पशुपतिमा अब मेसिनमा दाउराबाट शव जलाउन सक्ने

70

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् ।  पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिन जडान गरेको हो । यसअघिको विद्युतीय शवदाह गृह पनि सन्चालनमा छ ।

कोरोनापछि यी शवदाह गृहमा संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ । हिन्दु परम्पराअनुसार शव दाउराबाटै जलाउने मान्यता राख्नेहरुले दाउराबाटै शव जलाउने गर्छन् । पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ । वातावरणमैत्री, काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने भएकाले यो मेसिन जडान गरिएको कार्यक्रममा जनाए ।

कार्यक्रममा मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको जनाएका थिए ।  जसका  लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जनाए  । ‘यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयको सरोकारसमेत सम्बोधन हुने गरी गुरुयोजनालाई अन्तिम रुप दिने काम भइरहेको छ’, उनले भने, ‘अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यहि गुरुयोजना अधिनस्थ भएर हुनेछन् ।’

कोभिड–१९ का कारण बन्द रहेका धार्मिक/सांस्कृतिक गतिविधिहरु अब स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति मन्दिर पनि खुला रहने जानकारी उनले दिए ।  पशुपतिका धार्मिक÷/सांस्कृतिक गतिविधि खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न/गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here