप्य वार्ता/भेटपछि फिर्तालिंदै गरिएको आत्मसमर्पणजस्ता दास, दलाल र दम्भी  कृयाकलापहरु , कोरोना महामारीका औषधिजन्य सामाग्री खरीदजस्तो संवेदनशील र गम्भीर अवस्थाका सामाग्रीमा र बुढी गण्डकी जस्ता राष्ट्रिय गैरवका आयोजनामा समेत अरबौंका भ्रष्टाचार गर्नेजस्ता नित्तान्त भ्रष्ट, दुष्ट, निकृष्ट र निर्लज्ज गतिविधिहरुका कारण देश आज चरम आर्थिक , राजनीतिक, सामाजिक र सांस्कृतिक संकटमा फसिरहेको छ र देसको राष्ट्रिय अस्मिता र अस्तित्व नै लोप हुने प्रबल खतरा छ  ! यी तमाम विकृति/विसङ्गति, संकट र खतराबाट बच्न एउटा मात्र अन्तिम उपाय हो संयुक्त र सशक्त जन आन्दोलन ! यस्लाई पूर्णता र सफलतामा पुराउन सक्नु अहिलेको हाम्रो अहम् जिम्मेवारी हो । माथिको तरिकाले अघि बढेमा आन्दोलन विजयी बन्ने, देशको स्वत्व र अस्तित्व कायम रहने, देसमा सुशासन, सुखशान्ति र समृद्धी कायम हुनेकुरामा शंका छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here