राखेभ पूर्व मुख्य प्रशिक्षक भलिबल प्रशिक्षक सुदेश रिमालको निधन

129

काठमाडौं –  भलिबल प्रशिक्षक सुदेश रिमालको निधन भएको छ।  राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको नशा सम्बन्धी रोगले मृत्यु भएको हो।

उनको सम्मानमा शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।  उनको मृत्युको शोकमा राखेपले आइतबार बिदा दिने निर्णय समेत गरेको छ।  ब्रेनह्यामरेज भएपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको शुक्रबार निधन भएको थियो।

पर्साको वीरगन्जमा जन्मिएका रिमाल पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशकका रूपमा कार्यरत थिए।  उनी गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षक थिए। सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो। रिमालले करिब एक दशक राष्ट्रिय टोलीको सदस्य रहेर सन् १९८६ मा दक्षिण कोरियास्थित सउलमा भएको एशियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए।

विभिन्न कोर्स पूरा गरी रिमालले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए।  २०४२ सालमा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा रिमालले नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।  सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीको प्रमुख प्रशिक्षक समेत थिए। सो टोलीले कांस्य पदक जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here